मे १३, बिहान ७ः१० अस्पतालको झ्यालबाहिर बिहानको उज्यालो विस्तारै फैलिँदै थियो । मेरो शैयातिर हिँड्दै आइपुगिन् हिड्मा नामकी नर्स । उनी साउथ ईन्डियन रहिछिन् । उनको अनुहारमा पेशागत शान्ति थियो, तर स्वरमा मानवीय कोमलता । उनले मेरो कालो सुटकेसतर्फ औँला देखाउँदै भनिन्, ‘तपाईंका लुगाफाटा र चप्पल यसमा राख्नुस् । मोबाइल यो झोलामा राख्नुहोस्, अनि तपाईंका औषधिहरू म यो अलग ब्यागमा राखिदिन्छु ।’ केहीबेर रोकिएर उनले फेरि भनिन्, ‘तपाईंलाई लिन स्टाफ व्हिलचेयर लिएर आउँदै हुनुहुन्छ । अस्पतालको यो गाउन बाहेक अरू सबै भित्री कपडा फुकाल्नुपर्छ ।’ मैले बिस्तारै भनेँ, ‘पर्दा लगाइदिनुस्, म तयार हुन्छु ।’ पर्दा तानियो । त्यो सानो पर्दाभित्र म एकाएक संसारबाट अलग भएको जस्तो महसुस गरिरहेको थिएँ । मैले कपडा फुकाल्ने त्यो सामान्य प्रक्रिया पनि त्यो बिहान असाधारण लागिरहेको थियो । वृद्ध अवस्थाका आमा–बुवाको अनुहार आँखाअघि आयो । लुइँटेलगाउँको घर सम्झिएँ । नेपालमा बुवा आमाले सायद त्यही बेला भात खाइसक्नुभएको होला, र म भने हजारौँ माइल टाढा जीवन र मृत्युको सिमानामा उभिएको थिएँ । उहाँहरुलाई के थाहा कि छोराको यो अप्रेसन । आँखा रसाए । हतारहतार अन्तिम कपडा पनि फुकालेर कालो सुटकेसमा राखेँ । पर्दाबाहिरबाट नर्सको आवाज आयो, ‘तपाईं तयार हुनुभयो ?’ ‘म तयार भएँ,’ मैले उत्तर दिएँ । उनले मेरो मोबाइल, कालो सुटकेस र औषधिको झोला उठाइन् । त्यत्तिकैमा मलाई लिन व्हिलचेयर लिएर एक स्टाफ आइपुगे । सँगै अघिल्लो रात भेटिएका डाक्टर पनि थिए । उनको हातमा एउटा आइप्याड थियो । ‘पछिल्लो आठ घण्टामा पानी वा केही खानुभएको त छैन ?’ ‘छैन ।’ ‘ठीक छ,’ उनले मुस्कुराउँदै भने, ‘हामी आज तपाईंको अपरेशन गर्दैछौँ । करिब पाँच घण्टा लाग्नेछ । यहाँ सहमति दिन तपाईंको हस्ताक्षर गरिदिनुहोस् ।’ मैले आइप्याड समाएँ । मेरो सही नेपाली अक्षरमा कोरिदिएँ । तर त्यो हस्ताक्षर मलाई सहमति पत्रमा होइन, आफ्नै मृत्युको सम्भावित सूचनामा गरिएको हस्ताक्षरजस्तै लागिरहेको थियो । जीवनमा केही हस्ताक्षरहरू यस्ता हुन्छन्, जसले केवल कागजलाई होइन, मानिसको सम्पूर्ण अस्तित्वलाई नै काँपाइदिन्छन् । मलाई व्हिलचेयरमा बस्न इशारा गरियो । त्यो आधुनिक कुर्सीमा बस्नेबित्तिकै स्क्रिनमा अंक देखा परे— ५९.२० किलो । मानौँ मेसिनले मेरो तौल मात्र होइन, मेरा बाँकी डर, अधुरा सपना र बाँकी जीवनका दिनहरू पनि नापिरहेको थियो । अफ्रिकन चियर पर्सनले व्हिलचेयर बिस्तारै अगाडि बढायो । अस्पतालका लामो र उज्याला करिडोरहरू पार गर्दै, म अपरेशन थिएटरतर्फ गइरहेको थिएँ । त्यो यात्रा केही मिटरको मात्र थियो, तर मेरो लागि त्यो जन्म र पुनर्जन्मको बीचको दूरी जस्तै लाग्दै थियो । अपरेशन कक्षमा पुग्ने बित्तिकै मैले डाक्टर घोषलाई देखें । उहाँ मेरो रोगमाथि लामो समयदेखि अनुसन्धान