IMG-LOGO

कति नैतिकता छ धर्म भित्र ?

 मंगल, असोज ६, २०८३  रोहित दाहाल

    धर्मको अर्थ हुन्छ कर्तव्य तर अहिले आएर काल्पनिक ईश्वरको भजन गाउँनु र उसको स्तुतिमा रमाउँनुलाई नै धर्म भन्ने गरिएको छ । धर्म मान्नेहरू अर्थात ईश्वरको स्तुतिमा आफ्नो मुक्ति देख्नेहरूले नैतिकताका कुराहरू जोड्तोडका साथ उठाउँने गर्छन । ‘धर्मका ठेकेदार बनेका कथित साधुबाबाहरू, पण्डित, पादरी, मुल्लाहहरू सँधैभरी नैतिकताका कुराहरू बारम्बार उठाएर भौतिकवादीहरू, माक्र्सवादीहरू र विज्ञान पक्षधरहरूलाई सराप्ने गरेको हामीले देखिरहेकै विषय हो ।’     नैतिकता भनेको अरुको जीवनमा नकारात्मक असर नपारी आफ्नो जीवनलाई समृद्ध गर्नु हो । वर्गीय समाजमा नैतिकता भन्ने कुरा पनि वर्ग स्वार्थ अनुसार फरक फरक हुन्छ । दास प्रथामा मालिकहरूको सेवामा किनबेचका सामान बनिनु दासहरूको धर्म र नैतिकता मानिन्थ्यो । सामन्तवादी प्रथामा ठुला ठुला जमिन्दारहरू, सामन्तहरू र राजाहरूले धर्मको आडमा बनाएको नीतिलाई शिरोधार्य गर्नु नै नैतिकता हुन्थ्यो । आध्यात्मवाद वा धर्मग्रन्थलाई नियालेर हेर्ने हो भने त्यसले भनेको नैतिकता सामन्ती समाजलाई उसकै नीतिमा बाँधेर राख्ने आधारभूमि हो । यसमा कतिपय राम्रा कुराहरू पनि छन् तर आधारभूतरुपमा गरीखाने वर्गको श्रमलाई लुटिराख्ने नियतले बनाइएको हुँदा सामन्तवादी नैतिकताभित्र वैज्ञानिकता छैन र त्यहाँ आडम्बर, भेदभाव र असमानता देखिन्छ ।     हामीले क्रिश्चियन धर्मका कुरा गर्दा उनीहरूका पादरीहरूले ग्यालिलियो ग्यालिली जस्ता महान वैज्ञानिकलाई साँचो कुरा गरेको कारणले सँजाय दिएको इतिहास देख्दछौं । उनीहरू सूर्यले पृथ्वीको परिक्रमा गर्छ भन्थे तर ग्यालिलियोले उनीहरूको धार्मिक विश्वासलाई चुनौती दिंदै पृथ्वीले सूर्यको परिक्रमा गर्छ भनिदिए । परिणामतः ग्यालिलियोलाई नैतिकहराम भन्दै क्रुरतापूर्ण व्यवहार गरे र यो व्यवहारलाई परमात्माको आदेश मानेर नैतिकता देखाएको भने । त्यस्तै जर्दानो ब्रुनोलाई पनि पृथ्वी चेप्टो छैन बाटुलो छ भनेकै कारणले क्रिश्चियन धर्मका अनुयायीहरूले धर्मको दार्शनिक धरातललाई समाप्त गर्न खोजेको भनेर झुण्डयाएर मारे । टाढाको कुरा मात्र किन गर्ने ? केही बर्ष अघि पृथ्वीको नजिकै हेलवप पुच्छेतारा आएको थियो । अमेरिकाका एक क्रिश्चियन धर्मगुरुले स्वर्ग लैजान ईश्वरको विमान आएको र विष सेवन गरी देहत्याग गरेमा त्यही विमानबाट स्वर्ग जान सकिने भन्ने अन्धविश्वास प्रकट गरे अनि गुरुसहित धेरैले आत्महत्या गरे । ईश्वरको जपतप गरेर नैतिकहीन विलासी जीवन जीउँने पोपहरूका विरुद्ध प्रोटेस्टेण्टहरू जन्मिएका थिए । क्याथोलिक क्रिश्चियन धर्मका पोपहरूले प्रोटेस्टेण्ट क्रिश्चियन धर्मका अनुयायीहरूलाई अनैतिक भन्ने गर्थे भने प्रोटेस्टेण्टहरूले भने विलासी जीवनमा बसेका पोप र तिनका अनुयायीहरूलाई नैतिकहीन भन्ने गर्थे ।     