कहिलेकाहीँ लाग्छ, मान्छेको जीवनमा सबैभन्दा गहिरो घाउ शत्रुले होइन, आफ्नै भनिएकाहरूले बनाउँछन् । पराइले दिएको चोटमा गुनासो गर्न सकिन्छ, तर आफ्नैले दिएको चोटको पीडा कहाँ पोख्ने ? जसलाई आफ्नो ठानेर मनका कुरा सुनाइयो, जसको दुःखमा आफ्नै दुःख बिर्सेर साथ दिइयो, कहिलेकाहीँ तिनै मान्छे आफ्नो दुःखको खबर सुनेर भित्रभित्रै खुसी हुँदा रहेछन् । यो कुरा मैले किताब पढेर सिकेको होइन । जीवनका पानाहरू पल्टाउँदै, सम्बन्धका गल्लीहरूमा ठेस खाँदै र आफ्नै मनका घाउहरू बोकेर हिँड्दै सिकेको हुँ । म जन्मिएको समाजमा नाताको ठूलो महत्व थियो । आफन्त भनेपछि आफ्नो सुखदुःख बिर्सेर पनि सम्बन्ध निभाउनुपर्छ भन्ने संस्कार थियो । तर समय बित्दै जाँदा मैले एउटा तीतो सत्य बुझ्दै गएँ । नाताले मानिसलाई नजिक त ल्याउँछ, तर मनलाई नजिक ल्याउने कुरा प्रेम, विश्वास र सद्भाव रहेछ । हाम्रो समाजमा जातको अहङ्कार, पुरानो सोच र आफू ठूलो देखिने लालसाले कतिपय सम्बन्धलाई नराम्रोसँग गाँजेको छ । आफू अग्लो देखिन अरूको खुट्टा काट्ने प्रवृत्ति अझै जीवित छ । अरूको प्रगतिमा खुसी हुन नसक्ने, दुःखमा साथ दिनुको सट्टा कमजोरी खोज्ने र विश्वासका साथ सुनाइएका पारिवारिक कुरा अरूका अगाडि पु¥याएर तमासा बनाउनेहरू पनि हाम्रै वरिपरि छन् । मलाई कहिलेकाहीँ आश्चर्य लाग्छ की मान्छेले आफ्नै मान्छेको दुःखमा खुसी खोजेर कस्तो सुख पाउँछ ? अरूलाई होच्याएर आफू अग्लो भएको भ्रममा कति दिन बाँच्न सकिन्छ ? कसैको आत्मसम्मान कुल्चिएर आफ्नो प्रतिष्ठा बढेको ठान्ने मनले एकान्तमा कहिल्यै आफूलाई प्रश्न गर्दैन होला ? अरुको कमजोरी खोज्न अभ्यस्त आँखाले आफ्नै कमजोरी देख्न छाडिसकेको हुन्छ । मैले पनि त्यस्तै व्यवहार भोगेँ । कतिपय आफन्तले मलाई हेपे । कतिपयले मेरा अभावलाई मेरो कमजोरी ठाने । कतिपयले मेरो दुःख बुझ्नुभन्दा त्यसको चर्चा गर्न रुचाए । मैले विश्वास गरेर सुनाएका कुरा नै कुनै दिन मेरो अपमानको माध्यम बन्न पुगे । त्यतिबेला मन दुख्थ्यो । चित्त दुख्थ्यो । सबैभन्दा बढी पीडा यस कुराले दिन्थ्यो कि यी त मेरा आफ्नै हुन्, यिनीहरूले त मेरो मन बुझ्नुपर्ने हो । समयसँगै एउटा अर्को कुरा पनि बुझ्दै गएँ । कतिपय मानिस सम्बन्ध जोगाउन चाहँदैनन्, सम्बन्धमाथि आफ्नो नियन्त्रण जोगाउन चाहन्छन् । यस्ता सम्बन्धमा पुस्तौँसम्म रिस र द्वेष बाँचिरहन्छ । एउटा पुस्ताले अर्को पुस्तालाई पुराना गुनासा