IMG-LOGO

संस्कृत भाषा : मस्तिष्कको चमत्कार र आत्माको ज्योति

 मंगल, बैशाख २२, २०८३  आचार्यश्री माधवशरण

                संस्कृत भाषा भारतीय उपमहाद्वीपमा बोलिने इन्डो–युरोपियन भाषा परिवारको प्राचीनतम भाषा हो । यो केवल आध्यात्मिक र दार्शनिक ज्ञानको भण्डार मात्र होइन, भाषिक चमत्कारको उत्कृष्ट नमुना पनि हो । आधुनिक विज्ञानले यस भाषाको अध्ययनलाई बाध्यात्मक बनाएको छ किनकि यसले मानव मस्तिष्कमा गहिरो प्रभाव पार्छ—संज्ञानात्मक, न्यूरोलॉजिकल र आध्यात्मिक, spiritual दुवै स्तरमा । संस्कृतको वैज्ञानिक प्रभाव, संज्ञानात्मक लाभ, आध्यात्मिक गहिराई र मस्तिष्क संलग्नतालाई हाम्रा शास्त्रहरूमा उल्लेखित केही भनाइहरू र आधुनिक विज्ञानले गरेको खोज अनुसन्धानको बारेमा आजको अङ्कमा सानो चर्चा गरौं । संज्ञानात्मक लाभहरू ः “संस्कृत प्रभाव” (Sanskrit Effect)                 आधुनिक न्यूरोसाइन्सले संस्कृतको अध्ययन र मन्त्र जपलाई मस्तिष्क विकाससँग जोडेको छ । न्यूरोसाइंटिस्ट जेम्स हार्टजेलले “संस्कृत प्रभाव” शब्दको प्रयोग गरे। उनको २०१५ को अध्ययन (NeuroImage जर्नल) अनुसार, वैदिक पण्डितहरूको मस्तिष्कमा सामान्य व्यक्तिहरूको तुलनामा १०% भन्दा बढी ग्रे म्याटर (grey matter) पाइयो । दुवै सेरेब्रल हेमिस्फियरमा कर्टिकल थिकनेस बढेको थियो । विशेष गरी दायाँ हिप्पोक्याम्पस (right hippocampus) मा उल्लेखनीय वृद्धि देखियो, जुन छोटो तथा दीर्घकालीन स्मृति, पैटर्न पहिचान र भाषिक प्रोसेसिङसँग जोडिएको छ ।                 यो अध्ययनले देखायो कि संस्कृतका जटिल ध्वनि, लय र व्याकरणले मस्तिष्कका भाषा, स्मृति र ध्यान केन्द्रहरूलाई उत्तेजित पार्छ । पण्डितहरूले वर्षौंसम्म वेदका हजारौं श्लोकहरू मुखाग्र राख्नुले मस्तिष्कमा संरचनात्मक परिवर्तन ल्याउँछ भनेर उनले प्रमाणित गरिदिए, यो न्यूरोप्लास्टिसिटीको उत्कृष्ट उदाहरण हो । अरु अध्ययनहरूले पनि संस्कृत जपले डेल्टा तरंग (delta waves) बढाउने र पोस्टरियर सिंगुलेट कोर्टेक्स (PCC) मा शान्ति उत्पन्न गर्ने देखाएका छन्, जसले तनाव घटाउँछ र फोकस अर्थात् एकाग्रता बढाउँछ ।                 स्मरणशक्ति र एकाग्रता ः संस्कृत भाषा र साहित्यको सामान्य ज्ञान भएकाहरूलाई यो थाहा हुनुपर्छ कि संस्कृतको व्याकरण (पाणिनीको अष्टाध्यायी जस्तो) अध्ययनले उच्च मानसिक चपलता माग्छ । मन्त्र जपको दोहोरिने लयले एकाग्रता र अनुशासन विकास गर्छ । बालबालिकामा प्रज्ञाविवर्धनका लागि स्तोत्र जपले स्मृति, बुद्धि र एकाग्रता सुधार्ने गरेको प्रशस्त अध्ययनहरू छन् ।                 