प्रधानमन्त्रीलाई मेसिज गरेकै कारण सचिवलाई पक्राउ गरिएको भनेर आलोचना भैरहेछ । नेपालीहरू स्वतन्त्रता, मानव अधिकारको व्याख्या गरिरहेछन् । त्यति कुरा लेखेकै आधारमा पक्राउ गर्नु गलत भनेर पाठ पढाइ रहेछन् । केही दिन अघि हामी नेपाली नेपालले कता कता भारतको जग्गा मिचेको थियो भनेर ‘प्रमाण’ सार्वजनिक गरिरहेका थियौँ । एउटा सांसदले (सायद मन्त्री पनि भएका थिए क्या रे) त एउटा भारतीय नागरिकले गरेको नक्कली पोस्टलाई सेयर गरेर प्रधानमन्त्री सही भएको र नेपालीहरू सीमा मिचुवा नै हुन् भनेर पोस्ट गरेको पनि देखियो । त्यसपछि फेरि हामी प्रधानमन्त्रीले संसदमा बोलेको भाषणको लक्षणमा, व्यञ्जना विश्लेषणमा लागि परेका छौँ.. परराष्ट्र मन्त्रालयले भरेको रफुलाई ‘आफ्नो भाषामा’ पुनर्लेखन गरिरहेका छौँ । विद्यार्थीले चिट सार्दा चिटको अन्त्यमा भएको ‘तैँले सारिसकेपछि फलानोलाई दे’ भनेको पनि सारेको कथा सुनिन्थ्यो उहिले । र आज हामी नेपाल सरकारको एउटा सचिवको बचाउमा उत्रिएका छौँ । सचिवले कुनै ‘अपराध’ गरेको छैन भन्ने दाबी हो हाम्रो । यसमा चाहिँ म पनि पञ्जापत्र लगाउँछु । तर मलाई अचम्म लागेको चाहिँ त्यो मान्छे कसरी सचिव बन्यो भनेर हो । हुन त यसमा अचम्म मान्नु पर्ने कुरै के छ र ! हामीले संसारकै अब्बल अर्थशास्त्रीलाई अर्थमन्त्री पाएका छौँ । कुनि के के जाती संस्थामा काम गरेका अर्थमन्त्रीले बजेटमा त्रुटि गरेको गर्यै छन् । त्रुटिमाथि त्रुटि गरेका गरेकै छन् । त्यही त्रुटि हुन्छ भनेर एक अर्थमन्त्रीले उहिले एउटा नायब सुब्बालाई बजेट लेख्न लगाएका थिए क्या रे । योग्य मान्छे नायब सुब्बाबाट माथि उक्लन गारो छ यहाँ । नायब सुब्बाले लेख्ने बजेट अन्तरराष्ट्रिय ख्याति प्राप्त अर्थशास्त्रीले लेखेपछि त्रुटि भैहाल्छनि । ठूलो मान्छेले सानो काम गर्नै हुन्नथ्यो । सानो काममा धेरै वास्ता गर्ने कुरो पनि भएन ठूलो मान्छेले । युनिभर्सिटीको प्रोफेसरले बच्चालाई धर्को तान्न पनि सिकाउन सक्दैन । यो पृष्ठभूमिमा आगामी असार २४ मा निवृत्त हुने एउटा सचिवले प्रधानमन्त्रीबाट निगाहको अपेक्षा गर्नु सामान्य नै हो । जनता अनुसारको नेता पाउने हो, जनताबाटै कर्मचारी, शिक्षकहरू छानिने हुन् । हामी जस्तो छौँ, हाम्रा प्रतिनिधि त्यस्तै हुने हो । अब राजदूतमा आवेदन दिन पाउने भए दिने हो, नत्र किन दिनु । त्यति सोध्न नि नपाउनु ! उहिले स्कुल पढ्दा ‘पिसाप फेर्न’ पनि त सोधेर जानु पथ्र्यो । खासमा प्रहरीले प्रश्न सोधेकोमा केरकार गरेको होइन होला, उहाँ कसरी सचिव सम्म पुग्नुभयो भनेर अचम्म मानेर जानकारी सङ्कलन गरेको होला । असार २४ मा निवृत्त हुनेले राजिनामै दिएर आवेदन दिए पनि त हुन्थ्यो नि । अथवा पाउने नपाउने नियम हेरेर थाहा पाए पनि हुन्थ्यो नि । तर त्यसो गर्नुभन्दा हेडसरलाई सोधेर पिसाप फेर्न गयो भने सजिलो नि होइन र ?
