मानिसको जीवनमा केही यस्ता कोठाहरू हुन्छन् जहाँ प्रवेश गरेपछि ऊ पहिलेको जस्तो मान्छे रहँदैन । फर्किएर आउँछ भने पनि उसको आँखामा संसार हेर्ने दृष्टि फेरिएको हुन्छ । मेरा लागि त्यस्तो कोठाको नाम थियो (आई.सी.यू. कक्ष । जीवनको लामो यात्रामा मैले दुई पटक आई.सी.यू.को ढोका भित्रबाट जिन्दगी देख्ने अवसर पाएँ । एकपटक पोर्चुगलको शान्तामार्ता अस्पतालमा, जहाँ मृत्युले मलाई लगभग आफ्नो नामको सूचीमा लेखिसकेको थियो । दोस्रोपटक लन्डनको सेन्ट थोमस हस्पिटलमा, जहाँ मैले मृत्युसँग लामो र गहिरो संवाद गरेको थिएँ । पहिलो आई.सी.यू. जहाँबाट फर्किने आशा कसैले पनि गर्न सक्दैन थियो भन्छन् डाक्टरहरु । म मृत्युलाई हकार्दै बाहिर निस्किएको थिएँ । सन् २०२० को मे महिना थियो । संसार कोरोना महामारीको भयले थरथर काँपिरहेको थियो । सडकहरू सुनसान थिए । मानिसहरू एकअर्काको अनुहारभन्दा बढी मृत्युका समाचारहरू अखबारमा पढिरहेका थिए । रेडियोमा सुनिरहेका थिए । टेलिभिजनमा हेरिरहेका थिए । त्यही समय मेरो शरीर पनि चुपचाप भित्रभित्रै हार्दै थियो । सुरुमा मलाई सामान्य खोकी लागेको जस्तो लाग्यो । त्यसपछि सास फेर्न गाह्रो हुन थाल्यो । खुट्टा र हात डमडम्ती सुन्निए । केही पाइला हिँड्दा पनि थकाइले शरीर गल्न थाल्यो । खानाको स्वाद हरायो । रातहरू लामा र असह्य हुन थाले । तर मलाई लागेको थियो – यो पनि ठीक भइहाल्छ कि । मानिस आफ्नो मृत्युको संकेतलाई अन्तिम क्षणसम्म सामान्य बनाउन खोज्दो रहेछ । एक दिन अवस्था यति बिग्रियो कि म एक्लै अस्पताल पुगेँ । कोरोना काल थियो । सबैजना डराइरहेका थिए । म पनि डराएको थिएँ । तर त्यो डरभन्दा ठूलो थियो – सास फेर्न नसक्ने पीडा । मलाई पीसीआर परीक्षण गरिएको सम्झना छ । त्यसपछि संसार अन्धकार भयो । समय रोकियो । स्मृतिहरू बन्द भए । र म छ दिनका लागि जीवनबाट अनुपस्थित भएँ भेन्टिलेटरमा । पछि थाहा पाएँ म भेन्टिलेटरमा थिएँ । जब होस खुल्यो, मलाई लाग्यो म कुनै अर्को ग्रहमा छु । शरीरभरि पाइपहरू थिए । घाँटी दुखिरहेको थियो । मुख सुकिरहेको थियो । बोल्न खोज्दा आवाज निस्कँदैनथ्यो । सेतो पोशाक लगाएका डाक्टरहरू मेरो वरिपरि उभिएका थिए । उनीहरूका अनुहारमा अचम्म र सन्तोष मिसिएको थियो । एक जना सिनियर डाक्टरले भने, ‘तिमी बाँच्यौ ।’ यति छोटो वाक्यले त्यति ठूलो अर्थ बोकेको मैले पहिलोपटक महसुस गरेको थिएँ । पछि उनले थपे, ‘हामीलाई तिमी बाँच्ने विश्वास थिएन । हामी तिमीलाई अस्पताल ल्याउने व्यक्ति को हो, तिम्रो परिवार कहाँ छ, तिमीलाई केही भयो भने कसलाई खबर गर्ने भन्नेबारे छलफल गरिरहेका थियौँ ।’ म सुन्दै थिएँ । मलाई आफ्नै कथा अरूको मुखबाट सुन्नुपरेको घटना थियो त्यो । त्यस क्षण मैले पहिलोपटक मृत्युको सास आफ्नो घाँटीमा महसुस गरेँ । म सोच्दै थिएँ–यति नजिक आइपुगेछु र मलाई थाहै भएन ? त्यो रात निदाउन सकिनँ । आई.सी.यू.को अँध्यारो सिलिङ्गतिर हेरेर म आफ्नै जीवन गन्न थालेँ । बालुवा । लुइँटेल गाउँ । अग्लेकोटको सर्वमंगला स्कूल । किशोरावस्था मै अखिलको राजनीति । भक्तपुर, ललितपुर र काठमाडौँका गल्लीहरू । विद्यार्थी राजनीति र आर.आर. कलेज । हुम्ला जुम्ला मुगु डोल्पा र कालिकोटको जिम्मेवारी र २०४७ बैशाख देखि साउन महिनासम्मको बसाई । मेरा संघर्षहरू । मित्रहरू । शत्रुहरू । अधुरा सपनाहरू । प्रेमहरू । विछोडहरू । सबै दृश्यहरू चलचित्रका फ्रेमझैँ आँखाभरि घुमिरहेका थिए । त्यो रात मैले बुझें –मृत्युको सबैभन्दा ठूलो शक्ति मानिसलाई मार्नु होइन, उसलाई आफ्नो सम्पूर्ण जीवन एकैपटक देखाउनु रहेछ । दोस्रो आई.