गायत्री मन्त्र वैदिक साहित्यको सर्वोच्च मन्त्र हो । ऋग्वेदको ३.६२.१० मा यो मन्त्र उल्लेख गरिएको छ, ॐ भूर्भुवः स्वः। तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि । धियो यो नः प्रचोदयात् ।।। यो मन्त्रले सवितृ (सूर्य) देवतालाई सम्बोधन गर्दै बौद्धिक ज्योति र ज्ञानको प्रार्थना गर्दछ । परम्परागत रूपमा यसको जपले आध्यात्मिक उन्नति, शारीरिक स्वास्थ्य, मानसिक शान्ति र समृद्धि प्रदान गर्ने विश्वास गरिन्छ । आधुनिक विज्ञानले पनि यसलाई जैविक प्रक्रिया ठानेको छ जसले शान्ति अर्थात् गाबा (Gamma–Aminobutyric Acid) हर्मोन, डोपामिन, सेरोटोनिन जस्ता हर्मोन र स्नायु संदेशवाहक पदार्थको उत्पादन बढाउँछ । वेद–पुराणका विभिन्न श्लोकहरूले गायत्री जपको महिमा गाएका छन् । ऋग्वेद ३.६२.१० का अनुसारः ॐ भूर्भुवः स्वः । तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि। धियो यो नः प्रचोदयात् ।। यो मन्त्रको अर्थ होः “हे सृष्टिकर्ता सवितृ ! तिम्रो त्यो श्रेष्ठ तेजलाई हामी ध्यान गर्छौं । तिमीले हाम्रो बुद्धिलाई सन्मार्गमा प्रेरित गर ।” यो चौबिस अक्षरको मन्त्रले शरीरका चौबिस सूक्ष्म ग्रन्थिहरू (चक्रहरू) लाई प्रभावित पार्छ भन्ने योगशास्त्रको कथन छ । वेद–पुराणले गायत्री मन्त्रलाई सबै वेदहरूको सार मानेका छन् । छान्दोग्य परिशिष्टमा भनिएको छ ः “सर्वेषाँ वेदानाँ गुह्योपनिषत्सार भूताँ ततो गायत्री जपेत् ।” अर्थात्, सबै वेद र उपनिषद्को गुह्य सार गायत्री नै हो, त्यसैले यसको जप गर्नु । अर्को श्लोकमा भनिएको छ ः सर्ववेद सारभूता गायत्र्यास्तु समर्चना । ब्रह्मादयोऽपि संध्यायाँ ताँ ध्यायन्ति जपन्ति च ।। यो श्लोकले ब्रह्मा आदि देवताहरूले पनि संध्याकालमा गायत्रीको ध्यान र जप गर्ने बताउँछ । अग्नि पुराणमा स्पष्ट रूपमा यसका फाइदाको बारेमा उल्लेख गरिएको छ ः ऐहिकामुष्मिकं सर्वं गायत्री जपतो भवेत् । अर्थात्, गायत्री जप गर्ने व्यक्तिलाई इहलोक र परलोक दुवैमा सबै सुख प्राप्त हुन्छ । मनुस्मृतिमा पनि भनिएको छ ः योऽधीतेऽहन्यहन्येताँ त्रीणिवर्षाण्यतन्द्रितः । सब्रह्म परमभ्येति वायुभूतः स्वमूर्तिमान् ।। अर्थात्, तीन वर्ष अनवरत जप गरेमा ब्रह्म प्राप्ति हुन्छ र शरीर वायुजस्तै शुद्ध हुन्छ । हाम्रा शास्त्रहरूले गायत्री जपले शारीरिक स्वास्थ्य, मानसिक शान्ति, बुद्धि वृद्धि र पाप नाश गर्ने बारेमा बताएकाछन् । जपले हृदयका ग्रन्थिहरू भेदन गर्दछ, दुःख नाश गर्दछ र शौच, शान्ति तथा विवेक प्रदान गर्दछ भन्ने परम्परा छ । आधुनिक अनुसन्धानले यिनै परम्परागत लाभहरूलाई वैज्ञानिक आधार दिएका छन् । भारतको प्रसिद्ध अनुसन्धान संस्था, अखिल भारतीय आयुर्विज्ञान संस्थान, AIIMS मा डा. आर. जयसुन्दर