IMG-LOGO

अद्वितीय पुण्यभूमि मेरो नेपाल

 मंगल, जेठ २६, २०८३  आचार्यश्री माधवशरण

                नेपाल सम्बन्धी केही अनुसन्धानात्मक लेखहरू पढ्दै थिएँ । यसपटकको मंगलबार मेरो मनमा पुण्यभूमि नेपाललाई फेरि सम्झिन मन लाग्यो। प्रसंग सन् १९९२ को मे महिनामा काठमाडौंको मालिगाउँ घर निर्माणका क्रममा फेला परेको पुरातात्विक भग्नावशेषसँग सम्बन्धित छ । घर निर्माणका लागि जग खन्ने क्रममा कामदारहरूले एउटा मानव आकारको कडा वस्तु फेला पारे । नेपालमा अहिलेसम्म फेला परेको सबैभन्दा पुरानो मानव मूर्ति । यो उत्खननको खबरले नेपाललाई हेर्ने मेरो नजरियामा आमूल परिवर्तन भयो । इतिहासलाई मात्र होइन, प्राचीन भारतीय उपमहाद्वीपको सांस्कृतिक विस्तार र हिन्दू सभ्यताको प्रारम्भिक प्रभावलाई नयाँ दृष्टिकोणबाट हेर्न बाध्य बनायो । यो मूर्तिले प्रमाणित गर्दछ कि दोस्रो शताब्दी ईस्वीमै नेपाल मण्डलमा हिन्दू राजतन्त्र, उच्च कलात्मक परम्परा र संस्कृति फस्टाइसकेको रहेछ । पूर्ण मानव आकारको यो मूर्ति हल्का रङको बालुआ ढुंगाबाट कुँदिएको छ र कुशान कालीन शैलीमा रहेछ । यसमा उत्तर प्रदेश र बिहारका दोस्रो शताब्दीका मूर्तिहरूसँग ठ्याक्कै मिल्ने पोशाक, आभूषण र सजावट छन् । पूर्ण रूपमा हिन्दू कलाले सजिएको । कान, घाँटी, छाती, हात र कम्मरमा आभूषणले भरिपूर्ण, धोती र स्कार्फले शरीर ढाकेको । टाउकामा आधुनिक नेपाली टोपी जस्तै देखिने सिरपोश। प्राचीन भारतीय उपमहादेवको उत्कृष्ट कला कलात्मक शैली ।                 मूर्ति अड्याउने ढुङ्गामा ब्राह्मी लिपिमा संस्कृत भाषाको अभिलेख छ । दोस्रो शताब्दीमा नेपालमा संस्कृत भाषाको प्रचुर प्रयोग र बोलीचाली रहेछ भन्ने प्रमाणित गर्दछ । त्यहाँ लेखिएको रहेछ, “सम्वत् १०७ ग्रीष्म ७ दिवा ४ महाराजस्य जयवर्मनः” । अर्थात् “शक सम्वत् १०७ (ई. १८५) मा ग्रीष्म ऋतुको सातौं पक्षको चौथो दिन महाराज जयवर्माको” । यो नेपाल भूमिको पहिलो मिति खुलेको अभिलेख हो जसले राजा जयवर्मनको अस्तित्व प्रमाणित गर्दछ । “जयवर्मन” पूर्ण हिन्दू नाम हो । दोस्रो शताब्दीमै हिन्दी सम्राटहरूले नेपाल मण्डलमा शासन गरेका रहेछन् ।                 विद्वानहरू काशीनाथ तमोट र इयान अल्सोप द्वारा लिखित A Kushan–period Sculpture र तारा नाथ मिश्र द्वारा लिखित Dated Figure of King Jayavarma मा नेपाल मण्डलमा दोस्रो शताब्दीमै हिन्दु सम्राटहरूको शासनकाल रहेको बताएका छन् । उक्त पुस्तकहरूमा उनीहरूले मूर्तिको शैलीलाई मथुरा र कुषाण कला सँग जोडेका छन् ।                 