सी.यू.ः सेन्ट थोमस हस्पिटल र मृत्युसँगको संवाद पाँच वर्ष बिते । म फेरि जीवनमा फर्किएको थिएँ तर मुटुले आफ्नो कथा पूरा गरेको थिएन । नौ महिनासम्म परीक्षण भयो । रिपोर्टहरू आए । सिटी स्क्यानहरू भए । एम. आर. आई भए । विशेषज्ञहरूको बैठक बस्यो । अन्ततः निर्णय भयो– मुटुका दुईवटा एओर्टिक भल्भ फेरिनैपर्छ । मे १२ मा म सेन्ट थोमस हस्पिटलमा भर्ना भएँ । भोलिपल्ट बिहान ७ः२० बजे मलाई अपरेशन थिएटरतर्फ लगियो । स्ट्रेचर बिस्तारै अगाडि बढिरहेको थियो । माथि सेतो छतको सिलिङ्ग थियो । वरिपरि बत्तीहरू थिए । ठूलो कम्प्युटर मनिटर थियो र छ जनाको अप्रेशन टोली मेरो शरीरमा खै के के गर्दै थिए ? मनभित्र एउटा अनौठो शान्ति । मलाई लागिरहेको थियो –यदि यही अन्तिम यात्रा हो भने पनि म तयार छु । पाँच घण्टापछि शल्यक्रिया सम्पन्न भयो । र फेरि म आई.सी.यू.को संसारमा पुगेँ । त्यो रात मृत्यु मेरो छेउमा आएर बसेको थियो । यसपटक ऊ डर लाग्दो थिएन । ऊ कुनै कालो राक्षस जस्तो थिएन । ऊ त धेरै पुरानो साथीझैँ मलाई लागिरहेको थियो । उसले सोध्यो, ‘राजन, डर लागिरहेको छ ?’ मैले भने, ‘पहिले जति छैन् र होइन पनि ।’ ऊ मुस्कुरायो । ‘किन ?’ मैले उत्तर दिएँ, ‘किनकि तिमीलाई मैले पहिले पनि भेटिसकेको छु ।’ मृत्यु केहीबेर मौन रह्यो । त्यसपछि भन्यो, ‘अझै केही बाँकी छ ?’ मैले आँखाहरू बन्द गरेँ । मेरा सन्तानका अनुहार देखिए । मेरो गाउँ देखियो । मेरो अधूरो लेखन देखियो । मसँग प्रेम गर्नेहरू देखिए । मलाई घृणा गर्नेहरू पनि देखिए । मैले बिस्तारै भने, ‘धेरै बाँकी छ नी ।’ मृत्युले फेरि सोध्यो, ‘सबै पूरा गर्न सक्छौ ?’ म हाँसेँ । ‘सक्दिनँ होला । मानिसले कहिल्यै सबै पूरा गर्न सक्दैन ।’ ऊ पनि हाँस्यो । ‘त्यसो भए किन यति धेरै चिन्ता गर्छौ ?’ त्यो प्रश्नले मलाई निस्तब्ध बनायो । साँचै –किन ? हामी किन यति धेरै रिसाउँछौँ ? किन यति धेरै घृणा बोक्छौँ ? किन यति धेरै प्रमाणित गर्न खोज्छौँ ? जब अन्त्यमा सबै कुरा यहीँ छोडेर जानुपर्छ भने । आई.सी.यू.को मनिटरले नियमित धड्कनको संगीत बजाइरहेको थियो । टिक ... टिक ... टिक ... मलाई त्यो घडीको आवाज लागेन । त्यो जीवनको आवाज थियो । प्रत्येक टिकटिकले भनिरहेको थियो – ‘तिमी अझै यहाँ छौ ।’ मृत्यु उठेर जान लाग्यो । मैले उसलाई सोधेँ, ‘फेरि कहिले भेट हुन्छ ?’ उसले पछाडि नफर्की उत्तर दियो, ‘म त सधैं तिम्रो छेउमै छु । तर अहिले तिम्रो पालो होइन रहेछ ।’ त्यसपछि ऊ अँध्यारोमा विलीन भयो । आज पनि सेन्ट थोमस हस्पिटलको बेड नम्बर ९ सम्झँदा मलाई लाग्छ, मैले त्यहाँ उपचार मात्र पाएको थिइनँ ।मैले जीवनको अर्को जन्म पाएको थिएँ । पोर्चुगलको शान्तामार्ता हस्पिटलको आई.सी.यू.ले मलाई मृत्युको शक्ति देखाएको थियो । सेन्ट थोमस हस्पिटलको आई.सी.यू.ले मृत्युको दर्शन सिकाएको थियो । पहिलोपटक मृत्युले मलाई समात्न खोजेको थियो । दोस्रोपटक उसले मेरो काँधमा हात राखेर भन्यो –‘जाऊ, अझै तिम्रो कथा सकिएको छैन ।’ र त्यस दिनदेखि प्रत्येक बिहान मेरो लागि सामान्य बिहान होइन । त्यो अतिरिक्त रूपमा प्राप्त गरिएको जीवनको अर्को दिन हो । उधारोमा पाएको अर्को सास र पुरै मुनाफाको यो जिन्दगी र मृत्युसँगको अधुरो संवादको अर्को अध्याय अरु दिन गरौँला । लण्डन, बेलायत
