IMG-LOGO

अबको अनेसास : प्राज्ञिक संस्था

 मंगल, असार २, २०८३  लालगोपाल सुवेदी

    सन् १९९० को विजया दशमीकै पावन अवसरमा आप्रवासका दिन बीजारोपण गरिएको साहित्यिक संस्थाको नाम हो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज । अनेसासका नामले नेपाली समुदायका माझ विश्वविख्यात बनेको यस संस्थाले पैंतिसौं हिउँद वसन्त पार गरिसकेको छ । आप्रवासमा यो नै सबैभन्दा बूढो, पुरानो, ख्यातिप्रप्त संस्थाका रूपमा चिरपरिचित छ । साहित्यकार होमनाथ सुवेदीको प्रमुख अगुवाइमा साहित्य र संस्कृति अनुरागीहरूको ऐक्यबद्ध हातेमालोबाट अङ्कुरित हुन सफल यस संस्थाको प्रारंभिक छविमा सांस्कृतिक रंगको झिल्मिलाहट समेत पाइन्छ ।     सुरुसुरुमा यो एउटा चौतारीजस्तै थियो ।शनिबार वा आइतबारको छुट्टीमा कुनै पार्कमा भेला भएका नेपालीहरूमध्ये कोही गीत गाउँथे; कोही मादल बजाउँथे, कोही नाच्थे भने कोही कोही कविता र चुट्किला सुनाएर श्रोताहरूको मनलाई आनन्दित बनाउँथे । समयक्रममा यो विशुद्ध साहित्यिक संस्थाको रूपमा चिरपरिचित हुन पुग्यो । अमेरिकी कानुनलाई आत्मसात गर्दै विधिवत रूपमै नेपाली भाषा साहित्यिको संवर्धन, प्रवर्धन गर्ने संस्थाको रूपमा दर्ज भयो । हरेक वर्ष आयव्यय विवरण राख्ने, ट्याक्स फायल गर्ने लगायत प्रशासनिक काम कार्यवाही हुँदै रहे । होमनाथ सुवेदीको मात्र नभएर परिवारकै समेत श्रम र पसिनाबाट यसले जीवन पाएको हो । सुरु सुरुमाा एउटा परिवारको मातहतमा रहेको संस्थाजस्तो देखिए पनि पछि हाम्रो अनेसास राम्रो अनेसासका रूपमा पुष्पित पल्लवित हुँदै गएको देखिन्छ ।     आज यसका गतिविधि प्रजातांत्रिक मूल्य र मान्यताबमोजिम संचालित छन् । यसको आफ्नै विधान छ । चुनाबी प्रकृयाद्वार पधाधिकारी चुनिन्छन् । तिनै पधाधिकारीहरूले साहित्यिक कृयाकलाप संचालन गर्ने गर्दछन् । अन्तरराष्ट्रिय साहित्य सम्मेलन भन्ने नाम दिई साहित्य सम्मेलनहरू हुने गर्दछन् । यसले नेपाली भाषामा लेखिएका कृतिहरूका बीचमा प्रतिष्पर्धा गराई हरेक दुई वर्षमा झण्डै बिस लाख बराबरको पुरस्कार प्रदान गर्ने गर्दछ । अमेरिकाका विभिन्न राज्य, युरोपेली मुलुकहरू, अस्ट्रेलियाका विभिन्न क्षेत्र, एशियाका विभिन्न देश हुँदै अफ्रिकामा समेत यसका शाखा विस्तार हुनु भनेको सानो उपलब्धि हुँदै होइन ।      नेपाली भाषा साहित्यको विश्वव्यापी विस्तारमा यसले ठूलो भूमिका खेल्न सक्छ । आप्रवासमा नेपाली भाषा साहित्यको संरक्षण, प्रवर्धन र विस्तार गर्न सक्ने यो भन्दा अर्को ठूलो संस्था छैन । अमेरिका, युरोप, अस्ट्रेलिया, जापान, कोरिया, कतार आदि मुलुकमा गई, श्रम र पसिना बगाई बचेको समय उपयोग गरेरै पनि स्रष्टाबाट मनग्य कृति प्रकाशन गरिएका छन् । स्तरीय कृतिहरू पनि प्रकाशित भएका छन् । सिकारु स्रष्टाकृत कृतिहरूको चाङ पनि ठूलै देखिन्छ । ती कृतिको यथोचित मूल्यांकन हुन सकेको देखिंदैन । अब अनेसासले तिनकों अभिलेखन र मूल्यांकन गर्न जरूरी भइसकेको छ ।      विद्वान्, क्षमतावान्, प्रतिभाशाली कतिपय सर्जक नेपथ्यमा छन् । तिनलाई अनेसासमा अटाउन जरूरी छ । आजसम्मका अनेसासका साहित्यिक गतिविधिहरूमा अत्यधिक पुनरावृत्ति भेटिन्छ । हरेक कार्यक्रममा तिनै तिनै व्यक्ति दोहोरिने, अनावश्यक संबोधन, अप्राङ्गिक टिप्पणी, भूमिका आदिका कारण कार्यक्रम भद्दा र लामा भएका कारण श्रोताहरूमा वितृष्णा बढ्दै गएको पाइन्छ । माध्यमिक कालका जस्ता श्रृङ्गारिक वा स्तुति र व्यक्तिपूजापरक रचनाहरूले पनि साहित्यिक ओज घटेको अनुभव हुन्छ । अब्बल सर्जक ओझेलमा पर्ने र सस्तामस्ता रचनालाई पनि व्यक्तिको अनुहारका आधारमा वाहवाही गर्ने प्रचलन झन् झन् मौलाउंदै गएको देखिन्छ । अबका कार्यक्रममा व्यापक सुधार हुन जरूरी छ ।     अनेसासका नामबाट छापिने कृतिको मापदण्ड निर्धारण गर्न जरूरी छ ।भाषा प्रशिक्षण, साहित्य प्रशिक्षण, प्रविधि प्रशिक्षण, पठन संस्कृति, अन्तरक्रिया लगायतका कार्यक्रमबाट सिर्जनामा निखारता ल्याउन सकिन्छ । अनेसास कविता वाचन गर्ने संस्था हो भन्ने धेरैको बुझाइ छ । यस्तो भाष्य चिर्नुपर्दछ । अनेसासले गर्नुपर्ने अर्को काम कृति अनुवाद हो । अनेसास संगठन विस्तार अर्कों महत्त्वपूर्ण कार्य हो । यिनै कुरालाई मनन गरी अनेसासलाई प्रवासको प्रज्ञा प्रतिष्ठान बनाउनु आजको आवश्यकता हो ।           (अमेरिका बोस्ट्न निवासी लालगोपाल सुवेदी अनेसास केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष हुन् । उनले निकट भविष्यमा हुन लागेको अनेसासको चुनाबमा अध्यक्षको उम्मेदवारी दिएका छन् ।)

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्