मानवजातिले सदैव आकाशतिर हेरेर प्रश्न गर्दै आएको छ – हाम्रो सौर्यमण्डलभन्दा माथि के छ ? ताराहरूबीचको अनन्त दूरीमा कस्ता संसारहरू होलान् ? के त्यहाँ जीवन छ ? के हामी त्यहाँ पुग्न सक्छौं ? यो प्रश्न वैज्ञानिक अनुसन्धानको केन्द्रबिन्दु बनेको छ भने प्राचीन हाम्रा धर्मदर्शनले यसलाई ‘लोक’ र ‘बहुब्रह्माण्ड’ को अवधारणाबाट व्याख्या गरेका छन् । यो आलेखमा वैज्ञानिक प्रगति र प्राचीन ज्ञानको समन्वय गर्दै यो विषयलाई चर्चा गरिनेछ । सामान्य विज्ञानसम्बन्धी ज्ञान भएको पाठकहरुलाई यो थाहा हुनुपर्छ कि सौर्यमण्डलको सीमाना हेलियोस्फियर (heliosphere) हो, जसलाई सूर्यको सौर्य वायुले बनाएको ‘बबल’ मानिन्छ । यसभन्दा बाहिर अन्तरतारकीय (interstellar) अन्तरिक्ष सुरु हुन्छ । हालसम्मका वैज्ञानिक उपलब्धिहरू अनुसार, भोयजर १ (Voyager 1) (२०१२ मा) र भोयजर २ (Voyager 2) (२०१८ मा) ले हेलियोपज (heliopause) पार गरेर अन्तरतारकीय अन्तरिक्षमा प्रवेश गरेका छन् । यी यानहरू १९७७ मा प्रक्षेपण गरिएका थिए र अहिले पनि डाटा पठाइरहेका छन् । Voyager 1 सूर्यबाट करिब २४ अर्ब किलोमिटरभन्दा टाढा छ । पायोनियर १० र ११ ले नयाँ क्षितिजको अर्थात् प्लुटो र कुपर क्षेत्र (Pluto and Kuiper Belt) को अध्ययन गरेर अघि बढिरहेको पनि अन्तरतारकीय यात्रामा छन् । यी यानहरूले हामीलाई सौर्यमण्डलको किनाराको जानकारी दिएका छन् तर तारासम्म पुग्न अझै हजारौं वर्ष लाग्नेछ । प्रकाशको गतिमा पनि निकटतम तारा प्रोक्सीमा सेन्चुरी (Proxima Centauri) जुन पृथ्वीबाट ४.२ प्रकाश वर्ष टाढा छ अर्थात् त्यहाँ पुग्न प्रकाशलाई ४ वर्ष लाग्छ, तर हाम्रा यानहरूको गति त्यसको मात्र ०.००६% जति छ । त्यहाँ पुग्नको लागि प्रकाशको गतिमा दौडने यान बनाउँदा पनि चार वर्षभन्दा बढी समय लाग्छ । त्यसैले सजिलै अनुमान गर्न सकिन्छ कि अन्तरतारकीय यात्राको चुनौतीहरू ठूलो छन् । ठूलो दूरी, ऊर्जा अभाव, विकिरण, र मानव शरीरको दीर्घकालीन प्रभाव आदिले गर्दा यस्ता अन्तर तारकीय गतिविधिहरूको अध्ययन गर्न निकै चुनौतीपूर्ण छ । तर वैज्ञानिकहरूले विभिन्न उपायहरू खोजिरहेका छन् । ब्रेकथ्रु स्टारशोट (Breakthrough Starshot) परियोजनाले लेजर प्रोपल्सन प्रयोग गरेर ग्राम–तौलका न्यानोप्रोब (wafer–scale spacecraft) लाई प्रकाशको २०% गतिमा पठाउने योजना बनाएको छ, जसले रक्सीमा सेन्चुरीबाट केही वर्षमै डाटा पठाउन सक्छ । नासा (NASA) को फिलिप लोबिन (Philip Lubin) को डाइरेक्टेड इनर्जी प्रोपल्सन प्रोजेक्ट ड्रागोनफ्लाई जस्ता अवधारणाहरू यस दिशामा छन् । Exoplanets अर्थात् बाहिरी ग्रहहरूको खोजीले यो क्षेत्रलाई