कांग्रेस नेतृत्वले फेरि ‘अन्तर्घात’ को कथा सुनाउन मिल्दैन । यसपटकको निर्वाचनमा नेपाली काँग्रेस दोस्रो त भएको छ, तर अधिकांश निर्वाचन क्षेत्रमा जित्ने उम्मेदवारसँग मुख्य प्रतिस्पर्धी बनेका काँग्रेसका उम्मेदवारहरू २०–२५ हजार मतले पराजित भएका छन् । यति ठूलो अन्तरले हार्नु कुनै अन्तर्घातको परिणाम होइन—यो जनताले दिएको स्पष्ट राजनीतिक सन्देश हो । बदलिएको भनिएको नेतृत्वमा पनि जनताले अपेक्षा गरेको आकर्षण र भरोसा देखिएन । नेतृत्व भनेको पद पाउनु मात्र होइन चुनौतीका बीच जनविश्वास निर्माण गर्ने क्षमता हो । भरोसा र विश्वास भाषणबाट होइन, चुनौती पार गर्ने सामथ्र्यबाट जन्मिन्छ । निर्वाचन नै यस्तो क्षण हो जहाँ जनलहर लुक्दैन र जनविश्वास पनि लुक्दैन । यदि काँग्रेस हाँक्न आएको नयाँ नेतृत्वप्रति जनतामा विश्वास हुन्थ्यो भने त्यो मत परिणाममै देखिन्थ्यो । तर जहाँ विश्वास नै जन्मेन, त्यहाँ हारको कारण अन्तर्घातमा खोज्नु आत्मरति मात्र हो । अर्को ठूलो कमजोरी—नयाँ नेतृत्वले भ्रष्टाचारविरुद्धको स्पष्ट र निर्भीक अडानलाई आफ्नो मुख्य राजनीतिक हतियार बनाउन सकेन । आजको नेपालमा जनताको भरोसा जित्ने सबैभन्दा बलियो आधार यही हुन सक्थ्यो । यथार्थ स्वीकार नगरी परिवर्तन सम्भव हुँदैन । जसको अनुहार देखाएर मत आउँदैन भनियो, पछि उसैलाई दोष थोपरेर “उसकै अन्तर्घातले हार भयो” भन्नु राजनीतिक रूपमा जति कमजोर तर्क हो, नैतिक रूपमा त्यति नै लज्जास्पद पनि हो । अरूमा मात्रै नैतिकता खोज्ने राजनीति अन्ततः आत्मघाती हुन्छ । काँग्रेसलाई अब ३५ वर्षभन्दा कम उमेरको नेतृत्व चाहिन्छ—निर्वाचनको सन्देश पनि यही हो । पुरानो नेतृत्वलाई घेराबन्दी गर्नेहरू हिजो जसरी उफ्रन्थे र नेतृत्वको कमजोरीको ढाकछोप गर्थे । नयाँ नेतृत्वलाई घेराबन्दी गर्नेहरू पनि त्यसरी नै उफ्रन्छन् र सवैदोष पुरानो नेतृत्वलाइ थोपर्न चाहन्छन् । तर एउटा कुरा स्पष्ट छ—नैतिकताको मापदण्ड व्यक्तिपिच्छे फरक हुँदैन । जनताको विश्वास भाषणले होइन, चरित्रले जितिन्छ । र विश्वास गुमेपछि ‘अन्तर्घात’ भन्ने बहाना मात्र बाँकी रहन्छ । सुझाव दिने र आलोचना गर्नेहरुलाइ विरोधी कित्तामा राख्नु नै वर्तमान नेतृत्वको कमजोरी हो ।
