IMG-LOGO

वायेजर १ को ‘अग्निको पर्खाल’, बहुब्रह्माण्ड र हाम्रा शास्त्रहरू एक अन्तर सम्बन्ध

 मंगल, असार १६, २०८३  आचार्यश्री माधवशरण

                मानव अन्तरिक्ष अन्वेषणको इतिहासमा नासाको वायेजर १ यान एक अमिट उपलब्धि बन्न पुगेको छ । सन् १९७७ मा प्रक्षेपण गरिएको यो यानले सौर्यमण्डलको सीमाना जहाँ ‘अग्निको पर्खाल’ (Wall of Fire) छ, त्यसलाई पार गर्दै अन्तरिक्षीय माध्यममा प्रवेश गरेको छ भनेर व्यक्त गरेका छन् । यो वास्तवमा हेलियोपज (Heliopause) हो, जहाँ सूर्यको सौर्य वायु अन्तरिक्षीय प्लाज्मासँग टकराउँछ । यहाँ प्लाज्माको तापक्रम ३०,००० देखि ५०,००० केल्भिन पुग्छ । तर अत्यधिक तातो भए पनि प्लाज्माको घनत्व अत्यन्त न्यून भएकाले यानलाई कुनै थर्मल क्षति भएको छैन । वायेजर १ ले सन् २०१२ मा र वायेजर २ ले सन् २०१८ मा यो सीमा पार गरेका थिए । यी यानहरूले अझै पृथ्वीमा डाटा पठाइरहेका छन् र सूर्यको हेलियोस्फियरले पृथ्वीलाई ब्रह्माण्डीय विकिरणबाट कसरी बचाउँछ भन्ने जानकारी दिइरहेका छन् । यो वैज्ञानिक खोजले प्राचीन सनातनी वैदिक दर्शनसँग गहिरो समानता राखेको छ ।                 वेद र पुराणहरूले ब्रह्माण्डलाई केवल एउटा होइन, अनन्त ब्रह्माण्डहरूको समूह (बहुब्रह्माण्ड) को रूपमा वर्णन गर्छन् । आधुनिक विज्ञानको बहुब्रह्माण्ड सिद्धान्त (Multiverse Theory) ले पनि एउटा ब्रह्माण्ड मात्र नभई असंख्य ब्रह्माण्डहरूको सम्भावना प्रस्तुत गर्दछ । string theory, inflation theory र quantum mechanics का विभिन्न व्याख्याहरूले समानान्तर तहको ब्रह्माण्डको कल्पना गर्छन् । यसमा प्रत्येक ब्रह्माण्डका आफ्नै भौतिक नियम, इतिहास र विकासक्रम हुन सक्छन् । हाम्रा ग्रन्थहरूमा यो अवधारणा हजारौं वर्ष पहिलेदेखि नै छ । भागवत पुराणले भगवान विष्णुले नारदलाई देखाएको दृश्य वर्णन गर्दछ जहाँ असंख्य ब्रह्माण्डहरू देखिन्छन्, प्रत्येकमा आफ्नै ब्रह्मा, विष्णु र शिव छन् । ब्रह्माण्ड पुराण र विष्णु पुराणले ’ब्रह्माण्ड’ लाई एउटा अण्डाको रूपमा चित्रण गर्छन् जुन अनन्त समुद्रमा तैरिरहेका धेरै अण्डाहरूमध्ये एउटा हो । यो आधुनिक बहुब्रह्माण्डको मोडेलसँग मिल्दोजुल्दो छ, जहाँ ब्रह्माण्डहरू बुलबुले जस्तै निरन्तर उत्पन्न हुन्छन् ।                 आउनुहोस् हाम्रा शास्त्रहरुले के भनेका छन् तुलना गरौँ । ऋग्वेदको नासदीय सूक्तले सृष्टिको रहस्यलाई अत्यन्त दार्शनिक रूपमा प्रस्तुत गर्दछ । यो बहुब्रह्माण्ड सिद्धान्तको आधारशिला जस्तै छ, नासदासीन्नो सदासीत्तदानीं नासीद्रजो नो व्योमा परो यत् । किमावरीवः कुह कस्य शर्मन्नम्भः किमासीद्गहनं गभीरम् ।। (ऋग्वेद १०.१२९.१) “त्यस बेला न सत् थियो, न असत्; न आकाश थियो, न त्यसभन्दा माथि केही । केले ढाकेको थियो ? कहाँ ? कसको आश्रयमा ? के पानी थियो, गहिरो गहिरो ?” यो सूक्तले सृष्टि पूर्वको अवस्थालाई वर्णन गर्दछ जसलाई ’बिग ब्याङ’ पूर्वको एकत्वसँग तुलना गर्न सकिन्छ । तर यसले एउटा मात्र ब्रह्माण्डको कुरा गर्दैन । सूक्तको अर्को श्लोकमा भनिएको छः तम आसीत्तमसा गूकक्हमग्रेऽप्रकेतं सलिलं सर्वमा इदम् ।                 तुच्छ्येनाभ्वपिहितं यदासीत्तपसस् तन्महिनाजायतैकम् ।। (ऋग्वेद १०.१२९.