IMG-LOGO

वाह बालेन ! तिम्रो राष्ट्र निर्माणको हुटहुटी

 मंगल, बैशाख १५, २०८३  आचार्यश्री माधवशरण

    बालेन शाहको सुकुम्बासी व्यवस्थापन र वैकल्पिक राजनीतिक जागरणले नेपालको राजनीतिक परिदृश्यमा साँच्चै नयाँ अध्याय खोलेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले हालै काठमाडौं उपत्यकाका नदी किनारका सुकुम्बासी बस्ती खाली गर्ने अभियान सुरु गरेका छन् । थापाथली, मनहरा, सिनामंगल लगायतका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्दै घरटहरा हटाउने निर्देशन दिएपछि यो अभियान शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ । वास्तविक भूमिहीन सुकुम्बासी र अतिक्रमणकारीबीच छुट्याएर चरणबद्ध पुनर्वास, अस्थायी आवास (रंगशाला, होटल) र जग्गा वितरणको योजना सार्वजनिक गरेका छन् । यो कदम उनको १००–बुँदे कार्यक्रमको हिस्सा हो, जसले वर्षौंदेखिको जटिल समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्छ । मेयर हुँदा नसकेको यो काम अब प्रधानमन्त्रीको रूपमा अघि बढाउँदै बालेनले राष्ट्र निर्माणको हुटहुटीलाई व्यावहारिक रूप दिइरहेका छन् । यो अभियानलाई बालेनको राजनीतिक यात्रासँग जोडेर हेर्नुपर्छ । पञ्चायती शासनको अन्त तिर ९० को दशकमा जन्मेका उनी र्यापर, संरचनात्मक इन्जिनियर र राजनीतिज्ञ हुँदै अहिले संसारमै प्रशिद्द प्रधानमन्त्री हुन् । २०२२ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयर बनेपछि ‘बालेन इफेक्ट’ ले युवा पुस्तालाई आकर्षित गर्यो । शहर सफाई, सांस्कृतिक संरक्षण, भ्रष्टाचारविरुद्ध अभियान र अनधिकृत संरचना हटाउने कामले उनलाई राष्ट्रिय छवि दियो । आफ्नो अभियानलाई अझ फराकिलो धरातलमा बढाउन २०२६ जनवरीमा मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सामेल भए । झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लड्दै प्रधानमन्त्री पदका लागि उम्मेदवारी घोषणा गर्दै गर्दा यो लेखकलाई पनि लागेको थियो के बालेनमा देश बनाउने हुटहुटी जागेको हो ?     यो प्रश्नलाई २०२५ सेप्टेम्बरको जेन–जी आन्दोलनसँग जोड्नुपर्छ । भ्रष्टाचार, बेरोजगारी र पुराना दलहरू विरुद्धको विद्रोहले ओली सरकार ढालेपछि गठित अन्तरिम सरकारमा बालेनलाई नेतृत्व दिन खोजियो, तर उनले अस्वीकार गरे । यो अस्वीकृतिको पछाडि पूर्णकालिक प्रधानमन्त्री बन्ने रणनीति थियो । त्यसैको परिणाम स्वरूप डिसेम्बर २८, २०२५ मा रास्वपा अध्यक्ष रवि लामिछानेसँग सात–बुँदे सम्झौता भयो । वैकल्पिक शक्तिहरूको यो एकताले पुराना दल (कांग्रेस, एमाले, माओवादी) को सत्ता साटासाटको चक्र तोड्ने प्रयासको एउटा कडी थियो । अन्तत प्रयास सफल पनि भयो । रास्वपाले ‘सबको साथ, सबको विकास’ नारा दिँदै स्वतन्त्र आर्थिक प्रणाली, सामाजिक न्याय, निःशुल्क शिक्षा र स्वास्थ्यलाई जोड दिएको छ । बालेनको राष्ट्र निर्माणको हुटहुटी कतिसम्म थियो भन्ने कुरा उनले चुनावी दौडानमा अभिव्यक्त गरेका विचारहरु र सांस्कृतिक, धार्मिक र पर्यटकीय भ्रमणबाट गरेका ठाउँहरूको प्रस्तुतिबाट पनि स्पष्ट रुपमा झल्कन्थ्यो । चुनावताका पूर्व कोशी देखि सुदूरपश्चिमका प्राय निर्वाचन क्षेत्र घुमे । वराह क्षेत्र देखि पाथिभरासम्मको संस्कृति एवं धार्मिक धरोहरलाई प्राथमिकता दिँदै संसारकै पहिलो तीर्थ नेपालमा रहेको भन्न भ्याए । जनकपुरकी जानकी अयोध्याका रामलाई तुलना गर्दै लाखौं धार्मिक पर्यटक भित्र्याउन सकिने सम्भावना व्यक्त गरे । सुदूरपश्चिमको बडीमालिका मन्दिर, खप्तड राष्ट्रिय निकुञ्ज, रामारोशन जस्ता स्थलमा पुगेर भने, “नेपाललाई स्विट्जरल्यान्ड जस्तो बनाउनु पर्दैन, सुदूरपश्चिममै प्राकृतिक र सांस्कृतिक सम्पदा छन् यसैलाई बनाए पुग्छ ।” बर्दियाको ठाकुर बाबा मन्दिरको यात्रा गर्दै पर्यटन विकास, पूर्वाधार र स्थानीय अवसरमा छलफल गरे । काठमाडौंका फल्चालाई “धनी विरासतको प्रतीक” भन्दै सांस्कृतिक संरक्षणलाई पर्यटनसँग जोडे । यी भ्रमण चुनावी अभियान मात्र थिएनन्, नेपालको विविधतालाई विकासको इन्जिन बनाउने दृष्टिकोण थिए । हाम्रा शास्त्रहरूले पनि यस्तै नेतृत्वको प्रेरणा दिन्छन् । “संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम्” ले वैकल्पिक शक्तिहरूको एकताको महत्व दर्साउँछ । “यथा राजा तथा प्रजा” ले राम्रो नेतृत्वले प्रजालाई समृद्ध बनाउने कुरा गर्छ ।      