हालै, अप्रिल ८, २०२६ मा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सिंहदरबारमा नेपालस्थित १७ वटा देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग सामूहिक शिष्टाचार भेटघाट गर्नुभयो । यो भेटमा भारत, चीन, अमेरिका, बेलायत, जापान, फ्रान्स, जर्मनी, साउदी अरेबिया, कतार, इजरायल, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, दक्षिण कोरिया, स्विट्जरल्याण्ड, इजिप्ट र संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरू सहभागी थिए । परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्यसचिव सुमन राज अर्याल र परराष्ट्र सचिव अमृतबहादुर राईको उपस्थितिमा भएको यो भेट विगतको परम्परा भन्दा स्पष्ट रूपमा फरक थियो । यसअघि नयाँ प्रधानमन्त्रीले राजदूतहरूसँग व्यक्तिगत रूपमा द्विपक्षीय भेटघाट गर्ने चलन थियो, जसलाई ‘एक्लै भेट’ को रूपमा चित्रण गरिन्थ्यो । यो सामूहिक भेटलाई संस्थागत कूटनीतिको नयाँ सुरुवातका रूपमा हेरिएको छ । यसले कूटनीतिलाई पारदर्शी, समावेशी र प्रोटोकल अनुसार बनाउने प्रयास गरेको छ । तर, यो भेटलाई लिएर अनेकौं टिका टिप्पणीहरू हुने गरेका छन् । केहीले यसलाई राष्ट्रियता कमजोर पार्ने, केहीले शिष्टाचारको सामान्य अभ्यास मात्र भएको मानेका छन् । मतहरु जसरी व्यक्त गरिएको भएपनि सामूहिक भेटले राष्ट्रियता कमजोर गर्दैन, बरु एकै ठाउँमा शिष्टाचारको समानान्तर सन्देश दिन्छ, तर हरेक देशसँगका मुद्दा फरक–फरक भएकाले परिणाममुखी संवाद भने द्विपक्षीय नै हुनुपर्छ । हाम्रो सनातन धर्मदर्शनले पनि यही भन्छ । सामूहिक र एक्लाएक्लैको भेटघाटमा फरक फरक मुलुकहरूसँग फरक फरक प्रसङ्गहरु हुन्छन् । यस्ता भेटहरु विषय र प्रसंगका आधारमा अझ गहन, व्यावहारिक र दार्शनिक बन्न पुग्छन् । हाम्रा ग्रन्थहरूले कूटनीति, राष्ट्रिय स्वार्थ र राजधर्मलाई धर्मसँग जोडेर हेर्छन् । सामूहिक भेटलाई ‘एकता’ को प्रतीक मान्ने र द्विपक्षीय संवादलाई ‘व्यावहारिक स्वार्थ’ को आवश्यकता ठान्ने यो दृष्टिकोण वैदिक सिद्धान्तसँग पूर्णतः मेल खान्छ । ऋग्वेदको सूक्त (१०.१९१.२) मा भनिएको छ ‘सं गच्छध्वं सं वदध्वं सं वो मनांसि जानताम् । देवा भागं यथा पूर्वे सम्जानाना उपासते ।।’ (आउनुहोस्, एकै ठाउँमा जाऔं; बोलौं, एकै कुरा गरौं; हाम्रा मनहरू एकै ठाउँमा मिलून् । जसरी पुराना देवताहरूले आफ्नो भाग बाँडेर एकमत भएर बस्छन्) । यसरी हाम्रा धर्मशास्त्रहरुले समेत सामूहिक संवादको महत्वलाई जोड दिएका छन् । प्रधानमन्त्री बालेनको सामूहिक भेट ठ्याक्कै यसैको प्रतीक हो । विदेशी नियोगहरूलाई एकै मञ्चमा राखेर नेपालको प्राथमिकता, शान्ति, समृद्धि र साझा हितको सन्देश दिनु । यो भेटले ‘असन्तुलित पहुँच’ रोक्ने र कूटनीतिलाई संस्थागत बनाउने प्रयास गरेको छ । जसरी वेदले ‘देवा भागं’ भनेर समानता र सद्भावको कुरा गर्छ, त्यसरी नै यो भेटले सबै राजदूतलाई समान मानेको छ । तर, हाम्रा शास्त्र मात्र एकताको कुरा गर्दैनन्, व्यावहारिकताको पनि कुरा गर्छन् । अथर्ववेदमा भनिएको छ ‘मा भ्राता भ्रातरं द्विक्षन्, मा स्वसारमुत स्वसा । सम्यञ्चः सव्रता भूत्वा वाचं वदत भद्रया ।।’ (भाइले भाइलाई घृणा नगरोस्, बहिनीले बहिनीलाई घृणा नगरोस् । समान गतिमा मिलेर, एकमत भएर भद्र वाणी बोलौं) । आहा कति दिव्य बाणीहरू रहेछन् हाम्रा शास्त्रहरूमा। वेदका ऋचाहरूले समेत सामूहिक भेटलाई महत्व दिएका छन्, तर यो ‘भद्र वाणी’ मात्र होइन राष्ट्रिय हितको लागि संकल्प पनि हो । यस्तो संकल्प ले भन्छ कि एकता बिना संवाद अधुरो हुन्छ, तर संवाद बिना राष्ट्रिय स्वार्थ अधुरो रहन्छ । विष्णु पुराणले त छिमेकी प्रथम भन्दै परिचय दिँदै भनेको छ ‘उत्तरं यत्समुद्रस्य हिमाद्रेश्चैव दक्षिणम्। वर्षं तद् भारतं नाम भारती यत्र संततिः ।।’ (समुद्रको उत्तर र हिमालयको दक्षिणको भूमिलाई भारत भनिन्छ, जहाँ भारती सन्तान बस्छन् ।) यसरी राष्ट्रिय एकता र पहिचानको कुरा गर्दै छिमेक पहिलो नीति अवलम्बन गर्न अथ्र्याएको छ । सामूहिक भेटले नेपालको छिमेकी पहिला भन्ने स्वार्थलाई अन्तर्राष्ट्रिय मञ्चमा समानताको दृष्टिले प्रस्तुत गरेको छ । तर, हाम्रा शास्त्रहरुले राजधर्म अर्थात् नेपालको अहिलेको सन्दर्भमा प्रधानमन्त्रीले गर्ने कर्मलाई व्यक्तिगत भेटभन्दा माथि राखेको छ । महाभारतको शान्तिपर्वमा भनिएको छ ‘एवं धर्मान् राजधर्मेषु सर्वान् सर्वास्तम सम्प्रलीनान् निबोध।’ (सबै धर्म राजधर्ममा समाहित छन्, त्यसैले राजधर्म सर्वोच्च हो ।) राजधर्म भनेको राष्ट्रिय स्वार्थ हो । प्रजाको हित, सीमा सुरक्षा, व्यापार, कार्यक्रम र द्विपक्षीय मुद्दा । प्रधानमन्त्रीको मतअनुसार भारतसँग सीमा, व्यापार, सीमासुरक्षा र कार्यक्रमहरू; अमेरिकासँग विकास सहयोग, जलवायु र प्रविधि; चीनसँग बेल्ट एण्ड रोड, व्यापार सन्तुलन; पाकिस्तानसँग क्षेत्रीय सुरक्षा; बङ्गलादेशसँग जलस्रोत र इजरायलसँग कृषि प्रविधि जस्ता मुद्दा फरक–फरक छन् । यो द्विपक्षीय संवादले महाभारतको शान्तिपर्वसँग तादात्म्यकता राख्दछ ‘धर्मो रक्षति रक्षितः’ (धर्मले रक्षित गर्दछ) भनी समर्थन गर्छ । सामूहिक भेट शिष्टाचार हो, तर लिपुलेक, कालापानी जस्ता मुद्दामा भारत र चीनका राजदूत सँगै राखेर तेस्रो पक्षको संलग्नता नगराइकन, त्रिदेशीय द्विदेशीय मुद्दाहरूमा भूमिका नदिने कुरा पनि यही राजधर्मबाट आउँछ । महाभारतको शान्तिपर्व (१२.५६.१२) मा अर्को पनि महत्वपूर्ण श्लोक छ ‘राजा सर्वस्य लोकस्य धर्मस्य प्रतिपालकः।’ (राजा सम्पूर्ण लोकको धर्मको रक्षक हो ।) यसले प्रधानमन्त्रीलाई राष्ट्रिय स्वार्थको रक्षकको रूपमा परिभाषित गर्छ । सामूहिक भेटले बहुपक्षीय मुद्दा (जस्तै जलवायु परिवर्तन, व्यापार नीति, संयुक्त राष्ट्रका एजेन्डा) मा साझा सन्देश दिन्छ, तर द्विपक्षीय मुद्दा (सीमा, सहायता, लगानी) मा व्यक्तिगत संवाद आवश्यक छ । यो भेटको आलोचना गर्नेहरु पनि छन् । केहीले भन्छन्, सामूहिक भेटले ‘दलाल’ भाष्य रोक्छ, तर वास्तविक मुद्दा