लाग्दो हो, उनलाई आफू नै अलेक्जेण्डर द ग्रेट हुँ भन्ने विश्वास छ । म नै सबथोक हुँ, म बिना केही हुँदैन, केही पनि चदैन, म यस्तो गरिदिन्छु, म उस्तो गरिदिन्छु भन्ने एक किसिमको आत्मविश्वास मात्र होइन, कहिलेकाहीँ आत्ममुग्धताको त्यो स्तर पनि देखिन्छ जहाँ ऐनाले पनि आफ्नै अनुहारको प्रशंसा गर्न थाल्छ । सायद त्यसो हुनु पनि स्वाभाविक होला । भदौ २३ र २४ को राजनीतिक उथलपुथलपछि हामीले सुधन गुरुङ जस्तो जेन्जी–को महा जेन्जी नेता पायौँ । कथित रूपमा रवि र बालेनबीचको पुल बने, समन्वयकर्ता बने, मिलापत्रका सूत्रधार बने । उनीले आफूलाई मपिकल सम्झिए । त्यसपछि त राजनीतिक रंगमञ्चमा उनको चाल पनि बदलियो । कहिले दुई खुट्टा अगाडि, कहिले दुई खुट्टा पछाडि । कालो टोपी, कालो चस्मा, र मस्तिष्कभरि थोरै नेपाली शब्दको चर्को कर्कस नमिल्ने रवाफ भित्र उनको आफ्नै आत्मविश्वास । गोरखाबाट माननीय, बालेन सरकारका गृहमन्त्री, र आफ्नै कल्पनामा शायद विश्वविजेता सिकन्दर जस्तैः हेर्दाहेर्दै देशमा कति कुरा भए । राजनीतिका पुराना स्तम्भहरू डग्मगाए । प्रचण्ड, ओली र देउवाको आजको अवस्था हेर्दा मलाई कुनै व्यक्तिगत खुसी होइन, एउटा युगको थकान देखिन्छ । ती नेताहरूले मेरो पुस्ताको आशा मात्र खाएनन्, आफ्नै पार्टी जगसमेत खिइदिए अर्थात दोश्रो र तेस्रो पुस्ताका नेताकार्यकर्ताको राजनीति नै देउवा ओली र प्रचण्डले धरापमा पारिदिए । परिणामस्वरूप, नेपाली जनताले यि रास्वपाका नयाँ अनुहारहरूलाई आशाको रूपमा हेर्नुपर्ने बाध्यता आयो । तर आशा र अहंकारको दूरी धेरै टाढा हुँदैन भन्ने कुरा इतिहासले बारम्बार सिकाएको छ । अलेक्जेण्डर द ग्रेट—एक नाम, जसले आधाभन्दा बढी संसार जितेको कथा बोकेको छ । बाल्यकालदेखि विश्वविजेताको सपना देख्ने त्यो युवक बत्तीस वर्षमै संसारको ठूलो भूभागमाथि आफ्नो झण्डा गाड्न सफल भयो । तर मृत्युशय्यामा उसले एउटा अनौठो इच्छा व्यक्त गर्याे—“म मरेपछि मेरा हात कफिनबाहिर खुला राखिदिनु, ताकि संसारले देखोस्, संसार जित्ने सिकन्दर पनि अन्ततः खाली हात गयो ।” इतिहासको त्यो वाक्यले मलाई सधैँ झस्काउँछ । जब कुनै नेता आफ्नै छायाँसँग प्रेम गर्न थाल्छ, जब पदलाई सेवा होइन शक्ति सम्झिन थाल्छ, तब सिकन्दरको खुला हात सम्झना आउँछ । यही कारण होला, सुधन गुरुङका गतिविधि देख्दा मेरो कलम आफैँ चल्न थाल्छ । गृहमन्त्री शब्द सुन्नासाथ मेरो मन इतिहासतिर दौडिन्छ । २००७ सालको मन्त्रीमण्डल सम्झन्छु, जहाँ बीपी कोइराला गृहमन्त्री थिए । त्यो पद केवल प्रशासनिक जिम्मेवारी थिएनस त्यो लोकतान्त्रिक चेतनाको प्रतीक थियो । त्यसपछि आएका गृहमन्त्रीहरूको अनुहार सम्झन्छु र कहिलेकाहीँ आफैँलाई लोप्पा खाएको महसुस हुन्छ । किन यस्तो हुन्छ ? सायद मेरो दोष हो । सायद मैले धेरै बीपी पढेँ । उनका विचार, उनका कृति, उनका सपना पढेँ । राजनीति भनेको सत्ता होइन, विचार हो भन्ने भ्रम बोकेँ । त्यसैले आजका नेताहरूलाई हेर्दा म यथार्थभन्दा बढी निराश हुन्छु । मलाई अझै याद छ, तत्कालीन गृहमन्त्री बामदेव गौतमले एक अन्तर्वार्तामा भनेका थिए—“गृहमन्त्री हुनु भनेको प्रधानमन्त्रीको सम्भावित उम्मेदवार हुनु हो ।” त्यो वाक्य त्यसबेला महत्वाकांक्षाको घोषणा थियो । तर समयले कस्तो खेल खेल्यो १ प्रधानमन्त्री बन्ने सपना देख्नेहरू इतिहासको फुटनोट बने । र आज, ओलीका शब्दमा पानी बोक्ने केटाहरू सत्ता र शक्ति प्रदर्शनको केन्द्रमा उभिएका छन् । राजनीतिको यही विडम्बना हो । इतिहास पढ्नेहरू स्मृतिमा हराउँछन्, इतिहास नपढ्नेहरू इतिहास बनाउने दाबी गर्छन् । तर अन्त्यमा, सिकन्दर होस् वा कुनै गृहमन्त्री, सबैको गन्तव्य एउटै हुन्छ—खाली हात । त्यसैले कहिलेकाहीँ लाग्छ, समस्या सुधन गुरुङमा मात्र छैन । समस्या मेरो आँखामा पनि छ, जसले अझै बीपी खोजिरहेछ, जहाँ समयले धेरै अगाडि बढिसकेको छ । लण्डन, बेलायत
