सुकरातले (Socrates) भनेका थिए.....लोकतन्त्रको सुन्दरता जनमतमा हुन्छ, तर यसको सबैभन्दा ठूलो चुनौती पनि त्यहीँ लुकेको हुन्छ । धेरै पटक लोकतन्त्रले बुद्धिमत्ताभन्दा प्रदर्शनलाई पुरस्कृत गर्छ । वक्ताहरूले डर, अहंकार र क्षणिक सन्तुष्टिको सहारा लिएर सम्पूर्ण भीडलाई प्रभावित गर्छन् । उनीहरूले जटिल समस्याहरूका लागि अत्यन्तै सरल समाधानको आश्वासन दिन्छन् । अनि भीडले सबैभन्दा ठूलो ताली सत्य बोल्ने व्यक्तिलाई होइन, आफूलाई सबैभन्दा राम्रो महसुस गराउने व्यक्तिलाई दिन्छ.... ...... गत निर्वाचनअघि मैले एउटा चिन्ता व्यक्त गरेको थिएँ, र आज पनि त्यो चिन्ता उत्तिकै सान्दर्भिक देखिन्छ । विश्व तीव्र रूपमा बदलिँदै थियो,र छ पनी । भ–ूराजनीतिक शक्ति–सन्तुलन फेरिँदै थियो, आर्थिक गठबन्धनहरू पुनः परिभाषित हुँदै थिए । नेपालजस्तो सानो तर रणनीतिक दृष्टिले महत्वपूर्ण राष्ट्रका लागि यो अवस्था अत्यन्त संवेदनशील थियो र छ पनि । यस्तो समयमा दूरदृष्टि, परिपक्वता र राष्ट्रिय हितलाई सर्वोपरि राख्ने नेतृत्व अपरिहार्य थियो । त्यो निर्वाचनमा मेरो सामु रहेको निर्णय साँच्चै नै एउटा कठिन परीक्षा थियो । एकातिर वर्षौंदेखि शासन सञ्चालन गर्दै आएका, राजनीतिक रूपमा अपेक्षाकृत अनुभवी तर सत्तामा रहँदा जनविश्वास गुमाउँदै धमिलो सार्वजनिक छवि बोकेका पुराना राजनीतिक दलहरू थिए । अर्कोतिर नयाँ भनौदा पार्टी थियो । मैले “नयाँ भनौदा“ भन्ने शब्द जानाजानी प्रयोग गरेको हुँ, किनकि त्यो पार्टी पुरानो त निश्चित रूपमा थिएन, तर पछिल्लो निर्वाचनसम्म आइपुग्दा त्यसलाई पूर्ण रूपमा नयाँ राजनीतिक शक्तिका रूपमा पनि वर्णन गर्न सकिँदैनथ्यो । शासन सञ्चालन र सार्वजनिक जीवनमा उसले केही अनुभव हासिल गरिसकेको थियो । परम्परागत दलहरूको तुलनामा त्यो नयाँ अवश्य थियो, तर २०७९ सालको निर्वाचनमा जस्तो शतप्रतिशत नयाँ राजनीतिक शक्ति भने अब रहिसकेको थिएन । त्यसैले दलीय आग्रहभन्दा माथि उठेर देशलाई हेर्ने नागरिकहरूले आशा र अनुभवबीच सन्तुलन खोज्दै नयाँ शक्तिलाई ’बेनिफिट अफ डाउट’ दिन सक्ने अवस्था थियो । तर नयाँमा राष्ट्रलाई जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा डो¥याउन आवश्यक राजनीतिक परिपक्वता, दीर्घकालीन दृष्टि र शासन सञ्चालनको अनुभव अझै प्रमाणित हुन बाँकी थियो । नेपाललाई सबैभन्दा बढी आवश्यक थियो एउटा स्थिर सरकार । स्थिरता भनेको निरन्तरता हो, जसले कठिन निर्णय लिन, राष्ट्रिय हितको रक्षा गर्न र बदलिँदो विश्व परिवेशमा विवेकपूर्ण ढंगले अघि बढ्न सक्ने क्षमता प्रदान गर्छ.... .....विश्व अशान्त हुँदा आफ्नै देशभित्र राजनीतिक अस्थिरता हुनु राष्ट्रका लागि निकै महँगो साबित हुन सक्छ । लोकतन्त्रले कहिल्यै पूर्ण विकल्पको ग्यारेन्टी गर्दैन । लोकतन्त्रले हामीलाई सिक्ने, गल्ती सच्याउने र अझ राम्रो भविष्य निर्माण गर्ने अवसर दिन्छ । विश्व अझै परिवर्तनशील छ । भूराजनीतिक समीकरणहरू समय समयमा बदलिनेछन् । सरकारहरू आउनेछन्, जानेछन् । तर नेपाल बलियो तब मात्र हुनेछ, जब हाम्रो लोकतन्त्र बलियो हुनेछ; जब नागरिकको विवेक, संस्थाहरूको परिपक्वता र राष्ट्रिय हितप्रतिको प्रतिबद्धता कुनै पनि दल वा व्यक्तिको स्वार्थभन्दा माथि रहनेछ । इतिहासले हामीलाई केवल कसलाई जितायौँ भनेर मात्र मूल्याङ्कन गर्ने छैन । इतिहासले हेर्नेछ—कठिन समयमा हामीले राष्ट्रलाई दलभन्दा माथि राख्यौँ कि राखेनौँ, विभाजनभन्दा एकतालाई रोज्यौँ कि रोजेनौँ, क्षणिक राजनीतिक लाभभन्दा दीर्घकालीन राष्ट्रिय हितलाई प्राथमिकता दियौँ कि दिएनौँ । हामीले निर्माण गर्नुपर्ने नेपाल त्यही हो—जहाँ लोकतन्त्र केवल निर्वाचनमा सीमित नहोस्, बरु जिम्मेवारी, उत्तरदायित्व, दूरदृष्टि र राष्ट्रप्रतिको समर्पणको संस्कार बनोस् ।