इस्लाम धर्ममा पनि अवैज्ञानिक तर्क र धार्मिक अन्धता देखिन्छ । हामीले थाहा पाएकै छौं कि तसलिमा नसरिनले ’लज्जा’ भन्ने उपन्यासमा इस्लाम नीतिमा रहेको महिलामाथिको विभेदको वैज्ञानिक विश्लेषण गरेकै कारण इस्लाम धर्मावलम्बीहरूले उनलाई फाँसीको माग गरेका थिए । इस्लामिक संस्कृतिभित्र पुरुषवादले महिलालाई यौनदासीको व्यवहार गरेको कुरा तसलिमा नसरिनले बताइन् । त्यही भएर उनलाई नैतिकहराम भन्दै बंगलादेशबाट देश निकाला गरियो । त्यस्तैगरी सलमान रुस्दीलाई पनि इस्लामिक धर्मको आडमा बनेको विभेदपूर्ण, अन्यायी सँस्कार र संस्कृतिको विरोध गरेका कारण नैतिकता गुमाएको आरोपमा मार्ने फतवा जारी गरेका थिए इस्लाम धर्मका गुरुहरूले। त्यति मात्र हैन, प्रकृतिलाई नै चुनौती दिने क्लोनिङ्ग प्रविधिको इस्लाम धर्मका गुरुहरूले बिरोध गरे । शुक्रकीट र डिम्बको मिलन बिना नै प्राणीको कोष लिएर उस्तै स्वभाव र अनुहार भएको अर्को प्राणी जन्माउँने क्लोनिङ्ग प्रविधिको विकासले आध्यात्मवादको मूल आधार नै भत्काइदिएको छ । यस घटनाबाट त्रसित भएर कतिपय देशका इस्लामिक धर्म गुरुहरूले क्लोनिङ्ग प्रविधिको विकास गर्ने वैज्ञानिकहरूलाई फाँसी दिनुपर्ने जस्ता अराजक कुराहरू समेत गरे। अझ तालिवानहरूले चलाएको धार्मिक सत्तामा महिलाले दासको जीवन जीउँनु पर्ने, मनोरन्जनलाई अपराध ठान्ने, विज्ञानका रचनात्मक विकासहरूलाई समाजमा लागु गर्नुलाई धर्मको बिरोध ठान्ने, धर्मका कमजोर पक्षको आलोचना गर्दा मारिनु पर्ने घटनाहरू देखिएकै हो । धर्मले तोकिदिएको नैतिक सीमा तोड्नेहरूलाई धार्मिक मानिसहरूले अनैतिक भन्दै बहिस्कार गर्ने, निन्दा गर्ने र हत्यासम्म गर्ने गर्छन् । इस्लाम धर्मकै कुरा गर्ने हो भने इस्लाम धर्मका प्रवर्तक हजरत महम्मद्ले तत्कालीन बहुदेवीदेवताको आडमा टिकेको सांस्कृतिक नैतिकतालाई समाप्त गरेर एक अल्लाहको धरातलमा अर्को सांस्कृतिक नैतिकताको जग बसाले । यसरी हेर्दा के स्पष्ट हुन्छ भने नैतिकताको जग आ–आफ्नो विचार अनुसार खडा गरिँदो रहेछ ।     