IMG-LOGO

संघर्षको बाटोमा मौसमी लामा

 मंगल, बैशाख १, २०८३  – राजकुमार गोले अमेरिका, टेक्सास

          कुनै–कुनै जीवनका कथाहरू केवल व्यक्तिको कथा मात्र हुँदैनन्, ती संघर्ष, साहस र आत्मविश्वासको प्रेरणादायी यात्रा हुन्छन् । यस्तै कथा हो काभ्रेकी युवा व्यवसायी तथा समाजसेवी मौसमी लामाको । सामान्य मध्यमवर्गीय परिवारमा जन्मिएर अनेक अभाव र चुनौतीसँग जुध्दै उनले आज आफूलाई एक सफल कन्सल्टेन्सी व्यवसायी, शिक्षाप्रेमी र समाजसेवीका रूपमा स्थापित गरेकी छन्। काभ्रे जिल्लाको रोसी गाउँपालिका–३, शिखर आम्बोटेमा पिता काजीमान लामा र माता साइली माया लामाको कोखबाट जन्मिएकी मौसमीको जीवन सुरुवातदेखि नै सरल तर संघर्षपूर्ण थियो । परिवारको सीमित आर्थिक अवस्था, समाजका परम्परागत सोच र जीवनका अनगिन्ती चुनौतीहरूबीच उनले आफ्नो बाटो आफैं निर्माण गरिन् ।           उनको विश्वास छ ः महिलाले आत्मनिर्भर बन्ने सबैभन्दा ठूलो शक्ति आफ्नै इच्छाशक्ति हो । यही सोचलाई जीवनको मार्गदर्शक बनाउँदै उनी आज धेरै युवतीहरूको प्रेरणाको पात्र बनेकी छन् । स्ट्रिक्ट पारिवारिक वातावरणमा हुर्किएकी मौसमीको बाल्यकाल साधारण तर सम्झनायोग्य थियो। पढाइप्रति लगाव भएकी उनी धेरैजसो समय होस्टेल जीवनमै बिताइन्। साथीभाइसँगको रमाइलो, शिक्षकहरूको माया र परिवारबाट पाएको अनुशासनले उनको व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ ।           उनी सम्झिन्छिन् ः “साधारण जीवनशैली, परिवारको माया र साथीभाइसँग बिताएका दिनहरू नै मेरो बाल्यकालका सबैभन्दा सुन्दर सम्झना हो ।” तर जीवन सधैं सहज हुँदैन । पढाइ, पारिवारिक जिम्मेवारी र भविष्यका सपनाबीच उनले धेरै उतारचढाव सामना गरिन् । शिक्षाबाट व्यवसायसम्मको यात्रा           उच्च शिक्षाका लागि उनी काठमाडौं आइन् । यहाँ उनले त्रिचन्द्र बहुमुखी क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातक उत्तीर्ण गरिन् । शिक्षा हासिल गर्दै गर्दा उनीभित्र समाजलाई केही दिने चाहना अझै बलियो हुँदै गयो । आज उनी काभ्रेको बनेपामा रहेको बी एण्ड बी कन्सल्टेन्सीकी प्रबन्ध निर्देशक हुन् । बनेपा चारदोबाटो, धुलिखेल जाने बाटोस्थित शालिकछेउमा उनको अफिस छ । उनले जापान, कोरिया, अष्ट्रेलिया, यूके, क्यानडा, अमेरिका लगायत युरोपका केही देशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूलाई परामर्श र मार्गदर्शन प्रदान गर्दै आएको छ । धेरै विद्यार्थीका लागि विदेशमा अध्ययन गर्ने सपना पूरा गराउने माध्यम बनेको छ । नेपाली समाजमा महिला सशक्तिकरणका धेरै कुरा भए पनि व्यवहारमा महिलाले अझै धेरै चुनौती झेल्नुपरेको मौसमीको अनुभव छ ।           उनका अनुसार समाजमा अझै पनि “महिला घरमै बस्नुपर्छ” भन्ने सोच पूर्ण रूपमा हट्न सकेको छैन । परम्परागत सोच, सांस्कृतिक दबाब र आर्थिक असमानताका कारण महिलाले आफ्नो क्षमता देखाउने अवसर सधैं सहज हुँदैन । मौसमी भन्छिन् ः “चाहना र अवसरले मात्र महिला स्थापित हुन सक्दैनन् । त्यसका लागि दक्षता, आत्मविश्वास, जिम्मेवारी पूरा गर्ने क्षमता र धैर्यता पनि उत्तिकै आवश्यक हुन्छ ।” यही गुणहरूको समन्वयले उनी आज सफल व्यवसायी बन्न सफल भएकी हुन् ।           