भाषिक कौशल ः संस्कृतको समृद्ध शब्दावली र सुव्यवस्थित संरचनाले बोलीको स्पष्टता, व्याकरण बुझाइ र अन्य भाषा सिक्ने क्षमता बढाउँछ । यहाँहरूलाई थाहै होला संस्कृत भाषा र व्याकरणमा भएका स्वर र ध्वनिहरू संसारका अन्य कुनै पनि भाषा र व्याकरणहरुमा पाइँदैनन् । उदाहरणको लागि हामीले कति सजिलैसँग ‘डडेलधुरा’ भन्ने शब्द उच्चारण गर्न सक्छौं । तर त्यही शब्द उच्चारण गर्न कुनै एउटा पश्चिमालाई लगायौँ भने उसले पचासौँ पटक प्रयास गर्नुपर्ने हुन्छ त्यति गर्दा पनि उसले ‘ददेलधुरा’ मात्र भन्न सक्छ । यही हो हामीमा भएको ज्ञानको भण्डार तर यस्तो ज्ञानको भण्डारलाई हामीले सजिलैसँग चिन्न सकेका छैनौं । हो हामीमा यस्तो संज्ञानात्मक भण्डार कसरी रहन गयो भन्ने अनुसन्धानले पुष्टि गरेको छ । जस अनुसार संस्कृत भाषाले मस्तिष्कको दुवै हेमिस्फियर सक्रिय पारेर समग्र संज्ञानात्मक सन्तुलन दिन्छ । यस्तो उत्कृष्ट र पत्रलेनीय भाषालाई हामीहरुले अझै चिन्न सकेका छैनौं । आध्यात्मिक सम्बन्ध ः                 वेद र उपनिषद्को ज्योति हो संस्कृत भाषा र व्याकरण । संस्कृत, जसले ब्रह्माण्ड र चेतनाको गहन रहस्य खोल्छ । यसका लयबद्ध ध्वनिहरु ध्यान र माइन्डफुलनेसका लागि आदर्श छन् । ध्यान र शान्तिका आज पनि वेद र उपनिषदमा लेखिएका संस्कृत मन्त्रहरू नै संसारभरि प्रसिद्ध छन्, जसले मनलाई मात्र होइन सांसारिक विषयवस्तुहरू, संसारमा विचरण गर्ने प्राणीहरू र सारा ब्रह्माण्डलाई नै शान्त पार्ने सामथ्र्य राख्दछन् । तैत्तिरीय उपनिषद्को शान्ति मन्त्र यसको उदाहरण होः ॐ सह नाववतु । सह नौ भुनक्तु । सह वीर्यं करवावहै । तेजस्वि नावधीतमस्तु । मा विद्विषावहै । ॐ शान्तिः शान्तिः शान्तिः ।। (हामी दुवैलाई रक्षा गर, हामी दुवैलाई पोषण देऊ, हामी दुवै मिलेर शक्ति प्राप्त गरौं, हाम्रो अध्ययन तेजस्वी होस्, हामीबीच द्वेष नहोस् । शान्ति होस् ।) यो मन्त्र शिक्षक–विद्यार्थीबीचको एकता र आन्तरिक शान्तिको प्रार्थना हो अर्थात् सृष्टि र स्रष्टा बीचको अन्तरसम्बन्ध हो । संस्कृत भाषामा लेखिएका हाम्रा प्राचीन धर्मग्रन्थहरूमा अत्यन्त गहिरो दार्शनिक भाव लुकेको छ । बृहदारण्यक उपनिषद्को प्रसिद्ध श्लोकले यही भन्छ, ज्ञानको मार्ग देखाउँछः ॐ असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । मृत्योर्मा अमृतं गमय ।। ॐ शान्तिः शान्तिः शान्तिः ।। (असत्यबाट सत्यतर्फ, अन्धकारबाट प्रकाशतर्फ, मृत्युबाट अमरत्वतर्फ लैजाऊ ।) यहाँ  आत्म–जागरण र चेतनाको उन्नयनको आह्वान गरिएको छ । अझ हामी सबैलाई कण्ठस्त भएको गायत्री मन्त्र (ऋग्वेद ३.