योग प्रचीन प्रसिद्ध वैदिक हिन्दू दर्शन हो । परमात्मा अर्थात चेतन तत्वको निर्गुण शुद्ध स्वरूपको वर्णन विशेष रुपमा योग दर्शनमा बताईएको छ । योग दर्शनका सूत्राधार महाऋषि पतञ्जलि हुन र योगका मुख्य एवं प्रचीन वक्ता हिरण्यगर्भ हो भन्ने कुरा बताईएको छ । हिरण्यगर्भद्वारा बताईएको योग विद्याको ज्ञानलाई सहज र सरल ढंगबाट सवैले बुझ्न सक्ने र जीवन व्यवहारमा ल्याउन सजीलो होस भन्ने ध्येयले भगवान पतञ्जली ऋषिले योगलाई सूत्रबद्ध गरी योग दर्शनको प्रतिपादन गर्नु भयो। जुन अष्टाङ्ग योगको रुपमा प्रसिद्ध छ । यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि यो नै अष्टाङ्ग योग हो र अष्टाङ्ग योग नै योग साधनाको आठ प्रमुख अङ्गहरु हुन । यस अष्टाङ्ग योगको क्रमागत अभ्यास र साधनाबाट क्रमशः साधकको नैतिक तथा चारित्रिक गुणहरुमा वृद्धि गर्दै शारीरिक, मानसिक र आत्मिक स्थरमा स्वास्थ्य प्रदान गर्दछ र जीवनको आध्यात्मिक र भौतिक दुवै पक्षमा सन्तुलन कायम गरी कर्ममा कुशलता र व्यवहारमा शुद्धताद्वारा व्यक्ति श्रेष्ठ जीवन यापन गर्न सक्षम बन्दछ । यस प्रकार उ शरीर, मन र चित्तबाट निर्मल भएर मोक्ष प्राप्त गर्दछ अर्थात मनुष्यको जीवनको उच्चतम लक्ष्य आत्मा–अनुभूति अर्थात ईश्वर अनुभूति ज्ञान प्राप्त गर्दछ । मनुष्यको कर्तव्य यो हो कि समस्त जगतको एक मात्र कर्ता, धर्ता, हर्ता, सर्वशक्तिमान परमेश्वरको सतत् स्मरण राख्दै सवैकुरा वहांकै हो भन्ने बुझेर वहांकै पूजा, प्रार्थनाको लागी शास्त्रद्वारा बताईएको कर्म–कर्तव्यको आचरण गरोस् र स्वास्थ्य निरोगी भएर लामो आयु बाच्ने इच्छा गरोस्।अष्टाङ्ग योगलाई ठीक ठीकसंग सम्झनको लागी र साधनाको महत्वलाई शुक्ष्म रुपमा बुझेर माथी उठ्नको लागी ऋषि पतञ्जलिले विभिन्न पाद तथा सूत्रहरुको छुट्टा–छुट्टै व्याख्या गर्नु भएको छ । समाधिपाद, साधनापाद, विभूतिपाद र कैवल्यपाद गरी चारवटा पाद र अनेकन सूत्रहरुको माध्यमद्वारा साधकलाई योगको गहिरो र शुक्ष्म ज्ञानद्वारा साधनाको पथमा अगाडी बड्नको लागी प्रेरणा प्रदान गरिएको छ । सरसर्ती हेर्दा ’योग’ शब्द सानो भएता पनी यसको अर्थ भने व्यापक र गहन छ । समस्त जगत नै योगमा स्थित छ । त्यसकारण जसले योगलाई प्राप्त गर्यो उसले सवैचिज प्राप्त गर्दछ । वेदा आदि, उपनिषद, पुराण तथा दर्शन शास्त्रहरुले पनी योगको महिमाको गान गर्दछन् । योग भनेको चित्तवृत्ति निरोध हो । मनका तरङ्गहरुलाई शान्त गरेर शुद्ध चेतनमा स्थित हुनु र परमानन्दको अनुभूति गर्नु नै योग हो । योगी बहिर मुखी नभै अन्तर्मुखी हुन्छ । सिधा भाषामा भन्नु पर्दा योग स्थुलताबाट शुक्ष्मता तर्फ जानु हो, अन्तर्मुखी हुनु हो। रजोगुण र तमोगुण वृत्ति नै बहिर्मुखी वृत्ति हो। जाति जति रजोगुण र तमोगुण वृत्ति वृद्धि हुदैं जान्छ त्यति नै बाहिरी बिषयसंग आसक्ति बढ्दै जान्छ । त्यसकारण योग साधनाद्वारा रजो र तम वृत्तिहरुमा नियन्त्रण गरेर सत्वगुणको वृद्धि गर्दै एकाग्रताद्वारा मनलाई अन्तर्मुखी बनाउंनु पर्दछ । तव चित्तमा सतोगुण प्रकाशित हुन्छ र चित्तको रुपान्तरण हुन्छ अनी चरित्रको निर्माण हुन्छ । योग साधना नै चरित्र निर्माणको साधना हो । व्यक्तिको चरित्र भनेको उसको नैसर्गिक स्वभाव हो । यहि नैसर्गिक स्वभावमाथी बुद्धि पूर्वक संयमद्वारा रुपान्तरको जुन प्रकृया छ, त्यो नै चरित्र निर्माणको साधना हो । चरित्र निर्माण साधना मनुष्य जीवनलाई निचताबाट उच्चता तर्फ लैजाने साधना हो । व्यक्तिको व्यक्तित्व निर्माण साधना हो । व्यक्ति व्यक्तिको निर्माण भएमा नै समाजको पनी निर्माण हुन्छ । समाज सुन्दर भएमा राष्ट्र पनी स्वतः सुन्दर बन्दछ । योग दर्शनले हरेक मानवलाई सत्यको मार्गमा हिडन सिकाउंछ, सत्यको वोध गराउंछ । तव अज्ञान र अन्धकार समाप्त भई ज्ञानको ढोका खुल्दछ । ब्रम्हलीन स्वामी सच्चिदानंद विशुद्धदेव ज्यूद्वारा प्रतिपादित चरित्र–विज्ञान नामक ग्रन्थ जुन छ यो नै जीवन विज्ञान हो । यस चरित्र–विज्ञानले “स्थिति– गत्यात्मक मानव योग संस्कृति” को ज्ञान र शिक्षाद्वारा मनुष्यलाई वैज्ञानिक आध्यात्मिक भौतिकवादको सर्व यथार्थ र परम हितार्थको वोध गराउंदछ । यहि विश्वव्यापी सिद्धान्त नै मानवमात्रको चरित्र निर्माणको संकल्प हो । हंसदा योग आश्रमले यसै सिद्धान्तका आधारमा वैदिक ऋषिकुल परम्परागतलाई कायम गरी योग विज्ञान र दर्शनको व्यावहारिक र वैज्ञानिक पद्धतिको प्रशिक्षण प्रकृयालाई निरन्तर दिदैं आईरहेको छ । ॐ शान्ति !!
