IMG-LOGO

सहनशीलताको शहरमा बाँचेका ती दिनहरू

 मंगल, असोज ६, २०८३  आर. एल. श्रमजीवी, प्रधान सम्पादक

                युरोप पनि हामीले टाढाबाट देखेजस्तो हुँदैन रहेछ । यो कुरा मैले पोर्चुगलको राजधानी लिस्बन पुगेपछि मात्र गहिरोसँग बुझेँ । लिस्बनको एउटा भित्तामा लेखिएको थियो – ‘सहनशीलताको शहर लिस्बन ।’ देवनागरी अक्षरमा लेखिएका ती दुई शब्दले मलाई त्यतिबेला अनौठो गरी छोएका थिए । त्यो भित्तामा संसारका विभिन्न भाषाका शब्दहरू कोरिएका थिए । अगाडि पोर्चुगिज मदिरा झिन्झिना बेच्ने पसल थियो । आज त्यो लेखिएको ठाउँमा ती अक्षरहरू छैनन् । समयले भित्ताबाट शब्दहरू मेटिदियो । तर ती दुई शब्द – ‘सहनशीलताको शहर’ – मेरो स्मृतिबाट कहिल्यै मेटिएनन् । सायद ती शब्दहरू लिस्बनका लागि मात्र थिएनन् । ती म जस्ता हजारौँ प्रवासीका लागि लेखिएका थिए । किनकि त्यसपछि मैले जीवनमा यस्ता धेरै कुरा सहेँ, जसलाई सम्झिँदा आज पनि लाग्छ—मान्छेभित्र सहन सक्ने क्षमता पनि एउटा सीमासम्म मात्र हुँदो रहेछ ।                 मैले मात्र सहेको होइन होला । म जस्तै हजारौँले सहेका होलान् । आखिर प्रवासीको कथा नै त्यस्तै हुँदो रहेछ–बाहिरबाट सपना, भित्रबाट संघर्ष । मान्छे जहाँ जन्मिन्छ, त्यहीँबाट उसको प्रकृति र संस्कारले उसलाई पछ्याउँदै आउँछन् । नेपालमा जीवनका धेरै वर्ष बिताएको मान्छे युरोप पुगेपछि एकैचोटि अर्को प्राणी बन्न सक्दैन । उसको बोलीमा गाउँ हुन्छ, व्यवहारमा परिवार हुन्छ, सोचाइमा समाज हुन्छ र स्मृतिमा आफ्नो माटो हुन्छ । उसले आफ्नो उमेरसँगै सीप बोकेर ल्याएको हुन्छ । अनुभव बोकेर ल्याएको हुन्छ । जीवनका अनेक घुम्ती पार गरेर आएको हुन्छ तर यहाँ आइपुगेपछि ती सीप र अनुभवको कुनै अर्थ नहुने क्षण आउँदो रहेछ । त्यतिबेला मान्छे साँच्चिकै लाटो हुन्छ । भाषाले उसलाई आफ्नै आवाजसँग अपरिचित बनाइदिन्छ ।                 पोर्चुगिज भाषा कठिन मात्र होइन, कहिलेकाहीँ मलाई त महाकठिन लाग्थ्यो । Bom dia, boa tarde, boa noite जस्ता सामान्य शब्द उच्चारण गर्न सिक्न पनि कतिपयलाई महिनौँ लाग्छ । भाषा नजान्नु भनेको केवल शब्द नजान्नु होइन रहेछस त्यो त आफ्नो अस्तित्वको एउटा हिस्सा अरूको हातमा छोडिदिनु रहेछ । कसैले केही सोध्यो – बुभ्mन सकिँदैन । कुनै कार्यालयमा जानुप¥यो – भन्न सकिँदैन । कुनै कागज आयो—पढ्न सकिँदैन । अनि मान्छे आफ्नै जीवनको निर्णयमा पनि परनिर्भर बन्न पुग्छ । त्यसपछि सुरु हुन्छ—गोता, हन्डर, ठक्कर, घात, प्रतिघात र धोका । सिधा र सामान्य मान्छेका लागि पोर्चुगलमा कार्डबाहेक अरू केही देखिँदैन जस्तो लाग्थ्यो । यहाँ आउँदा देखिएका दिवास्वप्नहरू विस्तारै भत्किँदै जान्छन् । मान्छे न राम्ररी रुन सक्छ, न हाँस्न सक्छ । कहिलेकाहीँ दुःखलाई भुल्न यहाँको Sagres, Super Bock वा Vinho जस्ता मदिराको सहारा लिनुपर्ने अवस्था आउँछ तर मदिराले पीडा मेट्दैन ।