हिन्दु धर्म तुलनात्मक रुपले केही उदार देखिन्छ । यहाँ बहु देवता र बहु सम्प्रदाय छन् । हरेक धर्म गुरुहरूले वेद, उपनिषद, पुराणहरू रटेर त्यसका केही कुराहरूलाई थोरै बंग्याउँदै आफ्नै खाले नयाँ सम्प्रदाय खोल्ने होडबाजी झै देखिन्छ हिन्दु धर्म भित्र । जीव हिंसालाई आदर्श मान्नेहरू दुर्गा, कालीको भक्त बनेर धर्म कमाउँने अनि जीव हिंसा नगर्नेहरू विष्णु र कृष्णका भक्त बनेर धर्म कमाई बैकुण्ठ र अक्षरातित जस्ता लोकमा पुग्ने भन्ने नितान्त विरोधाभास तथ्यहरू हिन्दु धर्ममा भेटिन्छ । एउटा सम्प्रदायलाई नैतिक लाग्ने कुरा अर्को सम्प्रदायका लागि अनैतिक हुने पनि गरेको छ ।     ईश्वर र देवताहरू सबै दरबारका राजा वा महासामन्त वा दरबारकै भारदारहरू हुने गरेको यथार्थलाई सबैभन्दा पहिले बुझ्न जरुरी छ । दरबारभित्रका संघर्षका कथाहरूलाई नैतिक र अनैतिक भन्दै सत्यको जीत र असत्यको हार भनी बुझ्ने गरिएको पनि अर्को यथार्थ हो । कुनै पनि धर्मका कथाहरू गरीब सर्वाहाराको दिनचर्यामा प्रस्तुत भएको देखिन्न । सबै देवताहरू सुनको सिंहासनमा सुन, हीरा, मोतिले विभुषित भएर बसेका देखिन्छन् । कोही कोही तल्लो तहबाट देवता बनेको भए पनि उनीहरू अन्ततः दरबार र महासामन्तकै भारदारहरू रहने गरेका पाइन्छन् । हिन्दु धर्मका सम्मानित ईश्वरहरूका कथा पढ्दा कता कता नैतिकता भन्ने कुन चरीको नाम होला ! भनेर सोच्नु पर्ने हुन्छ ।     हिन्दुहरूका मर्यादा पुरुषोत्तम रामले सीताको अग्निपरीक्षा लिने तर उस्तै गरी छुट्टिएर बस्नु परे पनि आफूले अग्निपरीक्षा नदिने भन्ने कुरा रामायणमा देखाएका छन् । यसबाट रामको नैतिक धरातल स्पष्ट हुन्छ । रामले गरेको यस्तो विभेदकारी कर्तुतलाई हामी नैतिक कार्य ठान्दै भर्जन बनाएर गाउँने गछौं । कुनै     पुरुषले आफ्नी गर्भवती पत्नीलाई जंगलमा बाघ भालुले खाए खाओस भनेर छाड्ने कार्यलाई हामी अपराधिक चरित्र भन्छौ तर रामले गर्भवती सीतालाई जंगलमा छाडेको घटनालाई महान नैतिकता देखाएको भन्दै अपराधलाई नैतिकताको जलप लगाएर प्रस्तुत गरेको देखेर पनि मौन बन्छौं । यो पक्षलाई विचार गर्दा धार्मिक नैतिकता भन्ने कुरा तल्लो वर्गलाई मात्र लागु हुने नियम हो भनेर प्रष्ट बुझिन्छ । जंगलमा तपस्या गर्ने शुद्र कुलको बालक शंबुकलाई मार्ने रामको नैतिकता कस्तो रहेछ भनेर कसैसँग तुलना गर्नु नै बेकार देखिन्छ ।     गौतम बुद्धका कुनै पनि ग्रन्थले विष्णुको कुरा गर्दैन । शंकराचार्य लगायतका धर्म गुरुहरूले त बुद्धलाई वैदिक धर्म सिध्याउँने शैतानका रुपमा कैयौं प्रवचन दिएका थिए । तर जब बुद्ध धर्म सर्वप्रिय बन्यो तब उही बुद्धलाई विष्णुको अवतार बनाउँन पुगे वैदिक धर्मपन्थीहरूले। यस्तो कार्य नैतिक धरातल भित्र पर्छ कि पर्दैन ? भन्ने कुरा जो कोहीले अनुमान गर्न सक्छ । हिन्दुहरूले सम्मान गर्ने इन्द्र