IMG-LOGO

जीवन र मृत्यु बीचको संवाद

 मंगल, सावन १२, २०८३  आर. एल. श्रमजीवी, प्रधान सम्पादक

जीवन र मृत्युको दूरी कति फरक हुन्छ ?     सायद एक मुठी सास । ढुक ढुक गर्ने धड्कन वा सायद सम्झना मात्रै । आज जनरल वार्डमा सरेको दोस्रो दिन हो । मुटुको शल्यक्रिया भएको छैटौँ दिन, अस्पतालको यो भर्नाको सातौँ दिन । शरीरमा चिरेका घाउहरू अझै ताजा छन् । छातीको प्रत्येक सासले शल्यक्रियाको कथा दोहो¥याइरहेको छ । दुखाइ कम गर्ने औषधिले पीडा त केही समयका लागि हराइदिन्छ, तर मस्तिष्कले चेतनालाई एउटा अनौठो यात्रामा पठाइदिन्छ । घण्टा–घण्टामा नर्सहरू आउँछन् । उनीहरूको अनुहारमा थकान भन्दा करुणा बढी देखिन्छ । कसैले रक्तचाप नाप्छन, कसैले तापक्रम हेर्छन, कसैले मुस्कुराएर सोध्छन, “आज कस्तो छ ?” म पनि मुस्कुराएर जवाफ दिन्छु, “ठीकै छु ।” तर भित्रभित्रै म अस्पतालको यो कोठामा जीवन र मृत्यु बीचको संवाद गरेको उनीहरूलाई थाह हुँदैन ।     बिहान अस्पतालले कर्नफ्लेक्स, बटर लगाएको पाउरोटी र दूध ल्याइदिन्छ । दिउँसो मेनु हातमा थमाइन्छ । म सधैँजसो एसियन खाना रोज्छु । नभए चिकेन राइस दही र केरा । औषधि खाना पछि आउँछ, औषधी खाएपछि केहीबेरमै निद्रा आउँछ । बिम्झदा तप्प तप्प खसिरहेका स्लाइन पानीका थोपाहरू । अलार्म थिचेर बोलाउछु नर्सहरुलाई । मलाई घण्टा घण्टामा शौचालय जानु पर्छ । फेरि निद्राले मेरो शरीरलाई थाम्छ, तर मनलाई भने थाम्ने होइन । आँखा बन्द हुनासाथ म हजारौँ हजार माइल टाढा पुगिसकेको हुन्छु । म फेरि लुइँटेल गाउँको त्यो माटोमा दौडिरहेको हुन्छु । चप्पल नभएका खुट्टाले त्यो माटोलाई सजिलै चिन्दछन् । हावाले पनि राजन भनेर बोलाउँछ । रूखहरू सोध्छन कहाँ गएको थिइस् । डाँडामाथिको घाम अझै उस्तै नै छ । खोका खोल्साको पानी अझै उस्तै धमिलो र चिसो छ । अनि एकएक गर्दै गाउँ छिमेकका अनुहारहरू देखा पर्न थाल्छन् । रमेश सानुभाई मछिन्द्र उर्मिला दिदीहरु । आजाद स्कुलका प्रह्लाद आचार्य विनोद आचार्य भीमसेन आचार्य जनार्दन र कञ्चनहरु । गोपीकृष्ण सिटौला सुनिल यादव र मीरा सिटौला सरस्वती चिमोरिया र गोविन्द थपलियाहरु ।     नारन रमेश लुइँटेल र पुष्प न्यौपानेहरु त स्कुल जाँदा आउँदाका साथीहरु । सम्झना आउने यी पात्रहरू कसैले केही बोल्दैन । उनीहरू केवल मुस्कुराउँछन् । म पनि मुस्कुराउँछु । समयले छुट्याएका साथीहरू स्मृतिले फेरि एउटै बेन्चमा बसाइदिन्छ ।     