उसले केवल केही समयका लागि पीडालाई निदाइदिन्छ । बिहान उठेपछि फेरि त्यही जीवन अगाडि उभिएको हुन्छ । नेपाली होस्, भारतीय होस्, पाकिस्तानी होस् वा बङ्गाली—दक्षिण एसियाबाट आएको मान्छेभित्र एउटा साझा कुरा हुन्छ—मुटु । मुटु भएपछि धड्कन हुन्छ । धड्कन भएपछि मन हुन्छ । मन भएपछि माया हुन्छ । माया भएपछि सम्बन्ध हुन्छ तर परदेशको जीवनमा कहिलेकाहीँ सबैभन्दा ठूलो अभाव यही सम्बन्धको हुँदो रहेछ । यहाँ सम्बन्ध पनि धेरैपटक आवश्यकताले जन्माउँछ र स्वार्थले अन्त्य गर्छ । आत्मीयता खोज्दा लेनदेन भेटिन्छ । भरोसा खोज्दा हिसाबकिताब भेटिन्छ । सबै नराम्रा हुन्छन् भन्ने होइन । तर परदेशमा बस्दै जाँदा एउटा कुरा सिकिन्छ—मान्छेलाई उसको बोलीले होइन, व्यवहारले चिन्नुपर्छ । हरेक प्रवासीको एउटा ठूलो सपना हुन्छ—युरोपियन कार्ड ।                 त्यही कार्डका लागि धेरैको कथा legal entry बाट सुरु हुन्छ । त्यो कार्ड हातमा परेको दिनको खुशी कसलाई सुनाउनु ! त्योभन्दा अघि Finanças को नम्बर आयो भने पनि मानिसको अनुहारमा वर्षौँपछि घाम लागेजस्तो हुन्छ । Segurança Social को नम्बर आयो भने पनि दुःखको बीचमा अचानक हाँसो निस्किन्छ । काम पाएर होस् वा कामको खोजीमा—हरेक कागज एउटा खुड्किलो हुन्छ । तर कार्डका लागि काम चाहिन्छ । कामका लागि कर चाहिन्छ । करका लागि नियमित आम्दानी चाहिन्छ ।                 अनि त्यसपछि सुरु हुन्छ अर्को संघर्ष । दक्षिण एसियाबाट आएका धेरै मानिसले भाषा नजानेका कारण आफ्नो पुरानो सीपअनुसारको काम पाउँदैनन् । पढेलेखेका, अनुभवी, आफ्नो देशमा सम्मानित मानिसहरू पनि यहाँ आएर भाँडा माझ्ने कामबाट जीवन सुरु गर्छन् । कसैले खेतमा जैतुन झार्छ । कसैले सुन्तला टिप्छ । कसैले ओलीभ झार्क कसैले स्याउ टिप्छ । कसैले गोलभेँडा टिप्छ । कसैले होटलको भान्सामा भाँडा माझ्छ । कसैले सफाइ गर्छ । आफ्नो देशमा जसले अरूलाई काम दिएको थियो, उसैले यहाँ आएर अरूको आदेश सुन्नुपर्छ । स्वाभिमानलाई कहिलेकाहीँ खल्तीभित्र राखेर काम गर्नुपर्छ । युरोपेली बन्ने सपनामा युरोप छिरेका हजारौँ प्रवासीको प्रारम्भिक कथा लगभग यस्तै हुन्छ । तर मेरो कथा अलि फरक थियो ।                 