सुनाउँछ । नदेखेको मान्छेसँग पनि घृणा गर्न सिकाइन्छ । पुरानो मनमुटावलाई पारिवारिक इतिहासझैँ सुनाइन्छ । अनि नयाँ पुस्ताले आफ्नै अनुभवबाट सम्बन्ध बुझ्नुभन्दा अरूले रोपिदिएको घृणालाई सत्य ठान्न थाल्छ । कस्तो विडम्बना ! हामी सन्तानलाई प्रेम सिकाउन चाहन्छौँ, तर उनीहरूका अगाडि घृणाका कथा सुनाउँछौँ । सद्भावको कुरा गर्छौँ, तर मनमा प्रतिशोध पाल्छौँ । सम्बन्ध जोगाउनुपर्छ भन्छौँ, तर आफ्नै व्यवहारले सम्बन्ध भत्काउँछौँ । फेरि त्यही समाजले चाडपर्वमा भेट्न, दुःख–सुखमा सहभागी हुन र आफन्तसँग सम्पर्क कायम राख्न सिकाउँछ । मनले टाढा बस्न खोज्छ, परम्पराले नजिक बोलाउँछ । आत्मसम्मानले रोक्छ, संस्कारले तान्छ । बाहिरबाट सम्बन्ध निभाइरहेको देखिन्छ, तर भित्रभित्रै मनले त्यो सम्बन्धबाट बिदा लिइसकेको हुन्छ । मलाई लाग्छ, हाम्रो समाजले सम्बन्ध निभाउन त सिकायो, तर सम्बन्धमा आत्मसम्मान कसरी जोगाउने भन्ने कुरा सिकाउन सकेन । आज म ती दिनहरू सम्झिन्छु । सम्झनाको ढोका खोल्दा धेरै अनुहारहरू देखा पर्छन् । कसैको बोली सम्झिन्छु, कसैको व्यवहार । कसैले दिएको सान्त्वना पनि सम्झिन्छु, कसैले दिएको चोट पनि । मानिसको मन अनौठो हुँदो रहेछ । हजारौँ सुखद क्षणबीच एउटा तीतो घटनाले पनि लामो समयसम्म ठाउँ ओगटिरहन्छ । आफूलाई माया गर्ने धेरै मानिसको उपस्थितिभन्दा कहिलेकाहीँ चोट दिने एउटै मानिसको अनुपस्थितिले मनलाई बढी बेचैन बनाउँछ । म पनि यस्तै प्रश्नहरू बोकेर जीवनको लामो यात्रा पार गर्दै आएँ । कहिलेकाहीँ लाग्छ, म आफ्नै जीवनको यात्रामा भन्दा पनि विगतसँगको संवादमा बढी बाँचेँ । शरीरले समय पार गर्दै गयो, तर मनका केही पाना त्यही पुरानो मोडमा अड्किरहे । म आफ्नो माटोबाट टाढा छु । तर माटोको गन्धबाट टाढा हुन सकेको छैन । परदेशको आकाशमुनि उभिँदा पनि गाउँका बाटाहरू सम्झिन्छु । बाल्यकालका दिनहरू सम्झिन्छु । ती परिचित अनुहारहरू सम्झिन्छु, जससँग मेरो जीवनका धेरै सम्झना जोडिएका छन् । आफ्नो माटोको गन्ध नाकसम्म आइपुग्दा मन किन यति भावुक हुन्छ ? किन बितिसकेका दिनहरू फेरि फर्केर आउँछन् ? किन पुराना अनुहारहरूले आज पनि मनमा प्रश्न उठाउँछन् ? सायद मानिस आफ्नो जन्मभूमिसँग केवल भूगोलले जोडिएको हुँदैन । उ त्यहाँका सम्झना, सम्बन्ध, अपमान, प्रेम र अधुरा सपनाहरूसँग पनि जोडिएको हुन्छ । माटो छाडेर टाढा जान सकिएला, तर त्यही माटोमा छाडिएका आफ्ना कथाहरूबाट