विलासितामा यति मग्न थियो कि भेष बदलेर भए पनि अहिल्या लगायतका परस्त्रीसङ्ग यौन सम्बन्ध राख्न उत्ताउलिने गथ्र्यो । कृष्णले सोह्र हजार गोपिनीसङ्ग रास लिला खेलेको कुरा धर्मग्रन्थले गर्वका साथ लेखेको छ । गोपिनीहरू स्नान गरिरहेको ठाउँमा पुगेर उनीहरूले नुहाएको दृष्यपान गर्दै उनीहरूकै वस्त्र लुकाउँने श्री कृष्णले उल्टै सार्वजनिक स्थलमा स्त्रीले नुहाउँनु हुँदैन भन्ने कथित नैतिक संदेश दिएको कुरा कृष्णलीलामा पाइन्छ । जंगलको तलाउमा नुहाउँदै गरेका स्त्री हेर्न जाने कृष्णले उल्टै स्त्रीहरूलाई नैतिकताको पाठ सिकाएको कुरा उल्लेख हुनु हास्यास्पद त छँदैछ, पुरुषवादी दम्भ र उदण्डताको गन्ध पनि त्यसमा आएको छ । सत्यवादी युधिष्ठिरले द्रोणका छोरा अश्वत्थामा मरेको कुरा घुमाउरो पाराले भनेर भए पनि झुठको खेती गरेर द्रोणको प्राण हरण गराए । यहाँ झुठलाई नैतिक बनाउँन धर्मग्रन्थले कोशिस गरेको छ । धनुर्विद्यामा अर्जुनभन्दा जान्ने भएकाले एकलव्यको बुढी औंलो स्वयं द्रोणले गुरुदक्षिणामा मागेर समग्र गुरु वर्गकै नैतिकतामाथि प्रश्न चिन्ह लगाए । हिन्दु धर्मले संसारका निर्माता मानेको ब्रहृमाले आफ्नै छोरीसङ्ग यौन सम्बन्ध राखेको कुरा उल्लेख भएको छ । यसरी हाडनाता करणीको घृणित घटनालाई पनि नैतिकताका अनेकौं जलप लगाएर भक्तहरूमा सम्प्रेषण गरिन्छ । अब सोचौं त । धर्मशास्त्रका यस्ता पात्रबाट कस्तो नैतिक शिक्षा सिक्ने होला मानिस जातिले ?     पार्वतीको करणी लिन हिंड्ने जालन्धरसँग बदला लिन विष्णुले जालन्धरको पत्नीको करणी लिने अठोट गरे। त्यतिमात्र हैन माहावीर दैत्यराज शंखचूडकी पत्नी तुलसीको सत्य डगाउँन विष्णुले तुलसीसङ्ग भेष बदलेर सहवास गरे । सत्तरी बर्षका शिव शर्मारुपी महादेवले सात बर्षकी गोमालाई गर्भवती गराए । यस्ता कुराका फेहरिस्त हेर्ने हो भने धर्मग्रन्थका पात्रहरूले मानिसलाई अनैतिक, व्यभिचारी बन्न नै प्रोत्साहित गरेको देखिन्छ । ऋषि अगत्स्यले आफ्नै छोरीसङ्ग विवाह गरी एकजना भृङ्गी ऋषि र अर्को अच्युतालाई जन्म दिएको त पुराणमा नै उल्लेख छ । ऋषि कण्डुले आफ्नो उद्देश्य बिर्सेर ९०७ बर्षसम्म प्रम्लोचा नामकी अप्सरासँग सम्भोग गरेरै समय विताएको कथा समेत पुराणहरूमा पाइन्छ ।     