त्यो कथाभित्र यति धेरै व्यथा थिए कि आज सुनाउन बस्दा मेरा मात्र होइन, तपाईंका आँखासमेत रसाउन सक्छन् । हरेक मानिसको कथा हुन्छ । कसैको कथा लेखिएको हुन्छ । कसैको कथा कहिल्यै लेखिँदैन । कसैको जीवन आत्मकथा बनेर पुस्तकमा आउँछ । कसैको जीवन चुपचाप एउटा कोठामा, एउटा ओछ्यानमा, एउटा पुरानो डायरीमा वा कसैको स्मृतिमा थन्किएर बस्छ । छापिएका सबै कथा पूर्ण सत्य हुन्छन् भन्ने पनि छैन । लेख्नेले कति लुकायो, कति बढायो र कति आफ्नै पक्षमा लेख्यो—त्यो लेखकलाई नै थाहा हुन्छ तर मेरो कथा मैले भोगेको कथा हो ।                 त्यसैले यसमा कल्पनाभन्दा बढी घाउ छन् । युरोप भन्नासाथ मलाई पैसाको बोट होला जस्तो लाग्थ्यो ।त्यो भ्रम मेरो मात्र थिएन । जगदीशले पनि त्यस्तै सपना देखाएको थियो । ऊ नर्वेमा थियो । उसका कुरा सुन्दा युरोपमा पैसा टिप्न मात्र बाँकी छ जस्तो लाग्थ्यो । उसको भाइ बच्चालाई पनि भेटेको थिएँ । उनीहरू राम्रा लागेका थिए । तर पछि बुझ्दै गएँ–युरोपमा पैसाको बोट रहेनछ । रहेछ त संघर्षको जंगल । त्यो जंगलमा बाटो देखाउन आउने सबै मार्गदर्शक हुँदैनन् । कोही सिकारी पनि हुन सक्छ । मलाई युरोपले यही पाठ धेरै चाँडो पढायो ।                 पोर्चुगल आएपछि स्वास्नी प्रसाद गौतम र द्रव्यदेवी गौतमको परिवारसँग जोडिएको मेरो कथा त्यही सुरुवाती पाठमध्ये एउटा थियो । युरोपियन कार्डको मोहमा म एकाएक यस्तो दलदलमा फसेँ, जहाँबाट जति निस्कन खोजेँ, उति नै भासिँदै गएँ । त्यो परिवारसँग बस्दा कहिलेकाहीँ मलाई लाग्थ्यो—म कुनै घनघोर जंगलमा हराएको मान्छे हुँ । कुन दिशाबाट कुन जन्तु आउँछ ? कुन बेला आक्रमण हुन्छ ? कुन बेला आफूलाई कसैले एक गाँस बनाइदिन्छ? केही थाहा हुँदैनथ्यो । न भाषा मेरो साथमा थियो, न यहाँको जीवनशैली मेरो पक्षमा । म लुटिएको अनुभव कसलाई सुनाऊँ ? कसले सुन्थ्यो ? झन् पुराना नेपालीहरूको व्यवहार पनि कहिलेकाहीँ यति रुखो र असहिष्णु लाग्थ्यो कि आफ्नो देशको मान्छे देख्दा पनि परदेशी भएको महसुस हुन्थ्यो । लेखेर के साध्य ?                 भनेर के साध्य ? किनकि सबैले आफ्नो सत्य बताउँदैनन् । कतिपय त आफ्नो विगत लुकाएर अरूलाई पनि त्यही बाटोमा हिँडाउँछन् । सायद उनीहरू पनि कहिल्यै त्यहीँबाट गुज्रिएका थिए । त्यसैले मैले बुझेँ – परदेशमा सबैभन्दा पहिले आफूलाई विश्वास गर्न सिक्नुपर्छ । अरूलाई विश्वास नगर्नु भनेको सबैलाई शङ्का गर्नु होइन । तर विश्वास गर्नुअघि मान्छे चिन्नुपर्छ । कागज पढ्नुपर्छ । प्रश्न गर्नुपर्छ । आफ्नो निर्णय आफैँ गर्नुपर्छ । मैले भोगेको पीडा अरूले नभोगुन् भन्ने मेरो यो कथा हो । त्यसैले यो केवल मेरो आत्मकथा होइन । यो एउटा चेतावनी पनि हो । पोर्चुगललाई मैले पछि एउटा ठूलो ट्रान्जिट जस्तो देख्न थालेँ । यहाँ धेरैजसो मानिस अस्थायी थिए । सबैको आफ्नै गन्तव्य थियो ।                 