“असतोमा सद्गमय” यो धर्म सुत्र हो । धर्मको आधार सत्य हो । सत्यको बाटो अपनाउनु नै धर्ममा चल्नु हो । सत्य र असत्यको बीचमा द्वन्द्व चलिरहन्छ । यो प्रकृतिको नियम हो । जीवनमा सुख–दुःख, सर्दी–गर्मी भइरहन्छ । अन्त्यमा सत्यको जित हुन्छ । तर मानव जीवनले यी दुवै द्वन्द्वको सामना गर्नुपर्छ । जीवनमा कहिले शान्ति कहिले अशान्ति, कहिले सुख कहिले दुःख, यो अवस्थासँग जीवनको संघर्ष चलिरहन्छ । असत्यलाई त्यागेर सत्यको पथमा लाग्नु हाम्रो कर्तव्य हो । नीति शास्त्रले हामीलाई हरबखत सत्यको मार्गमा चल्न सिकाउँछ । सत्यको बाटो सरल हुन्छ । शान्तिमय हुन्छ । सुखमय हुन्छ । असत्यको बाटो शुरुमा सरल र सजिलो जस्तो लाग्छ । परिणाम दुःखमय हुन्छ । यी समस्या भोग्दा भोग्दै पनि मानिस स्वार्थको वशमा पर्दछ । असत्यको पक्षमा लाग्द छ । दुःख, पीडाको अनुभव गर्दछ । पछि जीवनको पछिल्लो स्थितिमा आएर धर्म सम्झन्छ । सत्यको बाटो अपनाउँछ । भगवत् प्रेमतिर झुकाव बढाउँछ । अनि यस्तै धार्मिक तथा ज्ञानका कार्यकमलाई साथी बनाउँछ । जहाँ ज्ञानको चर्चा हुन्छ । जहाँ सत्सँग हुन्छ । जहाँ भगवत् ज्ञानको विचार विमर्ष हुन्छ । त्यो ज्ञानयज्ञ हुन्छ । त्यसैको नाम हो ज्ञान महायज्ञ । ज्ञानले मानिसलाई ज्ञानी बनाउँछ । ज्ञानको नाता आत्मासँग हुन्छ । अनि ऊ आत्मज्ञानी हुन्छ । ज्ञान मानवजीवनको आत्मीय खुराक हो । खुराकले मानवजीवनलाई परम आनन्दमा पु¥याउँछ । आनन्द भगवान्को स्वरुप हो । आनन्द र भगवान् पर्यायवाची शब्द हो । भगवत् स्वरुपको नाम नै आनन्द हो । जहाँ भगवत् स्वरुपलाई चिनाउने साप्ताहिक कार्यक्रम हुन्छ त्यसलाई सप्ताह ज्ञान महायज्ञ भनिन्छ । श्रीमद्भागवतको विषय भनेको ज्ञानको विषय हो । श्रीमद्भागवतसँग जोडिएका जुन सुकै कार्यक्रम किन नहुन् । ती सबै ज्ञानसँग सम्वन्धित हुन्छन् । पुराणहरुमा भागवतलाई ज्ञान शिरोमणि भनिन्छ । ज्ञानका सम्बन्धमा बढी प्रसिद्धि कमायका पुराणहरुमा पनि महापुराण भनेर भागवतलाई भनिन्छ । श्रीमद्भागवत महापुराणको यो कार्यक्रम वि.स. २०८३ भाद्र महिनाको १ गते देखि शुभारम्भ हुन्छ । यो कार्यक्रम बनेपा नगरपालिका वडा नं. ६ मा रहेको गोसाइँस्थान नैमिषारण्य संस्कृत गुरुकुलमा हुन्छ । सात दिनसम्म चल्छ । महायज्ञको पूर्वाङ्ग भाद्र १ गते विहानको शुभसमयमा हुन्छ । यो विशेष महोत्सव एकजना सती, साध्वी, पतिव्रता नारी राधा देवी सिग्देलको शुभसंकल्पमा हुन लागेको हो । यो अति महत्वपूर्ण कार्यक्रम हो । यसबाट हामी सबैले लाभ लिन सक्छौं । यो हामी सबैको साझा कार्यक्रम हो । यसको सफलता भनेको हामी सबैको सहभागिता हो । यो अवसर सधैं मिल्ला नमिल्ला मौकामा फाइदा लिईहाल्नु होला । गोसाई स्थान एक प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र