उम्कन कहाँ सकिन्छ र ? मेरो मनमा पनि एउटा पुरानो कथा छ । त्यस कथामा प्रेम छ, पीडा छ, अभाव छ र केही यस्ता आफन्त छन्, जससँग मैले जीवनमै सोध्न नपाएका प्रश्नहरू छन् । विडम्बना, आज तीमध्ये कतिपय यो संसारमा छैनन् । मलाई उनीहरूसँग कुरा गर्न मन थियो । एकपटक आमनेसामने बसेर सोध्न मन थियो—आखिर मैले तिमीहरूको के बिगारेको थिएँ ? मेरो दुःखमा किन रमायौ ? मेरो अभावलाई किन मेरो अपमान गर्ने अवसर बनायौ ? मैले विश्वास गरेर सुनाएका कुरा किन अरूका अगाडि र्पुयायौ ? म कमजोर भएको बेला हात समाउनुको सट्टा किन मलाई अझ कमजोर बनाउने प्रयास र्गयौ ? म उनीहरूलाई यी प्रश्न सोध्न चाहन्थेँ तर जीवनले मेरा लागि ती प्रश्नहरूको उत्तर सुरक्षित राखेन । समयले उनीहरूलाई मबाट टाढा लग्यो । आज उनीहरूलाई खोजेर पनि भेट्न सक्दिनँ । उनीहरूसँग रिसाउन चाहे पनि त्यो रिस पोख्ने ठाउँ छैन । मन दुखेको कुरा सुनाउन चाहे पनि सुन्ने कान छैनन् । मसँग केवल सम्झनाहरू छन् । अनि सम्झनाभित्र बारम्बार उठिरहने एउटा प्रश्न छ । मर्नु नै थियो भने किन मेरो अभावमा मलाई हेपेऊ? जीवन यति छोटो थियो भने किन अरूको मन दुखाउन यति धेरै समय खर्चियौ? एक दिन सबै कुरा छाडेर जानैपर्ने थियो भने किन कसैको आत्मसम्मान कुल्चियौ ? आफूले माया गर्न सक्ने मानिसहरूकै मनमा किन घृणाको बीउ रोप्यौ? मलाई थाहा छ, यी प्रश्नको उत्तर अब कहिल्यै आउने छैन । तर मनले प्रश्न गर्न छाडेको पनि छैन । कहिलेकाहीँ म आफैँलाई सम्झाउँछु उनीहरू पनि आफ्नै सोचका कैदी थिए । उनीहरूले समाजबाट सिकेको अहङ्कारलाई नै आफ्नो प्रतिष्ठा ठाने । आफूले भोगेको पुरानो तिक्ततालाई नै जीवनको सत्य माने । उनीहरूलाई अरूको मन दुखाउनुको अर्थ थाहा नभएको पनि हुन सक्छ, अथवा थाहा भएर पनि त्यसको पीडा महसुस गर्ने संवेदना बाँकी नरहेको हुन सक्छ । म उनीहरूको मन पढ्न सक्दिनँ । उनीहरूको पक्षमा अन्तिम फैसला गर्न पनि सक्दिनँ । तर उनीहरूले दिएको चोटको अनुभूति मेरो आफ्नै हो । त्यसलाई अस्वीकार गरेर म सत्यबाट भाग्न चाहन्नँ ।म उनीहरूलाई दोष दिएर मात्र जीवन बिताउन पनि चाहन्नँ । किनकि जीवनले मलाई एउटा कुरा सिकाएको छ—अरूले दिएको चोटलाई जीवनभर छातीमा बोकेर हिँड्दा अन्ततः दुख्ने आफ्नै मन रहेछ । मृत्यु कति ठूलो सत्य हो । जीवनभर आफूलाई अरूभन्दा ठूलो ठान्ने मान्छे पनि अन्ततः माटोमै मिसिन्छ । सम्पत्ति, प्रतिष्ठा, अहङ्कार, पद र शक्ति—सबै यहीँ छुट्छन् । आफूले जितेको ठानेका विवादहरू पनि समयसँगै अर्थहीन हुँदै जान्छन् ।