IMG-LOGO

मौद्रिक नीति, सहकारी क्षेत्र र राष्ट्रिय सहकारी नियमन प्राधिकरणः समन्वयबाट वित्तीय स्थायित्वतर्फ

 मंगल, असार ३०, २०८३  सुदर्शन घिमिरे

            नेपालको अर्थतन्त्रमा सहकारी क्षेत्रले वित्तीय समावेशीकरण, बचत परिचालन, स्वरोजगार प्रवद्र्धन तथा स्थानीय आर्थिक गतिविधिलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्यालउँदै आएको छ । नेपालको संविधानले सहकारीलाई अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा स्वीकार गरेको छ भने सहकारी ऐन, २०७४ ले सदस्य–केन्द्रित, स्वशासित, पारदर्शी र उत्तरदायी सहकारी प्रणालीको परिकल्पना गरेको छ । यसैबीच नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले वित्तीय स्थायित्व, उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह, वित्तीय पहुँच विस्तार, डिजिटल वित्तीय सेवाको प्रवद्र्धन तथा जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । यद्यपि सहकारी संस्था नेपाल राष्ट्र बैंकबाट प्रत्यक्ष नियमन हुने संस्था होइनन्, मौद्रिक नीतिबाट सिर्जना हुने ब्याजदर, तरलता, कर्जा प्रवाह र समग्र आर्थिक वातावरणको प्रभाव सहकारी क्षेत्रमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पर्ने गर्दछ ।             हालको मौद्रिक नीतिले वित्तीय प्रणालीको स्थायित्व कायम राख्दै जिम्मेवार कर्जा विस्तार, डिजिटल भुक्तानी प्रणालीको विकास र जोखिम व्यवस्थापनलाई थप सुदृढ गर्ने दिशामा जोड दिएको छ । यी प्राथमिकताहरू सहकारी क्षेत्रका लागि पनि उत्तिकै सान्दर्भिक छन् । सहकारी संस्थाले बचत–कर्जाको सन्तुलन, पर्याप्त तरलता, सदस्यको विश्वास, कर्जा गुणस्तर, आन्तरिक नियन्त्रण तथा पारदर्शी वित्तीय प्रतिवेदनलाई उच्च प्राथमिकता दिन सके मात्र दिगो विकास सम्भव हुन्छ । त्यसका लागि PEARLS वित्तीय विश्लेषण प्रणाली, नियमित आन्तरिक लेखापरीक्षण तथा जोखिम–आधारित व्यवस्थापनलाई संस्थागत अभ्यासका रूपमा विकास गर्न आवश्यक छ ।             नेपालमा लाखौं नागरिक सहकारीमार्फत बचत, कर्जा तथा अन्य वित्तीय सेवासँग आबद्ध छन् । यही कारण सहकारी क्षेत्रको स्थायित्व केवल एउटा संस्थाको विषय नभई समग्र वित्तीय प्रणालीप्रतिको जनविश्वाससँग जोडिएको विषय हो । सहकारी क्षेत्रमा देखिएका केही समस्याले प्रभावकारी नियमन, समयमै अनुगमन र सुशासनको आवश्यकता अझ स्पष्ट बनाएको छ । यही सन्दर्भमा राष्ट्रिय सहकारी नियामक प्राधिकरण (NCRA) को भूमिका अत्यन्त महत्वपूर्ण देखिन्छ । प्राधिकरणको उद्देश्य बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थामा प्रभावकारी नियमन, जोखिम–आधारित सुपरिवेक्षण, सुशासनको प्रवद्र्धन तथा बचतकर्ताको हित संरक्षण गर्नु हो । हाल NCRA ले नियामकीय मापदण्ड, दर्ता तथा अभिलेखीकरण व्यवस्था, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, वित्तीय प्रतिवेदनको समीक्षा तथा कानुनी अनुपालनलाई प्राथमिकताका रूपमा अघि बढाइरहेको छ ।             यद्यपि नियामक निकायको सक्रियता मात्र पर्याप्त हुँदैन । सहकारी संस्थाका सञ्चालक समिति, व्यवस्थापन, लेखा समिति र कर्मचारीले पनि वित्तीय अनुशासन, आन्तरिक नियन्त्रण, सदस्य शिक्षा, डिजिटल सेवा विस्तार तथा पारदर्शी निर्णय प्रक्रियालाई संस्थागत संस्कृतिका रूपमा विकास गर्न आवश्यक छ । नियमन र स्वअनुशासन एकअर्काका पूरक हुन् ।             भविष्यमा सहकारी क्षेत्रलाई अझ सुदृढ बनाउन केही विषयमा विशेष ध्यान दिन आवश्यक देखिन्छ । पहिलो, जोखिम–आधारित अनुगमनलाई सबै बचत तथा ऋण सहकारीमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ । दोस्रो, PEARLS लगायत वित्तीय सूचकको नियमित विश्लेषण र सार्वजनिक प्रतिवेदन प्रणालीलाई संस्थागत बनाउनुपर्छ । तेस्रो, डिजिटल वित्तीय सेवा, साइबर सुरक्षा र सदस्यको वित्तीय साक्षरतामा लगानी बढाउनुपर्छ । चौथो, नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी नियामक प्राधिकरण, सहकारी विभाग, प्रदेश तथा स्थानीय नियामक निकायबीच सूचना आदान–प्रदान र संस्थागत समन्वयलाई थप प्रभावकारी बनाउन आवश्यक छ ।             अन्ततः नेपालको मौद्रिक नीति, सहकारीसम्बन्धी कानुनी व्यवस्था र राष्ट्रिय सहकारी नियमक प्राधिकरणबीचको प्रभावकारी समन्वयले मात्र सहकारी क्षेत्रलाई थप सुरक्षित, पारदर्शी, उत्तरदायी र विश्वसनीय बनाउन सक्छ । सहकारीको दीर्घकालीन सफलता नियमन मात्र होइन, सुशासन, वित्तीय अनुशासन, सदस्य–केन्द्रित सेवा, प्रविधिमैत्री व्यवस्थापन र उत्तरदायी नेतृत्वमा निर्भर रहनेछ । यही मार्गबाट सहकारी क्षेत्रले राष्ट्रिय अर्थतन्त्रको दिगो विकासमा अझ प्रभावकारी योगदान पुर्यावउने विश्वास गर्न सकिन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्