गरिरहनुभएको वरिष्ठ कार्डियाक सर्जन हुनुहुन्थ्यो । उहाँसँगै अरू पाँच जना चिकित्सकहरूको टोली तयारी अवस्थामा थिए । डाक्टर घोषले मेरो आँखामा हेरेर सोध्नुभयो, "Are you ready? मैले हल्का मुस्कुराउँदै उत्तर दिएँ, "Yes, I am ready. I am fine." सायद मेरो अनुहारमा डरको छायाँ नदेखेर उनीहरू केही छक्क परेका थिए । यस्तो ठूलो शल्यक्रिया हुन लाग्दा पनि म अस्वाभाविक रूपमा शान्त थिएँ । तर मानिसको सबैभन्दा ठूलो डर कहिलेकाहीँ अनुहारमा देखिँदैन, त्यो त मुटुको सबैभन्दा गोप्य कोठामा लुकेको हुन्छ । कस्लाई के थाहा कि मेरो छातीभित्र के मडारिरहेको छ ? मलाई अपरेशन टेबलमा सुताइयो । टाउकोमाथि विशाल मनिटर थियो । सेता बत्तीहरू तेज प्रकाशमा बलिरहेका थिए । कोठाभरि औजारहरूको धात्विक चमक थियो । केही क्षणपछि अपरेशन थिएटरको ढोका स्वचालित रूपमा बन्द भयो । त्यो ढोका बन्द हुँदा मलाई लाग्यो—बाहिरको संसारसँग मेरो अन्तिम सम्बन्ध पनि अहिले बन्द भयो । डाक्टर घोषका सहयोगीहरूले मेरा दुवै खुट्टामा पाइपहरू जडान गरिरहेका थिए । पाखुरामा सुईहरू घोचिँदै थिए । तर त्यो बेला मलाई शरीरको पीडाभन्दा मनको यात्राले बढी छोइरहेको थियो । एकपछि अर्काे गर्दै प्रियजनहरूको अनुहार स्मृतिमा आउँदै थिए । कोही बाल्यकालका साथी, कोही परिवार, कोही अति प्रिय कोही बिशिष्ट, कोहीसँगका अधुरा संगत र संवाद । म ती सबैसँग मनमनै गहिरो कुरा गरिरहेको थिएँ । कतिपयलाई धन्यवाद दिँदै थिएँ । कतिपयसँग क्षमा माग्दै थिएँ । कतिपयलाई अन्तिम बिदाई गरिरहेको थिएँ । त्यसैबेला मलाई एक अनौठो अनुभूति भयो । म आफूलाई महाभारतको कुरुक्षेत्रमा भीष्म पितामहझैँ शरशैयामा पल्टिएको अनुभव गरिरहेको थिएँ । डाक्टरहरूले घोचिरहेका सुईहरू अर्जुन, भीम, युधिष्ठिर, नकुल र सहदेवले हानेका बाणहरू जस्ता लागिरहेका थिए । तर एउटा फरक थियो । भीष्मसँग इच्छामृत्युको वरदान थियो । मसँग भने बाँच्ने इच्छा थियो । मनमनै मैले आफैसँग भनेँ—‘झै होइन । अझै केही बाटाहरू हिँड्न बाँकी छन् । अझै केही अनुहारहरू फेरि एकपटक देख्न बाँकी छन् । नदेखेको अनुहार मैले हेर्न पनि बाँच्नुपर्छ । अझै कयौं शब्दहरू लेख्न बाँकी छन् ।’ त्यहीँ सोच्दासोच्दै चेतना धमिलो हुँदै गयो । बत्तीहरू टाढिँदै गए । आवाजहरू पानीमुनिबाट आएजस्तै सुनिन थाले जस्तै भयो । अन्ततः म बेहोस भएँ । त्यसपछि चिकित्सकहरूको टोलीले मेरो छाती चिरेर मेरो थाकेको मुटुबाट दुईवटा बिरामी एओर्टिक भल्भ हटाइए, र तिनको ठाउँमा धातुका नयाँ भल्भहरू जडान गरिदिए । म त्यतिबेला गहिरो अन्धकारमा थिएँ । तर त्यो अन्धकार मृत्युको थिएन । त्यो त अर्को बिहानको उज्यालोतर्फ जाने लामो सुरुङ थियो, जहाँबाट फर्केर आउनेहरू जीवनलाई पहिलेभन्दा धेरै गहिराइले माया गर्न सिक्छन् । यो जीवन र जगतलाई सामान्य मानिसले भन्दा बेग्लै परिभाषामा अर्थाउँछन् । लण्डन, बेलायत