अन्तिम यात्रामा मान्छेले आफूसँग लैजाने भनेको उसले कमाएको सम्पत्ति होइन, अरूको मनमा छाडेको सम्झना हो । कसैले उसलाई प्रेमले सम्झिन्छन्, कसैले सम्मानले । कसैको आँखामा उसको अभावले आँसु ल्याउँछ, कसैको मनमा भने कुनै गहिरो सम्झना पनि बाँकी रहँदैन । त्यसैले कहिलेकाहीँ सोच्छु—मान्छेले जीवनमा ठूलो बन्ने प्रयास गर्नुभन्दा असल बन्ने प्रयास गरेको भए कति राम्रो हुन्थ्यो ! अरूलाई होच्याएर उचाइ खोज्नुभन्दा अरूको हात समातेर अघि बढेको भए कति सुन्दर हुन्थ्यो । कसैको कमजोरीमा हाँस्नुभन्दा उसको दुःखमा साथ दिएको भए सम्बन्धहरू कति न्यानो हुन्थे । मानिसका सबैभन्दा ठूलो दुःख यही हो कि हामीसँग भन्नुपर्ने कुरा धेरै हुन्छन्, तर ती कुरा सुन्नुपर्ने मानिसहरू सधैँ हामीसँग रहँदैनन् ।आज म आफ्नो विगततिर फर्केर हेर्छु । मभित्र अझै केही घाउ छन् । केही सम्झना छन्, जसले बेलाबेला मन दुखाउँछन् । केही अनुहार छन्, जसलाई सम्झिँदा मनमा प्रश्न उठ्छन् । तर अब म आफ्नो बाँकी जीवन ती प्रश्नहरूको उत्तर खोज्दै मात्र बिताउन चाहन्नँ । म आफ्ना पीडालाई स्वीकार गर्न चाहन्छु । आफ्ना कमजोरीलाई बुझ्न चाहन्छु । अरूले दिएको चोटबाट सिक्न चाहन्छु, तर त्यही चोटलाई आफ्नो स्वभाव बनाउन चाहन्नँ ।मलाई कसैले घृणा र्गयो भन्दैमा मैले पनि घृणा नै बाँड्नुपर्छ भन्ने छैन । कसैले मेरो अभावमा मलाई हेप्यो भन्दैमा मैले अरूको अभावको उपहास गर्नुपर्छ भन्ने छैन । कसैले मेरो विश्वास तोड्यो भन्दैमा संसारका सबै मानिसलाई अविश्वास गर्नुपर्छ भन्ने पनि छैन किनकि अरूको व्यवहारले मेरो जीवनमा चोट दिन सक्छ, तर म कस्तो मानिस बनेर बाँच्ने भन्ने निर्णय भने म आफैँले गर्नुपर्छ । मलाई अब सम्बन्धको नाममा आत्मसम्मान गुमाउनु छैन । परम्पराको नाममा मनमाथि अन्याय गर्नु छैन । रगतको नातालाई प्रेमभन्दा माथि राखेर आफूलाई निरन्तर पीडा दिनु पनि छैन । म आफ्ना आफन्तलाई सम्झिनेछु, तर उनीहरूले दिएका चोटलाई आफ्नो जीवनको परिचय बन्न दिनेछैनँ । म आफ्नो माटोलाई माया गर्नेछु, तर त्यहाँका सबै व्यवहारलाई सही ठान्नेछैनँ । म विगतलाई स्वीकार गर्नेछु, तर विगतमै कैद भएर बाँच्नेछैनँ । सायद यही नै आफूलाई मुक्त गर्ने एउटा सानो बाटो हो । आज डायरीको यो पाना बन्द गर्नुअघि मनमा एउटा अन्तिम कुरा आउँछ । हामी सबै कुनै न कुनै दिन