व्यवसाय सुरु गर्नु कुनै पनि व्यक्तिका लागि सजिलो हुँदैन, झन् महिलाका लागि त झन् कठिन हुन्छ । धेरै महिलाहरू समाजको दबाब वा पारिवारिक जिम्मेवारीका कारण आफ्ना सपना त्याग्न बाध्य हुन्छन् । तर मौसमी त्यस्तो महिलामध्ये परिनन् । चुनौतीहरूलाई उनले डरका रूपमा होइन, सिकाइका अवसरका रूपमा स्वीकार गरिन् । “धेरै महिलाहरू साना–साना बहानाले आफ्नो क्षमता रोकेर बस्छन् । तर घरको जिम्मेवारी निभाउँदै पनि बाहिर काम गर्न सकिन्छ ।” उनको भनाई छ ः उनका अनुसार यदि दृढ संकल्पका साथ अघि बढ्ने हो भने कुनै पनि अवरोध स्थायी हुँदैन । जीवनका कठिन मोडहरू पार गर्न परिवारको साथ अत्यन्त महत्वपूर्ण हुन्छ । मौसमी भन्छिन्, श्रीमानको साथ र सहयोगले उनलाई चुनौतीसँग लड्न ठूलो हिम्मत दिएको छ । जीवनका उतारचढावबीच पारिवारिक साथले उनलाई निरन्तर अगाडि बढ्ने ऊर्जा दिएको छ ।           मौसमीको अनुभवमा सफलता कुनै एकैदिन प्राप्त हुने कुरा होइन । यो निरन्तर संघर्ष, धैर्यता र परिश्रमको परिणाम हो । उनले जीवनलाई बुझ्ने आफ्नै दर्शन पनि बनाएकी छन् । “जीवनमा ‘आहा र डाहा’ दुवै चाहिन्छ, ‘अभाव र प्रभाव’ दुवै हुन्छ जीवनभर । तन र मन दुवै बलियो हुनुपर्छ । अनि मात्र मानिस आफ्नो लक्ष्यमा पुग्न सक्छ ।” वास्तविक खुसी भनेको संघर्षपछि प्राप्त हुने सफलतामा हुन्छ । व्यवसायसँगै मौसमी समाजसेवामा पनि सक्रिय छिन् । उनका लागि समाजसेवा कुनै औपचारिक गतिविधि मात्र होइन, यो जीवनको उद्देश्य जस्तै बनेको छ ।           “अरूलाई सहयोग गर्दा उनीहरूको अनुहारमा देखिने खुसी मेरो लागि सबैभन्दा ठूलो पुरस्कार हो ।” उनी भन्छिन् । कसैको समस्या समाधान गर्न सक्दा वा कसैको जीवनमा सानो भए पनि सकारात्मक परिवर्तन ल्याउन सक्दा उनी आफूलाई अत्यन्त भाग्यमानी ठान्छिन् ।           सानो हुँदा मौसमीले धेरै सपना देखेकी थिइन् । तर ती सपनाभित्र सधैं एउटा साझा चाहना थियो समाजका लागि केही राम्रो गर्ने । उनका लागि पद वा प्रतिष्ठाभन्दा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउने जिम्मेवार नागरिक बन्नु महत्वपूर्ण छ । आज पनि उनी त्यही सपना बोकेर अगाडि बढिरहेकी छन् । मौसमीका अनुसार जीवन एउटा लामो यात्रा हो—संघर्ष, अनुभव, सिकाइ र आशाले भरिएको यात्रा । यस यात्रामा कहिले सुख आउँछ, कहिले दुःख । कहिले सफलता मिल्छ, कहिले असफलता । तर यही अनुभवहरूले मानिसलाई परिपक्व बनाउँछन् । “जीवन केवल आफ्नो लागि मात्र बाँच्ने कुरा होइन, अरूका लागि पनि केही राम्रो छोडेर जाने जिम्मेवारी हो ।” उनी भन्छिन् ।           आजसम्मको यात्रामा उनले धेरै कुरा पाएकी छन् । मानिसहरूको माया, विश्वास र साथ । यही विश्वासलाई उनी आफ्नो सबैभन्दा ठूलो सम्पत्ति मान्छिन् । केही कुरा गुमाउन पनि प¥यो—समय, केही अवसरहरू र व्यक्तिगत चाहनाहरू । तर उनी सधैं भन्छिन्, जीवनमा गुमाएको भन्दा सिकेको कुरा धेरै मूल्यवान हुन्छ । आज मौसमी लामा केवल एक सफल व्यवसायी मात्र होइनन्, संघर्ष र आत्मविश्वासको प्रतीक पनि हुन् । सामान्य परिवारबाट उठेर समाजमा आफ्नो पहिचान बनाउने उनको यात्रा धेरै युवतीका लागि प्रेरणाको उज्यालो बनेको छ । मौसमीको जीवनकथा यही सन्देश दिन्छ — सपना देख्न हिम्मत चाहिन्छ, त्यसलाई पूरा गर्न संघर्ष चाहिन्छ, र सफल बन्न आत्मविश्वास । मौसमी लामाको जीवनयात्रा यही सत्यको जिउँदो उदाहरण बनेको छ ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्