हो । यसका आसपासमा ठूला–ठूला होटेल सञ्चालन भइरहेका छन् । यहाँ धेरै मानिसहरुको आवागमन भइरहन्छ । स्वदेशी विदेशी पर्यटकहरुको आउने जाने क्रम चलिरहन्छ । यहाँबाट उत्तरपूर्वका हिम श्रीङखलाहरुको अवलोकन गर्न सजिलो छ । हिम चुचुराको दृश्यले पर्यटकहरुलाई निम्त्याइ रहन्छ । यो गोसाईस्थानको भूमि परापूर्वकाल देखि नै गुरुभूमिको रुपमा परिचित छ । गुरुकापनि गुरु, परमगुरु, भगवान शिव सबैका आराध्य गुरु हुनुहुन्छ । जगत गुरु हुनुहुन्छ । यो गोसाईस्थान उहाँकै क्षेत्र हो । उहाँको नामले प्रसिद्धि पाएको ठाउँको नाम “गोसाइँस्थान” रहन गएको हो । यहाँ शान्त छ । सुन्दर छ । शान्तभनेको शिव हो । शिव भनेको सुन्दर हो । “शान्तं शिवं सुन्दरम्” सबै यहि छ । यस भूमिमा प्रवेश गरेपछि यहाँका हरियाली वन जङ्गल र सुन्दर दृश्यावलीले हर मानिसको मनलाई मनोरम बनाउँछ । योगी, ज्ञानी, ध्यानी देखि सामान्य मानिस सम्मलाई प्राकृतिक सौन्दर्यले आकर्षण गरिराखेको हुन्छ । यहाँ भित्रको शान्ति र शीतलताले मन मौनतामा दुबिरहन्छ । भौतिक पद पदार्थले विचलन भएको मनले यहाँ प्रवेश गरेपछि शान्त शीतलताको अनुभूति गर्दछ । गोसाइँस्थान आफैमा एक प्रेरणाको श्रोत हो । मन्द–मन्द पवन स्पर्शले नयन बन्द गरेर हराइरहन मन लाग्छ । पक्षीहरुको चिरविरले कान खोलिरहुँ जस्तो लाग्छ । यस्तो सुन्दर एवं पावन भूमिमा नैमिषारण्य संस्कृत गुरुकुल, सञ्चालन भइरहेको छ । गुरुकुल यस भूमिको श्रीपेज हो । आकर्षण हो । वैविक सनातन धर्मको केन्द्र हो । सम्पत्ति हो । गुरुकुल एउटा आश्रम हो । जहाँ गुरुशिष्यको परमपरा हुन्छ । गृहस्थाश्रममा बाबुछोराको परमपरा हुन्छ । गुरुकुलमा विद्यार्थीहरु गुरुको साथमा गुरुको अनुशासनमा रहन्छन् । गुरु कवच हो । ज्ञान कवच हो । वेद पवित्र विषय हो । गुरुकुलमा वेदको अध्ययन हुन्छ । यसको अध्ययनबाट हामी पवित्र हुन्छौं । पावन बन्छौं । त्यसैले गुरुकुलमा वेदलाई वढी महत्व दिइएको हो । वेदको अध्ययन भनेको वेदको सेवा हो । वेदको सेवा भनेको वैदिक सनातन धर्मको सेवा हो । धर्मको सेवा भनेको राष्ट्रको सेवा हो । यस्तो महान सेवामा लागिरहने यो गुरुकुल भौगोलिक दृष्टिले अग्लो ठाउँमा छ । आदर्शको रुपले उच्च छ । महान् छ । यस सम्मानित भूमिमा आयोजित सप्ताह महापुराणको प्रमुख कथावाचक, वेदान्ताचार्य हामी सबैका आदरणीय गुरु श्री दिव्यमणि अधिकारी हुनुहुन्छ । उहाँप्रति सबैको आदर छ । सम्मान छ । भक्तजनहरु उहाँको प्रवचन अत्यन्त मनपराउँछन् । श्रद्धाभावले हेर्छन् । उहाँ नैमिषारण्य संस्कृत गुरुकुलका प्राचार्य हुनुहुन्छ । गुरुकुलको प्रगतिमा उहाँको योगदान प्रशंसनीय छ । गुरुकुुललाई सफलतापूर्वक अघि बढाउन कुशल र सफल हुनुहुन्छ ।