६२.१०) ले त हामी सबै प्राणीहरू र मानव जगतको लागि बौद्धिक ज्योति मागेको छः ॐ भूर्भुवः स्वः । तत्सवितुर्वरेण्यं । भर्गो देवस्य धीमहि । धियो यो नः प्रचोदयात् ।। (हामी त्यस दिव्य सविताको तेजको ध्यान गर्छौं, जसले हाम्रो बुद्धिलाई प्रेरित गरोस् ।) यो मन्त्रले मस्तिष्कको धियो अर्थात् बुद्धि (intellect) लाई उज्यालो बनाउँछ भन्ने वैज्ञानिक अध्ययनहरूले समेत समर्थन गर्छन् । हाम्रा उपनिषद्हरूले चेतनालाई चार अवस्था जागृत, स्वप्न, सुषुप्ति र तुरीय मा विभाजन गर्छन् (माण्डूक्य उपनिषद्) । संस्कृत अध्ययनले यी दार्शनिक गहनतासँग जोडेर व्यक्तिगत विकास र आत्म–जागरूकता बढाउँछ । यसले नेपालको मात्र नभएर पुरै भारतीय उपमहाद्वीपभित्रको सांस्कृतिक विरासतसँग गहिरो सम्बन्ध स्थापित गरेको छ । मस्तिष्क संलग्नता र उपचारात्मक प्रभाव ः                 संस्कृतले पूरै मस्तिष्क सक्रिय पार्छ—बायाँ (विश्लेषणात्मक) र दायाँ (रचनात्मक) दुवै हेमिस्फियर । यसले समग्र विकास र सन्तुलन दिन्छ । मन्त्र जपले तनाव घटाउने, भावनात्मक कल्याण बढाउने र डेल्टा तरंग बढाएर गहिरो विश्राम दिन्छ । रचनात्मकता र अन्तज्र्ञान पनि बढ्छ किनकि विश्लेषणात्मक र सहज पक्षहरू मेल खान्छन् । पाणिनीय शिक्षा अनुसार भाषा चेतना (आत्मा), बुद्धि र मनबाट उत्पन्न हुन्छ, आत्मा बुद्ध्या समेत्यार्थान् मनो युङ्क्ते विवक्षया ।                 (चेतनाले बुद्धिद्वारा अर्थ बुझ्छ, मनले बोल्ने इच्छा गर्छ ।) यो आधुनिक न्यूरोसाइन्ससँग ठ्याक्कै मेल खान्छ, जसले भाषालाई मस्तिष्कको संरचना र कार्यलाई प्रभावित गर्ने माध्यम मान्छ । संस्कृत ः बौद्धिक चुनौती र आत्मिक पोषण                 संस्कृतको प्रभाव यसको जटिलताभन्दा पर छ । यो भाषाले बुद्धिलाई चुनौती दिन्छ र आत्मालाई पोषण दिन्छ । आधुनिक विज्ञानले पुष्टि गरेको “संस्कृत प्रभाव” ले देखाउँछ कि प्राचीन ऋषिहरूले मस्तिष्क विकासको विज्ञान पहिले नै जान्दथे । चाहे संज्ञानात्मक विकास होस्, आध्यात्मिक जागरण होस् वा उपचारात्मक लाभ, संस्कृतले भाषाहरूमध्ये विशेष स्थान ओगटेको छ । आजको डिजिटल युगमा संस्कृत सिक्नु केवल सांस्कृतिक पुनरुत्थान होइन, मस्तिष्कलाई अपग्रेड गर्ने र चेतनालाई उज्यालो पार्ने वैज्ञानिक तथा आध्यात्मिक अभ्यास हो । जसरी गायत्री मन्त्रले प्रार्थना गर्छ, धियो यो नः प्रचोदयात्, त्यसैगरी संस्कृतले हाम्रो बुद्धिलाई नयाँ उचाइमा पुर्याउँछ । जय नेपाल । सबैको जय होस् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्