IMG-LOGO

नेपालको हिन्दू–मुस्लिम सद्भाव र सांस्कृतिक एकता

 मंगल, जेठ १९, २०८३  आचार्यश्री माधवशरण

    नेपाल प्राचीन हिन्दू राष्ट्रको रूपमा परिचित छ, जसको संवैधानिक र सांस्कृतिक पहिचान धर्म, परम्परा र बहुलतासँग गहिरो रूपमा जोडिएको छ । यो भूमिमा हिन्दू र मुस्लिम समुदायबीच सदियौंदेखि शान्तिपूर्ण सहअस्तित्व कायम छ, जसले धार्मिक सद्भावको उत्कृष्ट उदाहरण प्रस्तुत गर्छ । हालसालै, २०८३ जेठमा (मे २०२६) मनाइएको ईद उल अद्हा (बकर ईद) ले यो सद्भावलाई फेरि स्मरण गरायो । यो चाड इस्लामिक पात्रो अनुसार जिल्हिज्जाको १० औं दिनमा मनाइन्छ, जसमा मुस्लिम समुदायले अल्लाहको आज्ञापालन स्वरूप पशु बलि दिन्छन्, दान गर्छन् र सामुदायिक भोजको आयोजना गर्छन् । नेपालमा बकर ईद राष्ट्रिय बिदाको रूपमा मनाइन्छ । मुस्लिम समुदायले मुख्य रूपमा बाख्रा, भेडा वा अन्य पशुको बलि दिएर चाड मनाउँछन्, जसले सामाजिक एकता, दान र करुणाको सन्देश दिन्छ । हिन्दू बहुसंख्यक भएको नेपालमा यो चाडले सांस्कृतिक सम्मान र सहिष्णुताको महत्व झल्काउँछ । मुस्लिम भाइबहिनी दाजुदिदीहरूले स्थानीय परम्परा र कानुनको सम्मान गर्दै चाड मनाउने गर्छन्, जसले राष्ट्रिय एकतालाई मजबुत बनाउँछ । यो अवसरमा हिन्दू–मुस्लिम समुदायबीच आपसी भेटघाट, शुभकामना आदानप्रदान र साझा भोजले सद्भावलाई जीवन्त राख्छ ।      ऐतिहासिक घटनाहरूले नेपालको सहिष्णुताको गहिराइ देखाउँछन् । राष्ट्रिय पञ्चायत कालमा काठमाडौंका सांसद पद्मरत्न तुलाधरले गाईको मासु खान पाउने अधिकारको माग गरेका थिए । तर, नेपालका मुस्लिम संगठनहरूले तत्काल विज्ञप्ति जारी गर्दै स्पष्ट पारे कि मुसलमान बन्न गाईको मासु अनिवार्य होइन र नेपालका मुस्लिमहरूले पुस्तौंदेखि गाईको मासु खाएका छैनन् । उनीहरूले सांसदलाई राजनीतिक स्वार्थले धार्मिक सद्भाव बिगार्न नखोज्न आग्रह गरे । यो घटना २०४६ अघिको हो, जतिबेला नेपाल संवैधानिक हिन्दू राष्ट्र थियो र मुलुकी ऐन २०२० अनुसार गाई मार्नु ठूलो अपराध मानिन्थ्यो । मुस्लिम समुदायले राष्ट्रिय कानुन र संस्कृतिको पूर्ण सम्मान गरेको यो उदाहरण अझै प्रासंगिक छ । यहाँहरुलाई अर्को प्रसङ्ग पनि स्मरण गराउँ, स्व मोहम्मद मोहसिन को प्रसङ्ग यस सद्भावको जीवन्त प्रतीक हो । बेलायतमा पढ्न गएका मोहसिनलाई घरबेटीले एक साँझको खानामा आज भान्छामा बिफ र पोर्क दुवै पाकेको छ, आफूलाई मन लागेको खान सक्छौ भनेर सोधे । तर घरबेटी अचम्ममा परे जब मोहसिनले जवाफ दिए, “म दुबै खाँदिन।” कारण सोध्दा उनले भने, “धर्मले म मुसलमान हुँ, त्यसैले पोर्क खाँदिन । राष्ट्रियताले हिन्दू हुँ, त्यसैले बिफ खाँदिन।” यो भनाइले धार्मिक स्वतन्त्रता र राष्ट्रिय एकताको सुन्दर समन्वय देखाउँछ । यस्ता व्यक्तित्वहरूले नेपालको सांस्कृतिक सामाजिक एवं धार्मिक सद्भावलाई बलियो बनाएका छन् ।     हाम्रा वैदिक तथा पौराणिक प्रमाणहरूले पनि प्राणी रक्षा विशेष गरेर गौ रक्षाको महत्वलाई स्पष्टसँग उजागर गर्छन् । हिन्दू धर्मशास्त्रमा गाईलाई गौमाता मानिन्छ, जसले दूध, घिउ, गोबर र गौमूत्रबाट पञ्चगव्य बनाएर यज्ञ, पूजा र औषधिमा सहयोग गर्छिन् ।     