सल्टाउँदैन । हाम्रा शास्त्रहरूले पनि पनि यसलाई स्वीकार गर्छन् । शान्तिपर्वमा भनिएको अर्को भनाइलाई यहाँ उदाहरणको रुपमा प्रस्तुत गरौँ, ‘यतो धर्मस्ततो जयः (धर्म जहाँ छ, जय त्यहाँ छ) । राष्ट्रिय स्वार्थबिना कुनै पनि भेट ‘जय’ दिँदैन । सामूहिक भेटले बहुपक्षीय मुद्दामा सन्देश दिन्छ, तर द्विपक्षीय मुद्दामा पनि अनौपचारिक संवाद जरूरी छ । प्रोटोकल तोडेर अनौपचारिक भेट हुन्छन् भन्ने मत यस अघिका सरकारहरूको पालामा निकै बहसमा आउने गथ्र्यो । त्यस्ता बहस सही थिए तर राजदूतलाई ‘सजाएर राख्ने’ होइन, स्वार्थअनुसार प्रयोग गर्ने पनि हो । एक्ला एक्लै गरिएका यसभन्दा अगाडिका सरकार प्रमुखहरूसँगको भेटले मुलुकको स्वार्थमा कत्तीको प्रयोग भयो भन्ने कुरा प्रश्नवाचक नै रहेको छ । बालेनले गरेको यो भेटले विगतका व्यक्तिगत भेटलाई ‘एक्सक्लुसिभ पहुँच’ को आरोपबाट मुक्त गरेको छ, तर एक्ला एक्लै भेटमा हुने व्यक्तिगत स्वार्थका रागहरू जस्तै छात्रवृत्ति माग्ने जस्ता घातक काम रोक्ने नैतिकता पनि राजधर्मकै अंश हो । यस्ता प्रवृत्तिबाट सामूहिक भेटले केही हद सम्म मुक्ति भने पाउँछ । मनुस्मृति भन्छ, ‘राजा प्रजानां हितार्थं सर्वदा सततं यतेत् ।’ (राजाले प्रजाको हितका लागि सधैं प्रयास गर्नुपर्छ) । यसले भेटघाटलाई राष्ट्रिय हितसँग जोड्छ । नेपालको सन्दर्भमा यो भेट अझ महत्वपूर्ण छ । हामी सानो, भूपरिवेष्टित र विकासशील देश हौं । भारत र चीन जस्ता शक्ति राष्ट्रसँग सीमा विवाद, व्यापार घाटा र जलविद्युत् सहयोगका मुद्दा छन् । अमेरिका र युरोपसँग विकास साझेदारी, मानव अधिकार र प्रविधि हस्तान्तरणका मुद्दा छन् । सामूहिक भेटले यी सबैलाई एकै ठाउँमा राखेर नेपालको ‘समानता’ को सन्देश दिन्छ, तर समाधान द्विपक्षीय नै हो । यसले ‘फोटो हालेर दलाल भन्ने’ संस्कृति रोक्छ । भोलि बालेनले एक्लै राजदूत भेटेको फोटो हालेर दलाल भन्नेहरू र हिजो देउवा वा ओलीले भेटेका फोटो हालेर दलाल भन्नेहरू उस्तै हुन् । देशको मुद्दा नसल्टियोस् भन्नेहरू हुन् । भोट हालेर जसलाई जिताइन्छ, उसैले भेटघाट र समस्या समाधानको पहल गर्ने हो । अन्तमा, प्रधानमन्त्री बालेनको सामूहिक भेट हाम्रा वेद र पुराणहरूले भनेझैँ एकता (ऋग्वेद) र राष्ट्रिय स्वार्थ (पुराण, महाभारत) को मिश्रण हो । यो शिष्टाचार हो, तर राष्ट्रिय मुद्दा भने द्विपक्षीय नै रहन्छ । कूटनीति पनि हाम्रा शास्त्रहरूले निर्दिष्ट गरेको धर्ममा आधारित हुनुपर्छ, जहाँ राष्ट्रिय हित सर्वोपरि छ । सामूहिक भेटलाई ग्लोरिफाइ वा आलोचना गर्नु अल्पविकसित देशको फुर्सद हो भन्ने मत सत्य छ । यो भेटलाई ‘सं गच्छध्वं’ को प्रारम्भ मानौं, जसले द्विपक्षीय संवादलाई बलियो बनाओस् । राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिँदै, शिष्टाचार र व्यावहारिकताको सन्तुलन कायम राख्नु नै आजको कूटनीतिक राजधर्म हो । यसले नेपाललाई विश्व मञ्चमा सम्मानित र आत्मनिर्भर बनाउने बाटो खोल्छ । जय नेपाल । सबैको जय होस् ।