यत्तिकैमा सम्झनाले मेरो हात समाएर दुलालथोक पु¥याउँछ । पाँचखाल दुलालथोक मेरो मामाघरको आँगन, सर्वमङ्गला स्कुल, भरत पुरी दाइ, माइला दाइ, आइतसिँह दाइ, नन्दु दुलाल, गणेशलाल श्रेष्ठ, सुदर्शन सत्याल, सरस्वती, कल्पना, सुशीला, रुकु चौलागाई, हरिकेशव लगायतका साथीहरु । आदरणीय गुरुहरु... ओहो कति धेरै अनुहारहरू! मानिसहरू समयसँग टाढा जान्छन्, तर स्मृतिबाट कहिल्यै हराउँदैनन् भन्ने कुरा अस्पतालको बेडमा आएर मात्रै धेरै बुझिँदो रहेछ । त्यसपछि मेरो पहिलो बनेपाको शान्तिरत्न शाक्यको घरमा बास र बनेपाका सम्झनाहरु आउँछ । एसएलसी पछि काठमाडौं आउँछ अनि मेरो  संघर्षका दिन आउँछन् । विद्यार्थी जीवन पार्टी संगठनको जिम्मेवारी सँगै मित्र एग्रोभेट पसल प्रेम र विवाह आउँछ । सम्झदा सम्झँदै मन भारी वर्षाको पूर्वानुमान जस्तो भएर आउँछ । सफलताका केही उज्याला दिन र असफलताका लामा रातहरू पनि सँगै आउँछन्  । लाग्छ, मेरो सम्पूर्ण जीवन एउटा चलचित्र बनेर मेरै अगाडि चलिरहेको छ ।     त्यसपछि मनभित्र एउटा प्रश्न जन्मिन्छ — आखिर मानिस किन यति धेरै दौडिरहेको छ ? सुखको खोजीमा ? वा धनको खोजीमा ? कि आफूलाई प्रमाणित गर्ने असफल प्रयासमा ?     जन्मँदा खाली हात आएको मानिस अन्तिम यात्रामा पनि खाली हात नै जान्छ भन्ने कुरा सबैलाई थाहा छ । तर पनि ऊ जीवनभर दौडदा दौडदै किन यति धेरै थाक्छ मान्छे ?     सायद मानिस धन खोजिरहेको हुँदैन । ऊ त मनको शान्ति खोजिरहेको हुन्छ । तर विडम्बना के छ भने, शान्ति खोज्ने क्रममा ऊ आफ्नै शान्ति हराइदिन्छ र अशान्त बन्छ । म अस्पतालको शैयामा पल्टिएर सोच्छु—खुशी आखिर कहाँ छ ? के त्यो बैंक खातामा रहेको रकममा छ ? कि आलिसान भवनमा छ ?     विदेशको स्थायी बसोबास (पी आर र ग्रीन कार्ड) मा छ ? कि बाल्यकालमा साथीहरूसँग नाङ्गो खुट्टा दौडिएको त्यो धैरेनी डाँडामा अझै कतै बाँकी छ की ?     हामी विगतलाई बिर्सन सक्दैनौँ । भविष्यलाई नियन्त्रण गर्न पनि सक्दैनौँ । वर्तमानलाई बाँच्न जान्दैनौँ । यही त हाम्रो सबैभन्दा ठूलो दुःख हो । हामी प्रेम खोज्छौँ, तर अहंकार छोड्दैनौँ । हामी सम्बन्ध चाहन्छौँ, तर समय दिँदैनौँ ।     हामी सम्मान माग्छौँ, तर अरूलाई सम्मान गर्न बिर्सन्छौँ । हामी खुशी किन्न खोज्छौँ, जबकि खुशी कहिल्यै बिक्रीमा हुँदैन । मलाई लाग्छ, मृत्युको नजिक पुगेपछि मानिसलाई नयाँ दर्शन प्राप्त मात्रै हुँदैन ऊ बेग्लै पृथक मानव बन्छ ।  जीवनभर बेवास्ता गरेका साधारण सत्यहरू स्पष्ट देख्न थाल्छ । अहिले मेरो मुटुमा नयाँ भल्भ छन् । तर यो नयाँ मुटु होइन, नयाँ दृष्टि जन्मिँदैछ म भित्र । मलाई लाग्दैछ —जीवन धेरै बाँच्नु ठूलो कुरा होइन; जीवनलाई प्रेमपूर्वक, कृतज्ञतापूर्वक र इमानदारीका साथ बाँच्नु नै सबैभन्दा ठूलो उपलब्धि हो । सायद यही नै जीवनको रहस्य हो र सायद... यही रहस्य बुझ्नकै लागि मानिस जीवनभर यात्रामा रहन्छ  । सेन्ट थोमस हस्पिटल जनरल वार्ड  लन्डन बेलायत

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्