ऋग्वेदमा गाईलाई “अघ्न्या” (नमारिने) भनिएको छ । यजुर्वेद (१३.४९) मा स्पष्ट निर्देश छः “मा गां हिंसीः” गाईलाई हानि नदेऊ ।     महाभारतको अनुशासन पर्वमा गाईलाई लात हान्नेले सय जन्म नरक भोग्नुपर्ने उल्लेख छ । गाई मार्नुलाई ब्राह्मण हत्यासरह पाप ठानिएको छ । त्यस्तै गरेर विष्णु पुराणमा पनि भनिएको छः “यत्र गावः प्रसन्नाः स्युः प्रसन्नास्तत्र सम्पदः । यत्र गावो विषण्णाः स्युर्विषण्णास्तत्र सम्पदः ।।” (जहाँ गाईहरू प्रसन्न हुन्छन्, त्यहाँ सम्पत्ति र सुख हुन्छ; जहाँ गाईहरु दुःखी हुन्छन्, त्यहाँ विनाश र दुःख आउँछ ।) भगवद्गीतामा कृष्णले वैश्यको कर्तव्यमा “कृषि–गो–रक्ष्य–वाणिज्यम्” उल्लेख गर्नुभएको छ, जसले गाई रक्षालाई धार्मिक तथा आर्थिक कर्तव्य बनाउँछ । यसरी नै मनुस्मृति मा गाईको मासु खाने, बेच्ने वा किन्नेलाई ठूलो पाप मानिएको छ ।      यी प्रमाणहरूले अहिंसा, करुणा र गौमाताको सम्मानलाई हिन्दू संस्कृतिको आधार बनाउँछन् । तर, हिन्दू शास्त्रहरूले गौ रक्षासँगै धार्मिक सद्भावको पनि शिक्षादिन्छन् ।     ऋग्वेद (५.६०.५) मा भनिएको छः कोही श्रेष्ठ छैन, कोही निम्न छैन, सबै भाइहरू समृद्धितर्फ अघि बढिरहेका छन् । ईशावास्य उपनिषद्ले सबै प्राणीमा आत्मालाई देख्ने व्यक्तिलाई घृणा नहुने बताउँछ । भगवद्गीता (६.२९) मा कृष्ण भन्नुहुन्छः “सर्वभूतस्थितं यो मां भजत्येकत्वमास्थितः...” (जसले एकत्वमा स्थित भएर सबै जीवमा मलाई देख्छ, त्यो योगी ममा नै स्थित हुन्छ ।) “एकं सद् विप्रा बहुधा वदन्ति” (सत्य एउटै हो, विद्वानहरूले विभिन्न नामले बोलाउँछन्) ।     यी शिक्षाहरूले फरक धर्मका मानिसहरूलाई सम्मान दिन सिकाउँछन् । प्राचीन कालदेखि नै नेपालमा मुस्लिम समुदाय बसोबास गर्दै आएका छन् र हिन्दू राजाहरूको शासनमा सम्मानित थिए । २०४६ पछिको परिवर्तनले धार्मिक स्वतन्त्रता बढायो, तर केही तत्त्वहरूले सद्भाव बिगार्ने प्रयास गरे पनि जनस्तरमा मुस्लिम समुदायले गाईको सम्मान गर्दै राष्ट्रिय एकता देखाए । बकर ईद जस्ता चाडहरूमा पनि स्थानीय संवेदनशीलताको ख्याल राखिन्छ । हिन्दू बाहुल समाजको धर्म र संस्कृतिलाई उनीहरुले सम्मान गरेका छन् । समसामयिक नेपाल बहुधार्मिक समाज हो । हिन्दू बहुसंख्यक भए पनि मुस्लिम, बौद्ध, किरात आदि समुदायसँग शान्तिपूर्ण सहअस्तित्व कायम राख्नु आवश्यक छ । गौ रक्षा राष्ट्रिय संस्कृति हो, जसलाई सबैले सम्मान गर्न सक्छन् । राजनीतिले धर्मलाई हतियार बनाउनु हुँदैन । बरु, अहिंसा, करुणा र समानताको मार्गमा हिँड्नुपर्छ । आजको विश्वमा धार्मिक द्वन्द्व बढिरहेको बेला नेपालको मोडेल, जहाँ मुस्लिम समुदायले राष्ट्रिय भावनाको सम्मान गर्छन्, प्रेरणादायी छ । गौमाताको रक्षा गर्दै, सबै धर्मका मानिसहरूको सम्मान गर्दै हामी “जय जननी, जय नेपाल” भन्न सक्छौं । सबैको मंगल होस् । आफ्नो धर्म पालना गर्दै राष्ट्रिय एकतामा योगदान दिऔं । यो नै सनातन परम्परा र समसामयिक आवश्यकता हो । भवतु सर्व मंगलम् । सबैको जय होस् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्