कसैको सम्झना बन्नेछौँ । आज जसलाई आफ्नो ठानेर दुःख दिन्छौँ, भोलि ऊ नै हामीलाई सम्झेर प्रश्न गरिरहेको हुन सक्छ । आज जसको अभावमा हामी हाँस्छौँ, भोलि त्यही अभावले हाम्रो जीवनमा कस्तो रिक्तता छाड्छ भन्ने हामीलाई थाहा हुँदैन । सम्बन्धहरूलाई यति धेरै तीतो नबनाऔँ कि मृत्युले पनि तिनलाई मीठो सम्झनामा बदल्न नसकोस् । आफन्त हुनु ठूलो कुरा होइन, कसैको दुःखमा आफ्नो मन दुख्न सक्नु ठूलो कुरा हो । रगतको नाता हुनु उपलब्धि होइन, त्यो नाताभित्र विश्वास र करुणा जोगाउन सक्नु उपलब्धि हो । आज मेरा केही प्रश्नहरू अनुत्तरित छन् । तिनको उत्तर सायद समयसँग पनि छैन । तर अब म बुझ्दै छु—हरेक प्रश्नको उत्तर पाउनैपर्छ भन्ने छैन । केही प्रश्नहरूलाई उत्तरविहीन स्वीकार गरेर पनि जीवन अघि बढाउन सकिन्छ । उनीहरू बितेर गए । उनीहरूसँग जोडिएका मेरा केही दुःख पनि एक दिन समयसँगै शान्त हुँदै जालान् । तर उनीहरूबाट सिकेको एउटा पाठ भने म बिर्सन चाहन्नँ—कसैलाई यति धेरै नदुखाउ कि उ तिमीलाई सम्झिँदा पनि उत्तर नपाएका प्रश्नहरूमा हराइरहोस् । म पनि एक दिन यही संसारबाट बिदा हुनेछु । म चाहन्छु, मेरो अभावमा कसैको मनमा घृणा होइन, एउटा न्यानो सम्झना बाँकी रहोस् । कसैले मलाई सम्झिँदा मैले दिएका चोटहरूको हिसाब गर्न नपरोस् । बरु मैले गरेको सानो सहयोग, बोलेको मीठो वचन वा देखाएको मानवीयताले उसको अनुहारमा हल्का मुस्कान ल्याओस । जीवनको अन्तिम हिसाबमा हामीले कति मानिसलाई जित्यौँ भन्नेभन्दा कति मानिसको मन दुखाएनौँ भन्ने कुरा महत्त्वपूर्ण हुन सक्छ । सम्बन्धहरू मृत्युले मात्र टुट्दैनन् कहिलेकाहीँ अहङ्कारले जीवित मानिसहरूलाई पनि एकअर्काका लागि मृत बनाइदिन्छ । अनि जब ती मानिसहरू साँच्चै यो संसारबाट बिदा हुन्छन्, मनमा बाँकी रहन्छन्—केही सम्झना, केही पश्चात्ताप र कहिल्यै उत्तर नपाउने केही प्रश्नहरू । आज मेरो मनमा पनि त्यस्तै प्रश्नहरू छन् । म ती प्रश्नहरूलाई यही डायरीको पानामा छाड्दैछु । सायद भोलि फेरि आफ्नै माटोको गन्धले मलाई भावुक बनाउनेछ । सायद फेरि ती अनुहारहरू सम्झनामा आउनेछन् तर म अब उनीहरूलाई प्रश्न गर्न होइन, आफूले भोगेको जीवनलाई बुझ्न सम्झिने प्रयास गर्नेछु किनकि म विगतको घाउ बोकेर बाँचेको मान्छे हुँ, तर मेरो सम्पूर्ण जीवन त्यही घाउ होइन । म अझै बाँचिरहेको छु । बाँचुन्जेल, मनमा तिक्तता होइन । म मानवीयता बचाइराख्ने प्रयास गरिरहनेछु ।
