मेरो झन्डै सात दशक भन्दा वढीको अत्यन्त नजिकैको मित्र कमल कोईराला वितेको एक वर्ष भयो । अस्तिमात्र उसको सम्झनामा लेखिएका लेखहरुको संगालो पुस्तकको लोकार्पण भएको छ । त्यसमा मैले पनि एउटा लेख लेखेको छु । पुराना सम्झनाहरु राखेर । हामीले सानै उमेरमा जेल जीवन पनि बिताएका हौ । २०१७ साल सम्म हामीहरुको भेटघाट भै रहन्थ्यो । साथी ईश्वर मानन्धरको घरमा सँगै खाने पिउने गथ्र्यै । उसले थाहै नदिई चिर परिचित महिलासँग विवाह ग¥यो । उसको एउटा छोरा र छोरी छन् । उनलाई अन्तिमसम्म पनि छोरी र ज्वाईले दाल भात ख्याएर पालेको कमलले भन्ने गथ्र्यो । निर्वासनमा लामै समय वितायो । मनमोहन अधिकारी को कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्य पनि भयो । निर्वासनमा उसले धेरै दःुख पायो । पछि उ स्वदेश फर्कियो अनि वकालत गर्न थाल्यो । श्रीमतीको देहावसान भए पछि कमल एकदमै फरक भयो तर उसले आफ्नो दःुख कहिले देखाएन । कोरियामा राजदुत भएर बुद्व नेपालमै जन्मेको हो भनेर आधिकारिक मान्यता पनि दिलायो । फर्के पछि उसको जीवन पहिले जस्तो नै थियोे । दृष्टि को सम्पादक पनि भयो । पत्रपत्रिकामा लेखेर आउने पारिश्रमिकबाट उसले रात्रिलाई रमाइलो बनाउँथ्यो हिन्दीको गित गाएर । छोरा अमेरिकामा थियो । काठमाडौंमा बस्दा छोरी ज्वाईले पालेका छन् भन्थ्यो । वहुदल आएपछि संसदको निर्वाचनमा मोरङ वाट जितेको पनि हो तर उसलाई मनमोहनले मन्त्री भने दिएनन् । केही बर्ष यतादेखि उ थाक्दै गएको थियोे । उ वोल्ने भन्दा सुन्ने वढी गथ्र्यो । कागज भेट्टाए केही न केही लेखिराख्थ्यो । सकि नसकि विजुलीवजारवाट वस चढेर मकहाँ आउथ्यो । केही बर्ष अगाडि सिताराम वरालले हामी दुई जनाको भिडियो अन्तरवार्ता पनि लिएका थिए । सिताराम वराल राम्रो पत्रकारमा गनिन्छन् । उनले लिएको आन्तरवार्ता टिभिमा हेरेछन् । त्यसमा केही रमाइला कुरा पनि आए । सितारामलाई धन्यवाद पनि भन्न पाएको छैन । कमल एकदिन पहिले जस्तै गरि आयो । छोराले टिकट पठाईदिएको रहेछ । आउदो शुक्रबार अमेरिका जान्छु भन्थ्यो । जानू अगाडि तिमिसँग भेटन आउछु भन्दै म बाट अलग्गियो । दुई दिन पछि त उसलाई अस्पतालको वेडमा देखे । उसले छोरी र जनआस्थाका सम्पादक किशोर श्रेष्ठसँग कुरा गर्दै थियोे । अस्पतालमा कुरा गर्दा उसको मेरुदण्ड भाँचिएको बाँच्न गाह्रो छ भने । भर्याङ चढदा उत्तानो परेर उ लडेछ । त्यसको दुई दिन पछि उ वितिहाल्यो । अस्पतालदेखि घाटसम्म छोरा ज्वाइँ सँग किशोरले पनि छोडेको रहेनछ । अरु को को थिए मैले सोधिन । उसको दाहसंस्कार गर्न पनि किशोर ले सहयोग गरेको सुने । अस्पतालमा उ वेडमा हुँदा उ छोरी र किशोर सँग कुरा गर्दै उसले आफ्नो जीवनबारे लेखेको किताब किशोरलाई दिन छोरीलाई भन्दै गरेको सुने जस्तो लाग्छ । छोरी रिषाले किशोरलाई दिएको भए किशोर ले प्रकाशित गर्लान् । उसको सम्झनाहरुको विभिन्न व्यक्तिहरुले लेखेका किताब प्रा. कृष्ण पोखरेलले मेहेनत गरेर प्रकाशित गर्नु भएको छ । चाँडै पाउने आशा गर्दछु ।