क्रान्तिकारी बनाएको छ । केप्लर, टेस जेम्स वेब स्पेस टेलिस्कोप (James Webb Space Telescope-JWST) ले हजारौं सौर्य मण्डलभन्दा बाहिरका (extrasolar planets) ग्रहहरू अर्थात् खगोलीय पिण्डहरू पत्ता लगाएका छन् । बासस्थानको लागि योग्य ठहरिएका त्यस्ता खगोलीय पिण्डहरू अर्थात् गोल्डीलक्स क्षेत्रमा (Goldilocks Zone) मा रहेका पृथ्वीजस्ता ग्रहहरू जस्तै प्रोक्सीमा सेन्चुरी बि, ट्रापिस्ट (Proxima Centauri b, TRAPPIST–1) प्रणालीका ग्रहहरू अध्ययन भइरहेका छन् । JWST ले यी ग्रहहरूको वातावरणमा पानी, अक्सिजन वा जैविक अणुहरूको खोजी गरिरहेको छ । युरोपियन स्पेस एडमिनिस्ट्रेसनको खोज अभियान र नासाको रोमन स्पेस टेलिसकोले पृथ्वी जस्तै ग्रहहरू खोज्नेछन् । अन्य अनुसन्धानहरूमा फ्युजन प्रपल्सन एन्टी म्याटर ड्राइभ र अल्कुबियर ड्राइभ वर्महोल (fusion propulsion, antimatter drive, wormhole, Alcubierre drive) जस्ता सैद्धान्तिक दृष्टिकोणहरू समावेश छन् । नाशाले गर्ने आगामी कार्यक्रमहरू जस्तै मानव सम्मिलित अन्तर तारकीय यात्रा (manned Interstellar travel) जस्ता नवीन खोज अनुसन्धानहरू अझै शताब्दीऔं टाढा छन्, तर पनि कृत्रिम मानव टेलिस्कोप जडित अनुसन्धान गृहहरूले अन्तरतारकीय क्षेत्रमा के भइरहेको छ भन्ने कुराको जानकारी हामीलाई दिइरहेका छन् । यस्ता आधुनिक खोज र अनुसन्धानहरूको बारेमा हाम्रा वेद र पुराणको दृष्टिमा के छ त यो विषयमा पनि एउटा सानो चर्चा गरौं । बहु–लोक र बहु–ब्रह्माण्डको बारेमा हाम्रा सनातन धर्मदर्शनहरूले र ऋषि–मुनिहरूले अन्तरिक्षलाई ‘अनन्त’ मानेका छन् । वेद र पुराणहरूमा १४ लोकको अवधारणा छ – ७ ऊध्र्व लोक (भू, भुव, स्व, मह, जन, तप, सत्य) र ७ अधोलोक (अतल, वितल, सुतल आदि) । यी लोकहरूलाई विभिन्न प्राणी देवी देवता सुर र असुर जीव र जीवात्माहरूको बासस्थानको बारेमा व्याख्या गरिएको छ । ऋग्वेदको नासदीय सूक्त (१०.१२९) ले ब्रह्माण्डको उत्पत्तिबारे गहिरो प्रश्न उठाउँछ । नासदासीन्नो सदासीत्तदानीं नासीद्रजो नो व्योमा परो यत् । किमावरीवः कुह कस्य शर्मन्नम्भः किमासीद्गहनं गभीरम् ।। (त्यस बेला न असत् थियो, न सत् । न आकाश थियो, न त्यसभन्दा माथि केही । केले ढाकेको थियो ? कहाँ ? गहिरो जल के थियो ?) यो सूक्तले वैज्ञानिक जिज्ञासा जस्तै सृष्टिको रहस्यमयता देखाउँछ । यस्तै गरेर श्रीमद्भागवत पुराण ले बहु–ब्रह्माण्डको स्पष्ट वर्णन गर्छ । भगवान् विष्णुले नारदलाई देखाउनुभए अनुसार “अणु–अणुमा ब्रह्माण्डहरू छन्, जसरी धुलोका कणहरू आकाशमा उडिरहेका हुन्छन् ।” भागवत महापुराणका अनुसार प्रत्येक ब्रह्माण्डमा आफ्नै ब्रह्मा, विष्णु, शिव