कोही बेलायत जान चाहन्थ्यो । कोही फ्रान्स । कोही जर्मनी । कोही स्विट्जरल्यान्ड । कोही नर्वे । कोही पोर्चुगलमै बस्न चाहन्थ्यो । तर धेरैको आँखामा एउटै सपना थियो—रातो पासपोर्ट । त्यसैले मलाई लाग्थ्यो, पोर्चुगल एउटा विमानस्थलको ट्रान्जिटजस्तै हो । त्यहाँ भेटिएका यात्रुहरू केही समयका लागि साथी हुन्छन् । सँगै चिया खान्छन् । सँगै दुःख सुनाउँछन् । सँगै हाँस्छन् । तर आफ्नो विमान आएपछि सबै आ–आफ्नो गन्तव्यतिर लाग्छन् । त्यसैले यहाँका सम्बन्धहरू पनि धेरैपटक ट्रान्जिटका सम्बन्धजस्तै रहेछन् । आज नजिक । भोलि टाढा । आज साथी । भोलि अपरिचित र यही अस्थायित्वभित्र कहिलेकाहीँ सिकारी पनि लुकेका हुन्छन् । कुन बेला कसले कसलाई सिकार बनाउँछ—कहिलेकाहीँ सिकार बन्ने मान्छेलाई आफैँ थाहा हुँदैन ।                 अब कुरा मेरो कथाको मूल मोडतिर लैजान्छु । आजभन्दा करिब पन्ध्र वर्षअघि म एउटा अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन युरोप आएको थिएँ । त्यतिबेला नेपालमा मेरो आफ्नै परिचय थियो । पत्रकारितामा आफ्नै सान थियो ।  व्यवसाय थियो । आफ्नै कारोबारहरू थिए । आफ्नै मान्छे थिए । आफ्नै ठाउँ थियो । आफ्नै आवाज थियो । तर जीवनको एउटा मोडमा मेरो कारोबारको क्याल्कुलेटरले हिसाब मिलाउन छाड्यो । धन कमाउने एउटा छोटो बाटो खोज्न थालेँ ।                 युरोपमा छिट्टै पैसा कमाउन सकिन्छ भन्ने भ्रमले मलाई पनि छोयो । सेमिनार सकियो । अरू साथीहरू नेपाल फर्किने तयारीमा लागे । तर म लुके फर्किनँ । मैले साथीहरूलाई समेत थाहा नदिई युरोपमै बस्ने निर्णय गरेँ । त्यसपछि मेरो जीवनको अर्को अध्याय सुरु भयो । त्यो अध्यायमा मेरो पहिलो अभिभावक बने—शम्भु गौतम । मलाई त्यतिबेला थाहा थिएन, यो निर्णयले मेरो जीवनलाई कुन दिशामा लैजानेछ । मलाई लाग्थ्यो, म पैसा कमाउन आएको हुँ । तर समयले पछि सिकायो—मान्छे कहिलेकाहीँ पैसा कमाउन घरबाट निस्कन्छ, तर बाटोमा उसले पैसाभन्दा महँगो कुरा गुमाउँछ । कहिलेकाहीँ ऊ युरोप जित्न आउँछ, तर अन्ततः आफूलाई नै खोज्दै हिँड्नुपर्ने हुन्छ र कहिलेकाहीँ एउटा शहरले उसको हातमा कार्ड थमाएर भन्छ – “अब तिमी यहाँ बस्न सक्छौ ।” तर उसको मनभित्रबाट एउटा आवाज आइरहेको हुन्छ – तर तिमी पहिलेको तिमी रहेनौ ।” लिस्बनको त्यो भित्तामा लेखिएको ‘सहनशीलताको शहर’ आज मेटिएको छ मेरा स्मृतिमा त्यो भित्ता अझै उभिएको छ । त्याहाँ लेखिएका अक्षरहरू पनि अझै छन् । म जब ती दिनहरू सम्झन्छु, मनमनै सोच्छु – सहरले सहनशीलता सिकाएको थिएन । सहरले मलाई सहन बाध्य बनाएको थियो । त्यही बाध्यताबाट जन्मिएको हो – मेरो यो कथा ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्