र के. राजशेखरको चुम्बकीय अनुनाद स्पेक्ट्रोस्कोपी (MRS) अध्ययनमा पच्चीस जना स्वस्थ व्यक्तिमा गायत्री जपपछि मस्तिष्कको अग्र भाग (prefrontal cortex) मा शान्ति अर्थात् गाबा हर्मोनको स्तर उल्लेखनीय बढेको पाइयो। गाबाले मस्तिष्कलाई शान्त पार्छ, चिन्ता र उदासी घटाउँछ । अनुसन्धान अनुसार जपले गाबालाई चालीस प्रतिशतसम्म बढाउँछ । यो वैज्ञानिक नतिजा वैदिक श्लोक “शौचं शान्तिर्विवेकश्च...” सँग मेल खान्छ जसले गायत्री उपासकलाई शान्ति र विवेक दिने बताउँछ । विद्युत् मस्तिष्क ग्राफ र कार्यात्मक चुम्बकीय अनुनाद इमेजिङ अध्ययनहरूले पनि यही पुष्टि गर्छन् । यस्तै अर्को एउटा अनुसन्धान छ सुसन थोमसको । सन् २०१६ को उनको अध्ययनमा गायत्री मन्त्र सुन्ने क्रममा दायाँ इनसुला र अग्र मस्तिष्क भागको सक्रियता बढेको र अल्फा तरङ्ग शक्ति वृद्धि भएको पाइयो । अल्फा तरङ्गले विश्राम र मानसिक स्पष्टता दिन्छ । त्यस्तै सन् २०२५ मा खजुरिया र सिंहको बाह्र सय विद्यार्थीमा गरिएको ठूलो अध्ययनमा छ हप्ता दैनिक बीस मिनेट जपपछि अल्फा र थीटा तरङ्ग बाह्रदेखि बीस प्रतिशत बढेको पाइयो । गामा तरङ्ग पनि बढ्यो जसले एकाग्रता सुधार्छ । यी मस्तिष्क तरङ्ग परिवर्तनले परानुकूल स्नायु प्रणाली सक्रिय पार्छ जसले भ्यागस स्नायु मार्फत हाइपोथ्यालामसलाई उत्तेजित गर्दछ । हाइपोथ्यालामसले हर्मोन नियन्त्रण गर्दछ । यसरी जपले “आरामदायी सतर्कता” अवस्था सिर्जना गर्दछ जुन अग्नि पुराणको “ऐहिकामुष्मिकं सर्वं” लाभसँग तुलना गर्न सकिन्छ । अहा हर्मोन उत्पादनमा गायत्री जपको प्रभाव अत्यन्त रोचक रहेछ । गाबा बढ्नुका साथै सेरोटोनिन र डोपामिनको उत्पादन पनि वृद्धि हुन्छ । सेरोटोनिनले मनोभाव नियन्त्रण गर्दछ भने डोपामिनले प्रेरणा दिन्छ । समीक्षात्मक अध्ययन अनुसार मन्त्र जपले तनाव हर्मोन (कोर्टिसोल) घटाउँछ र अक्सिटोसिन, एन्डोर्फिन बढाउँछ । यो वैज्ञानिक तथ्यले हाम्रा वैदीक शास्त्रमा भएका प्रमाणलाई पुष्टि गरेको छ । हाम्रा शास्त्रहरूले बताए अनुसार गायत्री जपले दुःख छिन्न–भिन्न पार्ने र शरीरलाई तन्दुरुस्त बनाउँछ । देवी र अन्यले सन् २०२० को अध्ययनमा छयालीस जना स्ट्रोकपछिका रोगीमा गायत्री जपले सात दिनमा जीवन गुणस्तर स्कोरमा पच्चीस प्रतिशत सुधार भएको बताएका छन् । आत्मसेवा, गतिशीलता, मनोभाव र ऊर्जा सबै क्षेत्रमा सुधार भएको पाइयो । शारीरिक स्वास्थ्यमा पनि प्रभाव उल्लेखनीय भएको भेटियो । युवा खेलाडीहरूमा तीन महिना जपले ध्यान, स्मृति र चिन्तामा सुधार ल्याएको पाइयो । समजदार र अन्यको सन् २०२० को अनुसन्धान अनुसार स्थानिक र शाब्दिक स्मृति अठारदेखि बत्तीस प्रतिशत बढेको पाइयो । विद्यालयका बालबालिकामा गरिएको नारायणन र