नैतिकताको पाठ सिकाउँने धर्मगुरु आशाराम बापु महिलामाथि यौन दुव्र्यवहारको आरोपमा जेल परेका छन् । जादु र चमत्कारका भरमा जनतालाई अल्मल्याउँने साई बाबा जस्तो मान्छेले आफूलाई भगवान बनाएर घरघरमा पूजा गराउँन लगाएकै हुन । आफूलाई भगवान बनाएर पूजा गर्दैछन् भन्ने कुरा साई बाबालाई थाहा नभएको कुरा त हैन ! आफूलाई कबिरको अवतार बताउँने गुरु रामपालको विलासी जीवनको पोल त्यतिबेला खुल्यो जब उनलाई अपराधिक कार्य गरेकोमा भारतीय सरकारले जेल हाल्यो । अर्का गौहर शाही भन्ने मानिसले आफूलाई कल्कि अवतार बताउँदै चन्द्रमा र शिवलिंगमा आफ्नो तस्विर देखिएको फोटोहरू बाँडेर वितण्डा मच्चाउँदै हिंडे। भाग्यमा रम्ने मानिसहरूलाई बेवकुफ बनाउँदै निर्मल बाबाले समोसा खाउ, लालमोहन खाउ, फलानो रंगको कछ्छा लगाउ भनेर आफूलाई भाग्यविधाता बनाइरहेका छन् । योगलाई आधार बनाएर बाबा रामदेवले आफ्नो नयाँ खाले बहुराष्ट्रिय कम्पनीको व्यापार गरिरहेका छन् ।     सामन्तवादी समाजको जग भत्किएर पुँजीवादी समाज आएपछि विगतको धार्मिक विरासतलाई टिकाइराख्न कथित धर्मगुरुहरूले धर्मको व्यापार चलाएका छन् अनि सर्वसाधारणको आँखा छल्न अस्पताल बनाउँने, निशुल्क भोजनपान गराउँने जस्ता कर छल्ने उपायहरू खोजेका छन् । पुँजीवादी समाजमा व्यापारको सबैभन्दा ठुलो श्रोत धर्मका नाममा धर्मगुरुहरू र धर्मिक बाबाहरूले गर्ने व्यापार भएको छ । लक्ष्मीको फोटो भएको धनलक्ष्मी लकेट बनाएर करोडौंलाई ठगे पनि हुने भएको छ अनि बाबाहरूको आश्रम बनाउँने नाममा राज्यको जमिनमा हठात अतिक्रमण पनि गर्न मिल्ने भएको छ । दान दक्षिणाका नाममा कमाइ भएको अरबौं रकमको सरकारलाई हिसाबकिताब बुझाउँनु पनि नपर्ने भएको छ । धार्मिक व्यापारीहरूको कालो कर्तुतलाई बल प्रयोग गरेर हटाउँन खोजे विवेक रछ्यानमा फालेर हिँडेका भक्तरुपी शुन्य मस्तिष्क भएका मानिसहरूले आन्दोलन गर्ने वातावरण उर्वर बनेको छ । आजको पुँजीवादी समाजमा समेत धार्मिक नैतिकताले सिकाएको पाठ यही नै हो ।     आफ्नो नैतिकता बेचेर नैतिकता सिकाउँने यिनै कथित बाबाहरू नै भौतिकवादी दर्शनलाई अनैतिकताको दर्शन बताइरहेका छन् । ईश्वरलाई धुपबाती, पूजाआजा जस्ता चाकरी गर्दा मात्र खुसी भएर वरदान पाइन्छ भन्ने कुरा चाकरीतन्त्रमा अडेको सामन्तवादी चिन्तनकै उपज हो । त्यस्तै लड्डु, मिठाई, पैसा चढाए मात्र ईश्वरले मनोकांक्षा पूरा गराउँनेछन् भन्ने कुरा भ्रष्टाचारलाई संस्थागत गर्ने अर्को उपज हो । अब सोचौं त उपासना र प्रसाद भेंट जस्ता कुरा नैतिक कुरा हुन वा अनैतिक कुरा ?     