प्रायः सफारी सट र पाइन्टमा झुल्किरहने, ओठमा सरल तर मन्दमुस्कान छरेर जो कोहीसँग बोल्ने व्यक्तित्व हो मोहन दुवाल । वि.सं.२००६ सालमा बनेपामा जन्मिएका दुवाल भाषा,साहित्यको साधनामा अस्तिभन्दा हिजो बढी र हिजोभन्दा आज झन बढी क्रियाशील व्यक्तित्व हुन् । मेरो संसार भन्ने पत्रिकामा वि.सं.२०२१ सालमा कविता कविता प्रकाशित गरेर साहित्यमा सक्रियतापूर्वक अगाडि बढेका दुवाल त्यसयता कहिल्यै पछाडि फर्किएनन् । निरन्तर अविराल,अविचलित नदीझैं भाषा साहित्यको सेवामा तल्लिन भएर लागिरहे । लागिरेहका छन् । राजधानीभन्दा झण्डै ३० किलोमिटर पूर्वतिरको बनेपालाई कर्मथलो बनाईरहेका दुवाल नेपालका अग्रज साहित्यकारको रुपमा स्थापित छन् । उनी मूलत् कवि हुन् । कविता र मुक्तकमा मात्र नभएर तर नियात्रा, समालोचना, समीक्षामा पनि उतिक्कै सक्रिय कलम चलाउँछन् । अग्रज र समकक्षीहरुका प्यारा उनी साहित्यिक पत्रकारितामा पनि जमेका छन् । प्रधान सम्पादकको भूमिकामा रहँदै जनमतको २४६ अङ्क प्रकाशित गरेर अविरल साहित्यिक पत्रकारितामा लागिपरेका दुवाल जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष पनि हुन् । उनकै सक्रियतामा विभिन्न साहित्यकार, स्रष्टा, संस्कृतिविदहरुका विभिन्न विधाका झण्डै १७० वटा कृतिहरु प्रकाशित गरिसकेको छ जनमत वाङ्मय प्रतिष्ठान नेपालले । नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष रहेका दुवाल विभिन्न साहित्यिक सङ्घसंस्थाका संरक्षक, सल्लाहकार पनि छन् । अनुजहरुलाई माया गर्ने उनको वानी लोभलाग्दो छ । उनकै सक्रियतामा जनमतले विभिन्न सम्मानहरुको स्थापना समेत गरेको छ । थुप्रै चर्चित स्रष्टा,साहित्यकारहरुले उक्त सम्मान पनि पाइसकेका छन् । दीपा–जनमत सम्मान, गणेश खिलकुमारी दुवाल जनमत सम्मान, ह्रदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान, जनमत–जनक प्रधान सेवा सम्मान, केवलपुरे–जनमत सम्मान, जनमत–महेन्द्रलाल कलाकार सम्मान, कमला सैंजु–जनमत सम्मान, जनमत–राजभाई सहयात्री सम्मान, भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान, जनमत–केदार सुदर्शना बालसाहित्य सम्मान, जनमत–सिचिधर्म संस्कृति सम्मान, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान, जनमत–दीपक कायस्थ स्वास्थ्य सम्मान, जनमत–ज्ञानरत्न मंगलतारा राष्ट्रिय सम्मान, जनमत–पूर्णमाया लुचि समाजसेवा सम्मान, कमलराज–जनमत दर्शन साहित्य सम्मान, विश्वशान्ति–जनमत प्रवासी नेपाली लेखक सम्मान, शान्तिकिरण–जनमत फरक क्षमता सम्मान जस्ता विभिन्न सम्मानहरु राखी हरेक वर्ष विभिन्न लेखक, साहित्यकार लगायतका व्यक्तित्वहरु सम्मानित हुँदै आएका छन् । जनमतले हालसम्म विभिन्न ४५ जना स्रष्टा साहित्यकारहरुको स्मृतिग्रन्थ प्रकाशित गरिसकेको छ भने नेपालभाषा लगायत विशेष अङ्कहरु समेत पाँचवटा प्रकाशित गरेको छ । यसैगरी झण्डै डेढदर्जन अन्तर्राष्टिय साहित्य विशेष अङ्क समेत प्रकाशनमा ल्याइसकेको छ । जिल्ला साहित्यिक अङ्कको रुपमा समेत ३१ जिल्लाको विशेषाङ्क प्रकाशन गरिसकेको छ । यतिमात्र नभएर थुप्रै साहित्यकार जनमतका आजीवन सदस्यहरु बनेका छन् । मोहन दुवाल सिर्जनाका बगैंचामा मज्जैले फुलिरहेको नाम हो । उमेर, भावना र विचारले परिपक्व छन् । भण्डै