बालेनको हालैको सुकुम्बासी अभियान पनि यसैसँग मेल खान्छ । नदी किनारका सार्वजनिक जग्गा अतिक्रमण मुक्त गर्दै वास्तविक सुकुम्बासीलाई पुनर्वास दिने योजना एउटा नेतामा हुनुपर्ने ‘कर्तव्य’ को प्रतीक हो। त्यसैले हाम्रा शास्त्रहरूको हामीलाई भनेका छन् “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन”, फलको चिन्ता नगरी कर्तव्यमा केन्द्रित रहनु । बालेनले मेयरकालमा सुरु गरेको सफाई र अब प्रधानमन्त्रीको रूपमा गरेको सुकुम्बासी व्यवस्थापनले यो सिद्धान्तलाई जीवन्त बनाएको छ । तर चुनौती पनि छन् । आलोचकहरूले यो अभियानलाई ‘अपरिपक्व’ र ‘अधिनायकवादी’ ठान्छन् । एमनेस्टी इन्टरनेसनलले जबरजस्ती निष्कासन रोक्न आग्रह गरेको छ । केही जेन–जी अभियन्ताहरुलेले ‘राजनीतिक बेइमानी’ भन्दै विरोध जनाएका छन् । केहीले बालेनलाई राष्ट्रवादी तर भारतविरोधी भन्छन् । हालै भनसारमा भएका गतिविधिहरू र काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा आफ्नो कार्यकक्षमा प्रयोग गरेको ‘ग्रेटर नेपाल’ नक्सा प्रकरणले क्षेत्रीय सम्बन्ध प्रभावित हुन सक्छ भन्छन् । त्यसै गरी विरोधीहरूले लगाउने अर्को आरोप पनि छ त्यो हो बालेन शाहमा भएको महत्वाकांक्षीपन । के ही गर्छु भन्ने हुटहुटी भएको नेतामा यतिको महत्वकांक्षा भने हुनैपर्छ । कतै यस्तो महताकांक्षाले रास्वपाभित्र फुटको खतरा ननिम्त्याओस बेलैमा सजक भने हुनुपर्छ । समानुपातिक उम्मेदवार चयन विवादले वैकल्पिक राजनीतिलाई ‘पुरानो बोतलमा नयाँ मदिरा’ बनाउन सक्छ । व्यक्तिगत महत्वाकांक्षा हावी भयो भने जेन–जी आन्दोलनको उपलब्धि खेर जान्छ । तैपनि सकारात्मक सम्भावना ठूलो छ । पुराना दलहरूको असफलतापछि वैकल्पिक शक्तिहरूले नैतिकता, पारदर्शिता र युवा समावेशितालाई जोडेका छन् । काठमाडौं महानगरको सौन्दर्यीकरण, सांस्कृतिक संरक्षण र अब राष्ट्रिय स्तरमा सुकुम्बासी समस्या समाधानले संघीयता मजबुत बनाउने र प्रादेशिक सशक्तीकरण गर्ने वाचा पूरा गर्ने आधार दिन्छ । जनकपुरबाट ‘अब की बार, बालेन सरकार’ नारा दिएका बालेनको भ्रमणहरूले पर्यटनलाई आर्थिक इन्जिन बनाउने दृष्टिकोण प्रस्तुत गर्छन् । ठाकुर बाबा मन्दिर, बाराह क्षेत्र, बडीमालिका जस्ता स्थलहरूलाई विश्व पर्यटन नक्सामा ल्याएर स्थानीय अर्थतन्त्र र सांस्कृतिक पहिचान मजबुत बनाउन सकिन्छ । “उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत” ले उठ, जाग र लक्ष्यप्राप्तिमा लाग्न प्रेरित गर्छ । बालेनको नेतृत्वले युवालाई यो जागरण दिइरहेको छ । सुकुम्बासी बस्ती खाली गर्दा पनि ‘सक्कली र नक्कली’ छुट्याएर वास्तविक भूमिहीनलाई उचित व्यवस्थापन गर्ने प्रतिबद्धताले विधिको शासन र मानवीय संवेदनशीलतालाई सन्तुलनमा राख्ने प्रयास देखिन्छ । यदि यो एकताले निरन्तरता पायो भने नेपालले समृद्धिको बाटो पक्रन सक्छ ।     निष्कर्षमा भन्नु पर्दा, बालेन शाहमा राष्ट्र निर्माणको हुटहुटी जागेको छ । मेयरबाट प्रधानमन्त्री बन्ने यात्रा, वैकल्पिक शक्तिको उदय र सांस्कृतिक पर्यटनलाई जोड्ने भ्रमणहरूले बहुआयामिक विकासको खाका कोरेका छन् । सुकुम्बासी व्यवस्थापनले यो हुटहुटीलाई व्यावहारिक रूप दिएको छ । हाम्रा शास्त्रहरूले दिएको प्रेरणा अनुसार कर्तव्यमा केन्द्रित रह्यो भने यो परिवर्तन नेपालको नयाँ युग बन्न सक्छ । अन्यथा, यो अर्को राजनीतिक प्रयोग मात्र हुन सक्छ । एकजुटता, इमानदारी र दृष्टिकोणले नै राष्ट्र बन्छ । बालेनको यो अभियानले त्यही सम्भावना उजागर गरोस्। जय नेपाल । सबैको जय होस् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्