राती ठीक ८ बजे एक जना डाक्टर मेरो बेडनजिक आए । उनी पाकिस्तानी मूलका जस्ता देखिन्थे । मुस्कुराउँदै उनले सोधे, “तपाईंलाई थाहा छ, भोलि तपाईंको कस्तो अपरेशन हुँदैछ ?” “थाहा छ,” मैले शान्त स्वरमा उत्तर दिएँ, “मुटुको भल्भ फेर्ने अपरेशन ।” “रक्तश्राव नियन्त्रण हुन नसक्नु, अप्रत्याशित जटिलता आउनु वा जीवन नै जोखिममा पर्नु,” उनले स्पष्ट पारे । “हामीले आवश्यक रगतको व्यवस्था गरिसकेका छौँ । अपरेशन लामो हुनेछ र ठूलो टोलीले काम गर्नेछ ।” उनी निस्किएपछि म केहीबेर टोलाइरहेँ । मानिसले आफ्नो जीवनको सम्भावित अन्त्यबारे सुन्दा सामान्यतया डराउँछ । तर मभित्र कुनै विशेष डर थिएन । सायद मैले जीवनमा यसभन्दा कठिन पीडा पहिले नै भोगिसकेको थिएँ । केहीबेरपछि खाना आयो । खाना खाइसकेपछि नर्स नादिना आइन् । भोलिको शल्यक्रियाका लागि शरीर तयार पार्नुपर्ने थियो । उनले रेजर, साबुन र अन्य सामग्री दिँदै छाती, काखी र कम्मरमुनिका सबै रौँ सफा गर्न भनिन् । मैले पहिलोपटक आफ्नो जीवनमा छातीका रौँ खौरिएँ । समयमै उनी जाँच्न आइन् । तर उनको निरीक्षणमा म असफल भएँ । “अझै धेरै रौँ बाँकी छन्,” उनले भनिन् । म फेरि बाथरुमतिर लागेँ । दोस्रोपटक अझ सावधानीपूर्वक शरीरका सबै रौँ सफा गरेँ । फर्किएपछि उनले फेरि निरीक्षण गरिन् । केही बाँकी रहेका रौँ उनले आफैँ काटिदिइन् । छाला पोल्यो, अलि दुख्यो पनि । त्यसपछि उनले पेनकिलर दिइन् । राती १० बजे अर्को डाक्टर आए । उनको हातमा ट्याबलेट थियो । मेरो स्वास्थ्य, परिवार, रोगको इतिहास र जीवनशैलीबारे लामो प्रश्नोत्तर सुरु भयो । एलर्जी, डाइबिटिज, थाइराइड, परिवारको स्वास्थ्य अवस्था, छालाका रोग, पिसाब, दिसा, यौन जीवन—जीवनका प्रायः सबै पाटा प्रश्नभित्र समेटिएका थिए । म उत्तर दिँदै गएँ । डाक्टरले ती सबै जानकारी मेरो मेडिकल रेकर्डमा सुरक्षित गरे । अन्त्यमा उनले भने, “अब केही खानु हुँदैन । बिहान ७.२० बजे हामी तपाईंलाई लिन आउँछौँ ।” “गुड नाइट ।” “गुड नाइट,” मैले पनि उत्तर दिएँ । ढोका बन्द भयो । अस्पतालको कोठा एकाएक शान्त बन्यो । वरिपरि मेसिनहरूको मधुर आवाज मात्र सुनिन्थ्यो । भोलि बिहान मेरो मुटु रोकिएर फेरि चलाइने थियो । मेरो छाती चिरिने थियो । मेरो आफ्नै मुटुको एउटा भाग निकालेर कृत्रिम भल्भ राखिने थियो । तर त्यो रात म मृत्युको सम्भावनासँग लडिरहेको मानिसभन्दा पनि जीवनलाई नजिकबाट हेर्दै गरेको यात्रु जस्तो महसुस गरिरहेको थिएँ । ओढ्ने तानेर म बेडमा पल्टिएँ । मनमा नेपाल थियो । वृद्ध बुबाआमा थिए । श्रीमती र सन्तान थिए । सम्झनाका अनगिन्ती तस्बिरहरू । प्रेमको समर्पण, विलिनताका साथै मुटुभित्र कैद भएका अनुहार शब्द शब्दका मौलिक हरफहरु मन मस्तिष्कमा गाढिएका थिए । जीवनभरका संघर्ष र सफलताहरू थिए । ती सबै सम्झनाहरूले मलाई घेरिरहेका थिए । तर अनौठो कुरा, मनमा कुनै हाहाकार थिएन । केवल एउटा गहिरो शान्ति थियो । सायद मृत्युको ढोकासम्म पुगेपछि मानिसले जीवनलाई सबैभन्दा स्पष्ट रूपमा देख्न सक्छ ।त्यो रात मैले निद्रालाई मात्र होइन, भोलिको अनिश्चिततालाई पनि अँगालो हालेर आँखा बन्द गरेँ । सेन्ट थोमस हस्पिटल लण्डन । १२ मे २०२६ मंगलबार