अरु देशतिर किन जाने ? नेपालमै नवबुद्ध बनेर कयौं महिनासम्म नखाई तपस्या गरेको भनिएका रामबहादुर बम्जनका हरकतंहरूलाई हेर्दा पनि धार्मिक चस्मा लगाएका मानिसहरूले उनको बारेमा गरेको अतिरन्जनाको पोल खुलेको देखिन्छ । तपस्या गर्दा खाए नखाएको वैज्ञानिक परीक्षण गर्न समेत रोक लगाउँन त्यो धार्मिक गिरोह सक्षम देखिन्छ । दशौं दिन, पन्ध्रौ दिन र महिनौं दिन जमिनमुनी पानी, हावा, खाना केही नलिई बाँचेको भनेर डंका पिट्ने कथित सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई यौन दुराचार गरेको प्रमाणका आधारमा जेल चलान गरेको पनि देखिएको छ । आफूलाई पहिलो नेपाली महिला महामण्डलेश्वर भनेर प्रचार गर्ने हेमानन्द गिरीको पर्दाफास भएपछि धार्मिक गिरोहहरूको एउटा अर्को योजना विफल भएको हामी सबैले देखेकै कुरा हो। विभिन्न पत्रपत्रिकाहरूले कालीबाबा भनिने धार्मिक बाबाको विगतका छट्टु क्रियाकलापहरूका बारेमा प्रसस्त लेखेका छन् र अहिले पनि धार्मिक सम्प्रदायका एक समूहलाई आकर्षित गरी उनले फरक धार्मिक समूह नै चलाइरहेका छन् । भविष्यवाणी बताउँने नाममा सर्वसाधारणलाई टोलटोलमा लुट्न बसेका अनेकौं बाबा र माताहरूको चर्तिकलालाई सरकारले धार्मिक नैतिकताको भयले पक्रन सकेको छैन ।     शारीरिक अशक्तता भएको बालक आदित्य दाहालभित्र अभुतपूर्व क्षमता देखिएको थियो । त्यो क्षमतालाई प्रयोग गर्न सक्ने हो भने नेपालमै आइन्स्टाइन र स्टीफन हकिङ्गस् जन्माउँन सम्भव थियो । उनलाई आइन्स्टाइन र हकिङ्गस् बनाउँन वैज्ञानिक नैतिकता चाहिन्छ तर विडम्बना भन्नुपर्छ कि, धार्मिक नैतिकताले त्यसो गर्न दिएन । ती बालकलाई ईश्वरको अवतार जस्तो बनाएर मन्दिरमा राख्न खोजियो । जब प्रचार र आम्दानी सजिल्यै हुन्छ भने बालकको वैज्ञानिक अनुसन्धान किन गर्ने ? र बालकलाई वैज्ञानिक खोज गर्ने दुःखमा किन होम्ने ? धर्मिक नैतिकताले यस्तै अनुत्पादक कार्य गर्छ र मानवचेतनालाई व्यर्थको बनाउँने गर्छ भन्ने कुराले यी त सामान्य उदाहरण मात्र हुन भन्न सकिन्छ ।     यसरी मानिसले कल्पना गरेको ईश्वरलाई मानिसकै चरित्रसँग मिल्ने कथा बनाएर त्यही कथा पढाउँदै सोझा साझा श्रमजीवीहरूको मानसिकतालाई यथार्थ जीवनभन्दा काल्पनिक संसारमा अल्मल्याउँन खोजिएको छ । शोषणमुखी यो विश्वमा श्रमको अधिकार खोज्दै विद्रोह नहोस् भन्नका लागि धर्मको प्रयोग भएको छ र धार्मिक नैतिकताको प्रयोग भएको छ ।     पुस्तौं पुस्तादेखि धर्मको अफिममा लठ्ठिएका कारणले यस्तो ऐंजेरु मानिसहरूको मगजमा पलाएको छ कि धर्मको नाममा जतिसुकै अपराध, भ्रष्टाचार र अनैतिकता भए पनि त्यसलाई चोखो र पवित्र नै मान्ने गर्छन् । धार्मिक नैतिकताले सिर्जना गरेका यस्ता वितण्डाहरूलाई ध्वंश नगरी समाजवादउन्मुख र प्रविधियुक्त बाटोमा हिँड्न कसरी सकिएला र खै ! साँस्कृतिक रुपान्तरण ः किन र कसरी ?  लेखक रोहित दाहालको पुस्तकबाट 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्