हुन्छन् र अनन्त ब्रह्माण्डहरू एकसाथ अस्तित्वमा छन् । यसरी भागवत महापुराणले अनगिन्ती ब्रह्माण्डहरूको कुरा गरेको छ । यही विषयलाई नासाले बहुब्रह्माण्ड अर्थात् मल्टी युनिभर्स भनेर भनेको छ । हाम्रा प्राचीन धर्मशास्त्रहरू मा यसरी उल्लेख गरिएको बहुब्रह्माण्डको व्याख्यालाई अहिलेको आधुनिक विज्ञानले मल्टीभर्सको सिद्धान्त दिएर ठ्याक्कै मिलाउन खोजेको छ । यहाँहरूलाई थाहा नै छ, वेदहरूमा नौवटा ग्रहको उल्लेख छ र विभिन्न लोकहरूमा बास गर्ने जीवहरूको वर्णन छ । पुराणहरूले स्वर्गलोकलाई देवताहरूको संसार, महरलोकलाई ऋषिहरूको, सत्यलोकलाई ब्रह्माको उच्चतम बासस्थानको रूपमा चित्रण गर्छन् । यी उदाहरणहरू आधुनिक विज्ञान र वैज्ञानिकहरुले भनेको अन्तरतारकीय संसारको ठ्याक्कै मिल्दोजुल्दो व्याख्या हो । आधुनिक विज्ञान र वैज्ञानिक अनुसन्धानले विभिन्न यन्त्र र संयन्त्रहरूको माध्यमबाट अन्तरिक्षको भौतिक अध्ययन गरिरहेका छन् भने वेद–पुराणले ज्ञान र चेतनाको माध्यमबाट बहुब्रह्माण्ड र कल्प को कुरा गर्छन् । दुवैले ब्रह्माण्डलाई अनन्त, रहस्यमय र जीवनमय मान्छन् । जसरी भोयगर (Voyager) ले अन्तरतारकीय अवस्थितिको डाटाहरू नासालाई पठाएर बहुब्रह्माण्डीय अवस्थाहरूको जानकारी दिएको छ, त्यसरी नै हाम्रा वेद र पुराणहरूले बहुब्रह्माण्ड र कालको अवधारणालाई वेदका रिचा र पुराणका कथा एवं संस्कृतका श्लोकहरुले ‘अनन्त ब्रह्माण्डहरू’ को कल्पना गर्छन् । अब भविष्यमा ब्रेकथ्रु स्टारसट (Breakthrough Starshot) जस्ता परियोजनाहरूले प्रोक्सिमा बि (Proxima b) मा जीवनको संकेत पत्ता लगाए कमसेकम पूर्वीय दर्शनमा अभ्यस्त भएकाहरूलाई कुनै अचम्म लाग्ने छैन । किनभने हाम्रा वेद पुराण दर्शनहरूले यो विषयमा हजारौं वर्ष पहिले नै व्याख्या गरिसकेका छन् जुन कुरा हामीले हरेक दिन सुन्दै र पढ्दै आएका छौं । सक्छन् । त्यसैगरी, क्वान्टम मेकानिक्स र स्ट्रिङ थेओरी (quantum mechanics र string theory) ले समानान्तर ब्रह्माण्डको (parallel universe) कुरा गर्दा बैदिक बहुब्रह्माण्ड (multiverse) सँग जोडिन्छ । हाम्रा पूर्वजहरूले ध्यान र ज्ञानबाट ‘अन्य लोक’ को अनुभव गरेका थिए भने हामी प्रविधिको माध्यमबाट । दुवै बाटोले सत्यतर्फ लैजान्छन् । सौर्यमण्डलभन्दा माथिको संसार विशाल छ – वैज्ञानिकले विभिन्न यन्त्र र संयन्त्रहरू पठाउँछन्, ऋषिले श्लोकहरूबाट मार्ग देखाउँछन् । यो यात्रा जारी छ, र हामी यसको हिस्सा बन्न सक्छौं । आजको यो आलेखले जिज्ञासालाई प्रेरित गरोस् र दुवै दृष्टिकोणको सम्मान गर्दै अघि बढ्न प्रेरित गरोस् । वैदिक सनातन धरोहरको जय होस् । सबैको जय होस् ।
