IMG-LOGO

डिभोर्स होइन अदालतमै मिलन

 मंगल, असार २, २०८३  डिसी नेपाल

    विवाद, तिक्तता र कानुनी लडाइँका लागि चिनिने दिल्लीको प्रसिद्ध ‘तीस हजारी अदालत’को परिसरमा हालै एउटा यस्तो भावनात्मक दृश्य देखियो, जसले त्यहाँ उपस्थित वकीलहरू, प्रहरी र आम सर्वसाधारण सबैको आँखा रसायो । विगत ६ वर्षदेखि वैवाहिक विवाद र सम्बन्धविच्छेदको गम्भीर मुद्दा लडिरहेका शिखा र सौरभ नामको एउटा जोडीले अदालतको ढोकामै पुराना सबै तितोपन भुलेर पुनः एकसाथ जीवन बिताउने निर्णय गरेका छन् ।     अदालतभित्र बहस चलिरहेकै बेला श्रीमती शिखाले डिभोर्सका कानुनी कागजातहरू च्यातेर फालिदिइन् र श्रीमान् सौरभलाई अङ्गालो हालेर भक्कानिएर रोएपछि यो घटना सामाजिक सञ्जालमा समेत निकै भाइरल भइरहेको छ । सौरभ र शिखाको विवाह सन् २०२० मा सामाजिक परम्परा अनुसार भएको थियो । तर, विवाहको केही महिनापछि नै उनीहरूबीच असमझदारी, दैनिक झगडा र खटपट सुरु भयो । विवाद बढ्दै जाँदा शिखाले श्रीमान् सौरभ र उनको परिवारविरुद्ध दाइजो उत्पीडनको मुद्दा दर्ता गराएकी थिइन् जसका कारण उनीहरू तीस हजारी अदालतको लामो र अँध्यारो कानुनी सुरुङमा फसे ।     पछिल्लो पाँच वर्षदेखि वकिलहरूको दाउपेच र कानुनी प्रक्रियाको चक्कर काट्दा–काट्दै शिखाका बुबाको भएको सबै जम्मा पूँजी र बचत सकिएको थियो । अदालती तनाव, छोरीको अनिश्चित भविष्य र गम्भीर आर्थिक सङ्कटका कारण शिखाका बुबालाई अचानक हर्ट अट्याक (हृदयघात) भयो । निजी अस्पतालमा उपचार गराउने पैसा नभएपछि शिखाले उनलाई एउटा सरकारी अस्पतालमा भर्ना गराएकी थिइन् ।     आफूविरुद्ध अदालतमा मुद्दा लडिरहेकी श्रीमतीका बुबा गम्भीर बिरामी परेको र आर्थिक अभाव झेलिरहेको कुरा सौरभले थाहा पाए । पुरानो सबै रिस र कानुनी विवादलाई एकातिर पन्छाउँदै सौरभ तत्काल अस्पताल पुगे र आफ्ना ससुरोलाई सरकारी अस्पतालबाट निकालेर गुरुग्रामको सर्वसुविधासम्पन्न ‘मेदान्ता मेडिसिटी’ अस्पतालमा भर्ना गराए ।     सौरभले आफ्नै खर्चमा बुबाको उत्कृष्ट उपचार गराएपछि उनी निको भएर सकुशल घर फर्किए । श्रीमान्को यो निष्कपट र मानवीय व्यवहारले शिखाको मनभित्र गहिरो पश्चाताप र हृदय परिवर्तन गराइदियो । उनले वर्षौँदेखि आफूले पालेको इख र रिस कति गलत थियो भन्ने कुरा महसुस गरिन् ।     बुबा निको भएर घर फर्किएको भोलिपल्ट नै तीस हजारी अदालतमा उनीहरूको डिभोर्स मुद्दाको अन्तिम सुनुवाइ तोकिएको थियो । अदालतमा दुवै पक्षका वकिलहरू कडा बहस गरिरहेका थिए । बहकै क्रममा न्यायाधीशले सौरभलाई सोधे, “के तिमी शिखालाई सम्बन्धविच्छेद दिन चाहन्छौ ?”     प्रश्न सुन्नासाथ सौरभले केही जवाफ दिनुअघि शिखातिर हेरेर एउटा फिक्का तर आत्मीय मुस्कान दिए । श्रीमान्को त्यो हेराइ र मुस्कानले शिखालाई रोक्न सकेन । उनले तत्कालै आफ्नो हातमा रहेको डिभोर्सको फाइल र कागजपत्रहरू बीचैबाट च्यातेर फालिदिइन् र दौडिएर सौरभको छातीमा टाँसिइन् । आफ्ना पुराना गल्तीप्रति पश्चाताप गर्दै शिखा सौरभलाई कसेर अङ्गालो हाली रोइरहँदा इजलासमा केही बेर पूर्ण सन्नाटा छायो । वकिलहरू र त्यहाँ उपस्थित मानिसहरू यो अभूतपूर्व दृश्य देखेर स्तब्ध र भावुक बने ।     हप्तौँदेखि कानुनको कडा बहस सुनिरहेका न्यायाधीशले पनि यस सुखद पुनर्मिलनलाई सहर्ष स्वीकार गर्दै मुद्दा खारेज गरिदिए । यसरी अदालतको कोठाबाट सुरु भएको एउटा तितो सम्बन्ध अन्ततः अदालतकै चौखटमा आएर एउटा सुखद र प्रेमिल पारिवारिक पुनर्मिलनमा परिणत भएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्