तीन दशक शिक्षण पेशामा सेवारत उनी जहिल्यै सरस्वतीको सेवामा लागिपरे । हिजो कहिले शरद, किरण, बहादुर जस्ता विभिन्न नाउँहरुबाट लेख रचना प्रकाशित गरेका थिए । बहुआयामिक दुवाल साहित्यमा निष्ठावान नाम पनि हो । नेपाली भाषा, साहित्य र साहित्यिक पत्रकारितामा उनले उल्लेख्य कार्यगरेवापत विभिन्न राष्ट्रिय सम्मान तथा पुरस्कारहरु प्राप्त गरेका छन् । हालसम्म उनका नेपाल भाषाको चुलिजाःगु स्वाँ कविता सङ्ग्रह (२०२३), सिर्जनाका फूलहरु मुक्तक सङ्ग्रह (२०४६), संरचनाका मूलहरु मुक्तकसङ्ग्रह (२०५२), सम्भावनाका मूलहरु मुक्तक सङ्ग्रह (२०५९), मनका स्पर्शहरु–१ मुक्तकसङ्ग्रह (२०७३) प्रकाशित भैसकेका छन् । यसअघि नै आलोचना र परिचय, साहित्य विवेचना (२०४४) सालमा प्रकाशित भएको छ । दुवाल अग्रज कवि हुन् । उनको सचेतका धूनहरु कवितासङ्ग्रह पनि प्रकाशित छ । गर्भका रहस्य नामक लेखहरुको सङ्ग्रह पनि पहिले नै प्रकाशित भैसकेको हो । यस्तै क्रमशःसन्दर्भहरु लेखसङ्ग्रह (२०५२), साहित्यिक चिन्तनहरु, लेख सङ्ग्रह (२०५२),मानवीय संवेदनाहरु, चित्र कविता सङ्ग्रह (२०५५), प्रतिबिम्बित बिम्बहरु, व्यक्तिवृत्त (२०५६)ज जीवन, जीवन ज, नेपाल भाषा कविता सङ्ग्रह (२०५९), क्रान्त कविताका अक्षरहरु (कवितासङ्ग्रह २०६२), वैचारिक अनुभूतिहरु अन्तरवार्ता (२०६४), चीनको बाटोहुँदै उत्तर कोरियाको भ्रमण, नियात्रा (२०६५) सिक्किम पुग्दाका कुराहरु नियात्रा (२०६६), बस्तीमा राख्नुहुँदैन बाघहरु, कविता सङ्ग्रह (२०६८), मनको मझेरीमा बल्झिएका प्रश्नहरु कविता सङ्ग्रह (२०६८) प्रकाशित भैसकेका छन् । यसैगरी दुवालका अक्षर बिम्बहरु तथा स्मृतिका सर्जकहरु, शब्दबिम्बमा पौरखीहरु भाग १ र २ व्यक्तिबिम्ब कृतिहरु प्रकाशित छन् । मनका स्पर्शहरु मुक्तक सङ्ग्रह (२०७५), अक्षरमा रचनाहरु –लेख, २०७७, सम्झनामा सम्झनाहरु–१ स्मृति लेख (२०८१) लगायतका कृतिहरु नेपाली साहित्यमा आएका छन् । दुवालको परिचय लेखक, कवि, समालोचकमा मात्र सिमित छैन् उनको सम्पादनमा थुप्रै साहित्यिक पत्रिकाहरु निस्केका छन् । चर्चित काभ्रेली कविहरुको कवितासंकलन अठोट, उत्साह, भज्याङ, भुजुङ, बिगुलका यसका अलावा उनले मत÷अभिमत, मनोभावना÷लेखिकाहरु, जनमत जानकारी, जनमत कविता भाग खण्ड १ र २,जनमत के भन्छ ?, अक्षरभित्र स्रष्टाहरु, अक्षरबिम्बमा लेखिकाहरु, अक्षरका पुजारीःशेषराज शिवाकोटी, जनमत कथा, जनमत लघुकथा, जनमत नियात्रा आदि जस्ता दर्जनौँ कृतिहरु समेत सम्पादन गरेका छन् । दुवाल प्रगतिशील स्रष्टा हुन् । बेथिति र विकृतिविरुद्ध आवाज उठाउँछन् । यथार्थवादी लेखनीमा उनी सामाजिक असमानताविरुद्ध कलम चलाउँछन् । आफ्ना सिर्जनामा उनी सकारात्मक परिवर्तनका भाव जनाउँछन् । भोगाइ, देखेका सादृश्य समाजको चरित्रलाई उनले वर्गीय दृष्टिचेत लगाउँछन् । आम भुइँमान्छेका पीडामा दुख्छन् र आगो ओकल्छन् । विद्रोही चेत छ दुवालमा । महिला लगायत अन्य सामाजिक हिंसाको विरुद्धमा आफुलाई सचेत नागरिकको हिसावले अगाडि उभ्याउँछन् । राष्ट््वादी चेत पनि उनका रचनाहरुमा प्रशस्तै पढ्न पाइन्छ । सत्तासीनहरुले जनतालाई गर्ने दमन र अत्याचारको विरुद्ध आवाज घन्काउने कवि पनि हुन् दुवाल । प्रकृतिप्रेमी छन् र त पर्याचेत छ । मानवीय मूल्य र मान्यतालाई लेखनमा मात्र