नेपालमा फेला परेको यो पुरातात्विक प्रमाणले नेपालको वैदिक तथा पौराणिक परम्परासँग गहिरो सम्बन्ध रहेको देखाउँछ । वैदिक साहित्यमा हिमालय क्षेत्रलाई पवित्र भूमि मानिएको छ । अथर्ववेद परिशिष्टमा नेपाललाई ब्ल्याङ्केट निर्यात गर्ने क्षेत्रको रूपमा उल्लेख छ । स्कन्द पुराणको नेपाल महात्म्यले नेपालको हरेक पुण्यभूमि, नदी, पर्वत श्रृङ्खलालाई धार्मिक महत्वकासाथ वर्णन गरेको छ । यजुर्वेदमा राजाको दिव्य स्वरूपको चर्चा छः “राजा विश्वस्य भेषजो विश्वस्य भेषजो राजा ।” (राजा सम्पूर्ण जगतको औषधि हो, विश्वको रक्षक हो ।) यहाँ राजालाई राजालाई दिव्य प्रतिनिधिको रूपमा चित्रण गरेको छ । जयवर्मनको मूर्तिको मूर्त रूप देख्दा हाम्रा पुराणहरूमा वर्णित राजाको दिव्यरूपको झलक दिन्छ । विष्णु पुराणमा राजधर्म र कलात्मक अभिव्यक्तिको महत्व छः “प्रतिमा पूज्यते यत्र तत्र देवाः प्रतिष्ठिताः । राज्ञां प्रतिमा यत्र पूज्यते तत्र धर्मः प्रतिष्ठितः ।। अर्थात् जहाँ प्रतिमाको पूजा हुन्छ, त्यहाँ देवताहरू प्रतिष्ठित हुन्छन् । राजाहरूको प्रतिमा पूजा हुने ठाउँमा धर्म स्थापित हुन्छ । यो मूर्तिले यस्तै राजकीय प्रतिमा परम्परालाई प्रतिबिम्बित गर्दछ । जयवर्मनको मूर्तिमा हिन्दू सँग सम्बन्धित आभूषण र पहिरनहरूले यो परम्परालाई दोस्रो शताब्दीमै नेपालमा स्थापित भएको देखाउँछ । ऐतिहासिक महत्व यो खोजले नेपालको लिखित इतिहासलाई करिब ३०० वर्ष पछाडि धकेलेको छ । यसअघि विद्वानहरूले लिच्छवि काल (पाँचौं शताब्दी) बाट मात्र इतिहास सुरु भएको मान्थे । अब प्रमाणित भयो कि दोस्रो शताब्दीमै काठमाडौं उपत्यका एउटा विकसित राजधानी थियो जहाँ उच्च कलात्मक क्षमता थियो । वास्तविक राजाको मूर्ति फेला पर्नुले यजुर्वेद र पाणिनीय व्याकरणमा उल्लेखित कलात्मक परम्परा नेपालमा जीवित रहेछ भन्ने प्रमाणित भयो । यसले दक्षिण एसियाली इतिहासमा हिन्दू संस्कृतिको प्रारम्भिक विस्तार देखाउँछ । राजाको टाउकाको टोपी आधुनिक नेपाली टोपीसँग मिल्दोजुल्दो छ, जसले सांस्कृतिक निरन्तरता प्रमाणित गर्दछ ।  विद्वानहरूले यसको अध्ययन गरे । ९० को दशकमा भएको यो उत्खननले नेपालको भूमिमा अझ कति धेरै रहस्य लुकेको होला भन्ने कौतुलता जगाएको छ । नेपाली भूमिमा त धेरै रहस्यहरु लुकेका रहेछन् । यो नेपालको राष्ट्रिय गौरव हो । यो मूर्तिले हामीलाई इतिहासको गहिराइमा डुब्न प्रेरित गर्दछ । जसरी यो भूमिमुनि लुकेको थियो, त्यसैगरी नेपालको अझ पुरानो इतिहासका धेरै अध्यायहरू लुकेका हुन सक्छन् । पुरातत्वविद्, इतिहासकार र नागरिकले मिलेर यी रहस्य उजागर गर्नुपर्छ । हाम्रो सभ्यता कुनै मिथक होइन, यो त जीवन्त इतिहास हो । दोस्रो शताब्दीदेखि नै हिन्दू संस्कृति र नेपाली पहिचान गाँसिएका रहेछन् । यो भावी पुस्तालाई आफ्नो जडसँग जोड्ने पुल हो । सबैजना मिलौं र नेपाललाई सुन्दर शान्त विशाल वैदिक सनातन पुण्यभूमि फेरि बनाऔं । जय नेपाल जय वैदिक सनातन । सबैको जय होस् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्