३) अर्थात “अन्धकारले अन्धकारलाई ढाकेको थियो, सबै जलमय थियो । शून्यताले ढाकिएको त्यसबाट तप (ऊर्जा) को महिमाद्वारा एउटा उत्पन्न भयो ।” यहाँ ’तप’ ले उच्च ऊर्जाको अवस्थालाई जनाउँछ, जुन हेलियोपजको प्लाज्मा जस्तै हो । यो ’एकम्’ लाई बहुब्रह्माण्डको स्रोत ब्रह्म वा परम तत्वको रूपमा व्याख्या गर्न सकिन्छ । सूक्तको अन्तिम श्लोकले ज्ञानको सीमालाई स्वीकार गर्दछः इयं विसृष्टिर्यत आबभूव यदि वा दधे यदि वा न । यो अस्याध्यक्षः परमे व्योमन्त्सो अङ्ग वेद यदि वा न वेद ।। “यो सृष्टि कहाँबाट आयो ? सृष्टिकर्ताले जान्छ कि जान्दैन ?” यो प्रश्नले बहुब्रह्माण्डको अनन्तता र हाम्रो सीमित समझलाई झल्काउँछ । वेदमा अग्नितत्वलाई ब्रह्माण्डीय ऊर्जाको केन्द्र बनाइएको छ । ऋग्वेदको प्रथम मन्त्र नै यसको उदाहरण हो ः अग्निमीकके पुरोहितं यज्ञस्य देवमृत्विजम् । होतारं रत्नधातमम् ।। (ऋग्वेद १.१.१) अग्नि यहाँ भौतिक आगो मात्र होइन, ब्रह्माण्डीय ऊर्जा, रूपान्तरण र सृष्टिको प्रेरक शक्ति हो । वायेजरले भेटेको ’अग्निको पर्खाल’ वैदिक अग्निको आधुनिक अभिव्यक्ति हो । पुरुष सूक्तले पनि यसलाई जोड्छः पुरुष एवेदं सर्वं यद्भूतं यच्च भव्यम् ।                 उतामृतत्वस्येशानो यदन्नेनातिरोहति ।। (ऋग्वेद १०.९०.१) पुरुष (ब्रह्म) बाट नै सबै सृष्टि उत्पन्न भएको छ । मुखबाट अग्नि र इन्द्रको उत्पत्ति भएको वर्णनले अग्निलाई बहुस्तरीय ब्रह्माण्डको ऊर्जा स्रोत बनाउँछ । बहुब्रह्माण्ड सिद्धान्तको विस्तृत विश्लेषण गर्दा वेद–पुराणले सक्रिय र बहुनिर्माणको कुरा गर्छन् । ब्रह्माको एक दिन (कल्प) मा सृष्टि हुन्छ, रातमा प्रलय । यो आधुनिक चक्र कस्मोलोजी ठ्याक्कै सँग मेल खान्छ । प्रत्येक ब्रह्माण्डमा आफ्नै समय र नियम छन् । भागवत पुराण (२.५.३८–३९) ले असंख्य ब्रह्माण्डहरूको कुरा गर्दछ । यो क्वान्टम मेकानिक्सको बहुप्रमाण्डसँग तुलनीय छ, जहाँ हरेक क्वान्टम प्रविधिबाट नयाँ ब्रह्माण्ड उत्पन्न गर्दछ ।                 वायेजर १ को यात्रा हेलियोस्फियरको ‘रक्षा कवच’ पार गर्ने हो । वेदमा वरुण वा इन्द्रले ब्रह्माण्डीय व्यवस्था कायम राख्छन् भनिन्छ । यसरी वैज्ञानिक खोज र वैदिक दर्शनबीच पूरकता देखिन्छ । आधुनिक physics ले multiverse लाई mathematical necessity ठान्छ तर प्रमाण अझै अपूर्ण छ । वेदले भने epistemological humility देखाउँछ—हामी पूर्ण जान्दैनौं । यो समानताले हामीलाई सिकाउँछ कि विज्ञान र आध्यात्मिकता विरोधी होइनन् । वायेजरले ब्रह्माण्डको विशालता देखाएजस्तै नासदीय सूक्तले हाम्रो सानोपनको सम्झना गराउँछ । बहुब्रह्माण्ड सिद्धान्तले हाम्रो एउटा ब्रह्माण्डलाई मात्र एउटा बिन्दु बनाउँछ, जसलाई पुराणहरूले ब्रह्माण्ड समुद्रको एउटा बुलबुला भनेका छन् । अन्तमा, वायेजर १ को ’अग्निको पर्खाल’ केवल वैज्ञानिक घटना होइन, यो प्राचीन ऋषिहरूको ब्रह्माण्डीय जिज्ञासाको निरन्तरता हो । वेदका ऋचाहरूले हामीलाई प्रेरित गर्छन्—अन्वेषण जारी राखौं, ज्ञानको खोजी गरौं र प्राचीन ज्ञानलाई आधुनिकतासँग जोडौं । यसले मानवतालाई अर्को आयाम दिन्छ ः ब्रह्माण्ड अनन्त छ, हाम्रो जिज्ञासा पनि अनन्त हुनुपर्छ । जय नेपाल, जय सनातन । सबैको जय होस् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्