IMG-LOGO

सुनकोशीभन्दा गहिरो यक्षप्रश्न

 मंगल, सावन २६, २०८३  आर. एल. श्रमजीवी, प्रधान सम्पादक

    “जीवनदेखि धेरै–धेरै नै थाकेर, म मुर्दा भएको हेर आज...” स्वरसम्राट नारायण गोपालले गाएको यो गीत केवल एउटा गीत होइन, समाजको अनुहारमाथि प्रहार गरिएको एउटा प्रश्न हो । “यहाँ ढुङ्गाहरू पनि गर्छन् मान्छेको अभिनय, यहाँ कुकुर पनि गर्छ मान्छेको अभिनय...” यी शब्दहरू सुन्दा लाग्छ, कविले कुनै काल्पनिक संसारको चित्र कोरेका हुन् । तर आजको यथार्थले देखाइरहेको छ—गीतले देखाएको समाज अझै समाप्त भएको छैन । बरु त्यसले नयाँ–नयाँ रूप धारण गरिरहेको छ ।     काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ का ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली सुनकोसी नदीमा हाम फालेर बेपत्ता भएको घटनाले नेपाली समाजलाई स्तब्ध बनाएको छ । सार्वजनिक भएका विवरणअनुसार तिलकुमारी बोन म्यारो क्यान्सरबाट पीडित थिइन् । लामो उपचारले परिवार आर्थिक रूपमा थलिएको थियो । सार्वजनिक भएको सीसीटीभी दृश्यमा श्रीमानले अस्वस्थ श्रीमतीलाई बोकेर सुनकोसीतर्फ लगिरहेको दृश्य देखिन्छ । त्यो दृश्य केवल दुई वृद्धको अन्तिम यात्रा होइन, हाम्रो सामाजिक चेतनाको पनि परीक्षा हो । कसैले भन्छ, “मर्न मन थियो, मर्न गए ।” तर के वास्तवमै मानिसलाई मर्ने रहर हुन्छ ?     मानिस मृत्यु रोज्दैन । मानिस त केवल त्यस्तो पीडाबाट भाग्न खोज्छ, जहाँ बाँच्नु नै मृत्युभन्दा कठिन हुन थाल्छ । आत्महत्या प्रायः मृत्युको चाहना होइन; असहनीय पीडाको अन्त्य खोज्ने एउटा दुःखद प्रयास हो । त्यसैले यो घटनालाई केवल व्यक्तिगत निर्णय भनेर पन्छाउन मिल्दैन । प्रश्न उठ्छ—यो मृत्युको जिम्मेवार को हो ? परिवार ? समाज ? राज्य ?     वा हामी सबै ? यी गहिरा प्रश्नहरुको उत्तरको सङ्ग छ ? प्रमाणबिना कसैलाई दोषी ठहर गर्न मिल्दैन । उनीहरूका छोरा–छोरी वा आफन्त नाता कुटुम्बहरूको अवस्था, प्रयास वा परिस्थितिबारे सार्वजनिक रूपमा पर्याप्त जानकारी आएको छैन । तर यति भने अवश्य सोध्न सकिन्छ—के यस्तो अवस्थासम्म पुग्दा उनीहरूलाई आवश्यक सामाजिक, आर्थिक र भावनात्मक साथ उपलब्ध भयो ? यदि भएन भने, त्यसको जिम्मेवारी कसले लिनुपर्छ ?     नेपालमा वृद्धावस्था अझै पनि सम्मानभन्दा बढी एक्लोपनको पर्याय बन्दै गएको छ । सन्तान विदेशमा छन्, गाउँ रित्तिँदै छन्, स्वास्थ्य सेवा महँगो छ, दीर्घरोगले परिवारलाई गरिबीको खाडलमा धकेलिरहेको छ । रोगले शरीर खान्छ, उपचारको खर्चले सम्पत्ति खान्छ, र अन्ततः निराशाले मानिसको आशा नै खान्छ ।     बोन म्यारो क्यान्सरजस्तो दीर्घ र खर्चिलो रोगसँग जुधिरहेका परिवारका लागि उपचार प्रक्रिया हुँदैन; त्यो आर्थिक, मानसिक र सामाजिक युद्ध जस्तो हुन्छ । जब राज्यको सुरक्षा प्रणाली कमजोर हुन्छ, समाजको सहारा पुग्दैन, र पीडित परिवार आफ्नै पीडामा थिचिन्छ, तब कहिलेकाहीँ मानिसले जीवन होइन, पीडाको अन्त्य रोज्छ र यस्तो निर्णय लिन बाध्य हुन्छ  । वृद्ध दम्पत्तिको यो घटनाले हाम्रो सामाजिक संवेदनामाथि पनि प्रश्न उठाएको छ । हामी सामाजिक सञ्जालमा शोक व्यक्त गर्न निकै छिटो छौँ, तर आफ्नै टोलको पीडा देख्न किन ढिलो गर्छौँ ? हामी श्रद्धाञ्जली लेख्न सक्षम छौँ, तर पीडितको ढोका ढकढक्याउन किन सक्दैनौँ ? नारायणगोपालको गीत फेरि मेरो कानमा गुञ्जिन्छ – “कलाई मान्छे भन्ने, कलाई देव भन्ने, यो परिभाषा आज च्यात्तिएको हेर...”     सायद आज यही परिभाषा फेरि च्यातिएको छ । सुनकोसी नदीले दुईवटा शरीर बगाएको होला । तर त्यो नदीले हाम्रो सामूहिक जिम्मेवारी, हाम्रो सामाजिक संवेदना र हाम्रो राज्यको कल्याणकारी दायित्वबारे एउटा गहिरो प्रश्न पनि बगाइरहेको छ । ती प्रश्नहरू सुनकोसीको बहावभन्दा तीव्र छन्, सुनकोसीको गहिराइभन्दा गहिरा छन् ।     यदि यस्ता मृत्युहरूलाई हामी मिडियाकर्मीले समाचारको एउटा शीर्षक बनाएर बिर्सियौँ भने, भोलि फेरि अर्को सुनकोसीले अर्को दम्पतीलाई बगाउनेछ । त्यतिबेला पनि हामी सबैले यही भन्ने छौँ कि – “उनीहरूलाई मर्न मन थियो होला । “तर सत्य त्यो होइन । सत्य यो हो–कहिलेकाहीँ समाज यति मौन हुन्छ कि भनी साध्य छैन । पीडित मानिसलाई मृत्यु नै अन्तिम गन्तव्य जस्तो लाग्न थाल्छ र यस्तो निर्णय मान्छेले लिन्छन् ।     गत बुधबार सुनकोशी नदीमा हाम फालेर मृत्यु भएका मण्डनदेउपुर–७, कुन्तावेंसीका केदारनाथ पराजुली र उनकी श्रीमती तिलकुमारी पराजुलीको इन्द्रावती नदी किनारमा हिजो अन्त्येष्टि गरिएको छ । तिलकुमारीको शव फेला परे पनि श्रीमान केदारनाथको शव फेला नपरेपछि परम्पराअनुसार कुशको शव बनाई अन्त्येष्टि गरिएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्