वेणुगोपालनको सन् २०१८ को सोह्र हप्ताको अध्ययनमा निरन्तर ध्यान र स्मृति स्कोरमा वृद्धि भएको पुष्टि भयो । यी परिवर्तनले प्रतिरक्षा प्रणाली, हृदय–श्वासप्रश्वास सन्तुलन र सूजन घटाउने प्रभावलाई समर्थन गर्दछन् । हाम्रा शास्त्रहरूले यस्तै लाभलाई “तेज वृद्धि” र “स्वास्थ्य” को रूपमा वर्णन गरेका छन् । यस्तै गरेर अर्को एक अनुसन्धान मानसिक स्वास्थ्यमा गायत्री जपले क्रान्तिकारी प्रभाव बारेको प्रमाणित भएको छ । प्रधन र डर्लेको सन् २०१२ को यादृच्छिक नियन्त्रित परीक्षणमा चिकित्सा विद्यार्थीहरूमा अङ्क–अक्षर प्रतिस्थापन कार्यमा गायत्री जप समूहले २१.७७ प्रतिशत सुधार देखायो । शर्मा र साथीहरूको सन् २०२५ को विद्युत् मस्तिष्क ग्राफ–घटना सम्बन्धि सम्भावना अध्ययनमा दीर्घकालीन अभ्यासकर्ताहरूमा नकारात्मक भावनात्मक उत्तेजनाप्रति प्रतिक्रिया कम भयो। मनोवैज्ञानिक पूँजी (आशा, लचकता) पच्चीस प्रतिशत बढ्यो । त्रिपाठी र विश्वकर्माको सन् २०२४ को अध्ययन अनुसार परीक्षा तयारी गर्नेहरूमा तनाव घट्यो र कल्याण बढ्यो । यी प्रभावहरूले मस्तिष्कको पूर्वनिर्धारित मोड सञ्जाललाई शान्त पार्छन् । मनुस्मृतिको श्लोकले तीन वर्ष जपले ब्रह्म प्राप्ति गर्ने बताएजस्तै वैज्ञानिक रूपमा पनि भावनात्मक नियन्त्रण र संज्ञानात्मक क्षमतामा सुधार देखिन्छ । अमित रे को सन् २०२५ को समीक्षाअनुसार सन् २००८ देखि २०२५ का अध्ययनहरूले संज्ञानात्मक प्रदर्शन, भावनात्मक नियन्त्रण, तनाव न्यूनीकरणमा निरन्तर लाभ देखाएका छन् । शर्मा र सोनीको सन् २०२५ को व्यवस्थित समीक्षामा सत्र अध्ययन (आठ सय एकचालीस सहभागी) बाट मानसिक स्वास्थ्यमा मध्यम प्रमाण पाइयो । निष्कर्षमा, के भन्न सकियो भने, गायत्री मन्त्रको जपले वेद–पुराणका श्लोकहरूमा वर्णित शान्ति, स्वास्थ्य र बुद्धि वृद्धिलाई वैज्ञानिक रूपमा प्रमाणित गरेको छ । गाबा नाम गरेको हर्मोन बढाएर मन शान्त बनाउँछ, डोपामिन–सेरोटोनिन बढाएर शरीर तन्दुरुस्त राख्छ र भ्यागस–हाइपोथ्यालामस मार्ग सक्रिय पार्छ । दैनिक दशदेखि बीस मिनेट जपले ठूलो परिवर्तन ल्याउन सक्छ । “ॐ भूर्भुवः स्वः...” को जपले परम्परा र विज्ञानको मेल गर्दै आधुनिक तनाव विरुद्ध शक्तिशाली उपकरण प्रदान गर्दछ । उपलब्ध अनुसन्धान र प्रमाणले गायत्री मन्त्रलाई स्वास्थ्य प्रवद्र्धनको वैज्ञानिक तथा आध्यात्मिक आधार बनाएको छ । नियमित अभ्यासले व्यक्तिगत र सामाजिक स्वास्थ्य दुवै उन्नत बनाउँछ । आजदेखि दिनमा कम्तिमा १० मिनेट हरेक विद्यार्थीले गायत्री मन्त्र जप्ने पानी बसालौँ । वैज्ञानिक अनुसन्धानले बाहिरै फाइदा बताएको छ । यो आलेखमा यिनै वैज्ञानिक अनुसन्धानहरूको छोटो चर्चा गरिएको हो । सबैको कल्याण होस् सबैको जय होस् ।