नभएर व्यवहारमा सहजै उतार्न सक्षम छन् दुवाल । उनी विचारप्रधान लेख रचनाहरु पनि लेख्छन् । समालोचनामा पनि गजबको कलम चलेको छ उनको । एक आशावादी अविचलित योद्धा हुन् मोहन दुवाल । भन्नेले जे भन्छ भनिरहोस तर दुवाल ती सबैकुराको पर्वाह नगरी एकनास यन्त्रवत चलिरहेछन् भाषा साहित्यको मोर्चामा त्यो पनि अग्रभागमा सतिशाल जस्तै उभिएर । यतिमात्र होइन साहित्यिक अभियानमा छन् र त अन्य साहित्यिक गतिविधि पनि गरिरहन्छन् । लुकेका मोफसलका प्रतिभाहरुको पहिचान र उचित स्थान दिन पनि उनी अग्रसरै देखिन्छन् । केही समय सक्रिय राजनीतिमा पनि थिए । विभिन्न शैक्षिक संघसंस्थाको नेतृत्वमा पनि थिए र छन् । झण्डै चारदशक पत्रकारितामा जीवन व्यतित गर्नु कम्ति गाह्रो कुरा हैन् र थिएन । तर अझैपनि जनमतको निरन्तरतामा उनको सक्रियता लोभलाग्दो छ । साहित्य, कला र साहित्यिक पत्रकारितामा दत्तचित्त रहेका दुवालको कटिबद्धता बुझ्न कठीन छैन् । साझा हित र सामुहिक भावनामा विश्वास गर्ने दुवाल मानवीय संवेदनालाई पर्गेलेर लेख्छन्, कर्म गर्छन् । समाजप्रतिको उत्तरदायित्वलाई मजैले खिप्छन् र सादा र निष्काम स्वभावले भुमिका पुरा पनि गर्छन् । कर्मशील र सङ्घर्षशील छन् दुवाल । अनुजपुस्ताका लेखकहरुलाई सहयोग गर्ने, हौसला दिने, अवसर दिने व्यक्तिमा पर्छन् उनी । अध्ययनशील र चिन्तनशील व्यक्तित्वले घनिभूत मोहन दुवाल निडर र विद्रोही चेतका नहुने कुरै भएन । यसैले समाजका विकृति र विसङ्गतिको विपक्षमा दह्रो उभिन्छन् । दृढतापूर्वक लेख्छन् । ठूलो प्रचारप्रसार र प्रलोभनबाट कोसौं टाढा छन् दुवाल । चर्चामा आउन चाहाँदैनन् । उनी अनुज पुस्तालाई माया गर्ने मात्र होइन,अग्रज पुस्तालाई कदर, सम्मान गर्छन् । मृदुभाषी छन् र स्पष्ट वक्ता पनि । उनमा दीगो व्यवस्थापकीय शीप छ । स्रोत,साधन र आर्थिक कठिनाइका बाबजुद पनि जनमतको निरन्तरता,अक्षयकोषको स्थापना लगायतका कुराहरु त्यसका प्रमाण हुन् । स्थानीय स्तरमा मात्र नभएर राष्टिूयस्तरमै उनले विभिन्न साहित्यिक गोष्ठी, सम्मान, साहित्यिक कार्यक्रमहरु गर्न सकेका छन् । विभिन्न स्रष्टाहरुका लेख,रचना र महत्वपूर्ण कुराहरुको अभिलेखीकरणमा पनि उनको ध्यान पुगेको छ । मोहन दुवाल जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष, नेपाल साहित्यिक पत्रकार संघका केन्द्रीय अध्यक्ष, प्रतिभा सम्मान प्रबन्ध गुठीका अध्यक्ष,काभ्रे बहुमुखी क्याम्पसका उपाध्यक्ष, जिउँदो सहिद मुकेश कायस्थ प्रतिष्ठानका सल्लाहकार, केदारनाथ प्रधान स्मृति प्रतिष्ठानका संरक्षकको भूमिका सहित अन्य थुपै संघसंस्थामा समेत क्रियाशील छन् । बेथिति र विकृति सहन गर्नै नसक्ने स्वभावका दुवाल मिहिनेती र इमान्दार साहित्यका सेवक पनि हुन् । साहित्यलाई दुवाल यसरी परिभाषित गर्छन्, ‘देखेका, भोगेका, सुनेका र स्पर्श गरेका अनुभव र अनुभूतिकै्र लेखाइ हो साहित्य । जीवन हो साहित्य, जगत हो साहित्य । यथार्थकै बिम्ब र प्रतिबिम्ब हो साहित्य ।’ यस्ता संवेदित र साहित्य, साहित्यिक पत्रकारिताका अग्रजबाट नेपाली वाङ्मय र समाजले अझै धेरै योगदान पाओस हार्दिक शुभकामना सहित अग्रज कवि, अग्रज साहित्यकार, अग्रज साहित्यिक पत्रकार, अग्रज व्यवस्थापक, शिक्षासेवी मोहन दुवाललाई साधुवाद छ ।
