अस्ति पौष २७ मा हामीले ३०४औँ पृथ्वी जयन्ती मनायौं । यो दिन केवल एउटा दिन मात्र होइन, यो हाम्रो इतिहासको सबैभन्दा पवित्र र भावुक क्षण पनि हो – यो हाम्रो आँसु हो, हाम्रो मुस्कान हो, हाम्रो प्रतिज्ञा हो ! “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”, हाम्रो दर्शनले माता र जन्मभूमिलाई स्वर्गभन्दा पनि महान् ठान्दछ । नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले आफ्नो जीवन, कर्म र बलिदानलाई यही दर्शनबाट जीवन्त बनाएका थिए । यो दिवसले पृथ्वीनारायण शाहको जन्मदिनलाई स्मरण गर्दै नेपालको एकीकरण अभियानलाई सम्मान गर्दछ । यो मात्र इतिहासको स्मृति होइन, बरु आजको नेपाललाई एकताबद्ध, समृद्ध र स्वाभिमानी बनाउने प्रेरणा हो । यो ज्वाला हो जसले हरेक नेपालीको रगतमा राष्ट्रप्रेमको आगो बाल्छ, जसले हामीलाई सम्झाउँछ कि नेपाल हाम्रो माया हो, हाम्रो गौरव हो, हाम्रो जीवन हो ! पृथ्वीनारायण शाहको प्रतिमूर्तिमा, जसको आँखामा नेपालको एकताको सपना र हृदयमा देशप्रतिको असीम माया झल्किन्छ । १७७९ मा जन्मिएका पृथ्वीनारायण शाहले २० वर्षको कलिलो उमेरमा गद्दी सम्हालेपछि ३३ वर्षसम्म अथक संघर्ष गरे । त्यसबेला नेपाल दर्जनौं साना राज्यहरूमा विभाजित थियो – बाइसे–चौबीसे राज्यहरू जस्ता टुक्राहरूले देशलाई कमजोर बनाएका थिए । तर उनले आफ्नो दूरदर्शी नेतृत्व, सैन्य रणनीति र कूटनीतिबाट ती सबैलाई एकीकृत गरे । गोर्खा राज्यबाट सुरु भएको यो अभियानले काठमाडौं उपत्यका, नुवाकोट, मकवानपुर लगायतका क्षेत्रहरू जोडेर आधुनिक नेपालको आधारशिला राखे । यो एकीकरण युद्ध मात्र थिएन – यो नेपालीहरूको भावनात्मक एकताको महान् क्रान्ति थियो ! ब्रिटिस साम्राज्यवादले दक्षिण एसियाका अन्य क्षेत्रहरूलाई गुलाम बनाउँदा, पृथ्वीनारायणले हामीलाई स्वतन्त्र राखे । हामी आज पनि स्वतन्त्र छौं – यो उनको रगत र पसिनाको उपहार हो ! “म मरे पनि मेरो देश बाँचिरहोस् !” भन्ने भावलाई अन्तिम साससँगै पृथ्वीनारायणले अनुशरण गरिरहे जसले हरेक नेपालीको मुटु छुन्छ । नेपालको ऐतिहासिक नक्सा हेर्दा मन पुलकित हुन्छ, कसरी गोर्खाबाट सुरु भएको यो यात्राले विशाल नेपाल जन्मायो । इतिहास पढदा गर्वले छाती फुल्छ । पृथ्वीनारायण शाहको योगदान नेपालको इतिहासमा अमर छ । उनको योगदान केवल सैन्य विजयमा सीमित छैन ; आर्थिक नीतिहरूमा पनि उल्लेखनीय छ । उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन दिँदै विदेशी व्यापारलाई नियन्त्रण गरे, जसले नेपालको अर्थतन्त्रलाई बलियो बनायो । उदाहरणका लागि, काठमाडौं उपत्यकामा नाकाबन्दी गरेर स्थानीय उत्पादनलाई बढावा दिए । यसबाहेक, उनले जातीय र सांस्कृतिक विविधतालाई ’चार जात छत्तिस वर्णको साझा फूलबारी’ भनेर एकताको सूत्रमा बाँधे । यो फुलबारीमा हरेक फूलले आफ्नो स्थान पाउँछ, तर सबै मिलेर एउटै सुन्दरता सिर्जना गर्दछन् । यही साझा फूलबारीको चेतना थियो जसका कारण नेपाललाई विदेशी प्रभावबाट बचायो र आज पनि उनको दर्शन नेपालको विदेश नीति र राष्ट्रिय सुरक्षाको आधार बनेको छ । त्यसैले हाम्रा दर्शनहरुमा भनिएको छ “ऐक्यं बलं समाजस्य तदभावे स दुर्बलः” (समाजको बल एकता हो, यसको अभावमा दुर्बल हुन्छ) । यो दर्शनले उनको एकीकरण अभियानलाई प्रतिबिम्बित गर्दछ । यो योगदानले हामीलाई सम्झाउँछ कि राष्ट्रप्रेम भनेको बलिदान हो, यो हाम्रो रगतमा बग्ने भावना हो ! पृथ्वीपथ भनेको पृथ्वीनारायण शाहको दूरदर्शी मार्ग हो – स्वावलम्बन, एकता र विदेशी हस्तक्षेपबाट मुक्ति। यो पथले राष्ट्रिय एकता, आर्थिक स्वावलम्बन र सांस्कृतिक संरक्षणलाई जोड दिन्छ । राजा ज्ञानेन्द्र शाहले पनि यसलाई नेपालको लागि सर्वोत्तम रोडम्याप भनेका छन् । यो एक गैर–राजनीतिक अभियानको रूपमा क्रियाशील हुँदैछ, जसले जाति, वर्ग, क्षेत्र र विचारधारालाई एकताको सूत्रमा बाँध्ने प्रयास गर्दछ । यो पथले नेपाललाई आर्थिक रूपमा बलियो बनाउँदै राष्ट्रिय हितलाई प्राथमिकता दिन्छ । “घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्” – यो उनको उपदेशले आजको भ्रष्टाचारलाई ठाडो चुनौती दिन्छ । यो पथमा हिँड्दा मात्र हामीले नेपाललाई साँच्चै बलियो बनाउन सक्छौं । यो पथ हाम्रो लागि मात्र मार्ग होइन, यो हाम्रो मुटुको धड्कन हो ! नेपालको भौगोलिक अवस्थितिले हामीलाई विशेष बनाएको छ – दक्षिण एसियामा अवस्थित यो भूमिबद्ध राष्ट्रको उत्तरमा चीन र दक्षिण, पूर्व तथा पश्चिममा भारत छ । यसको क्षेत्रफल पछिल्लो तथ्याङ्कलाई मान्ने हो भने १४७,५१६ वर्ग किलोमिटर छ, जसमा हिमालयदेखि तराईसम्म विविधता छ । यो अवस्थितिले पर्यटन, जलविद्युत् र जैविक विविधताको सम्भावना दिएको छ, तर भूकम्प, बाढी जस्ता जोखिम पनि बढाएको छ । यस सन्दर्भमा ’दुई ढुङ्गाको तरुल’ उखान प्रासंगिक छ – नेपाललाई भारत र चीनबीचको तरुल भनेर वर्णन गरिएको छ । यो स्थितिले हामीलाई भूराजनीतिक चुनौती दिन्छ, तर यो अवसर पनि हो । “उत्तरको बादशाहसँग ठूलो मित्रता राख्नु, दक्षिणको समुद्रका बादशाहसँग घाँटी तान्नु, तर सतर्क रहनु” – यो उपदेशले हामीलाई विदेशी दबाबबाट जोगिन सचेत गराउँछ । “देशभक्तिः सर्वासु भक्तिषु श्रेष्ठा” (देशभक्ति सबै भक्तिमा श्रेष्ठ हो) ले यस स्थितिमा राष्ट्रप्रेमको आवश्यकता उजागर गर्दछ । यो भौगोलिकता हाम्रो गौरव हो, जसले हामीलाई विश्वको छानामा राख्छ ! नेपाली झण्डा जुन अत्यन्त फरक छ जहाँ चन्द्र सूर्यले हामीलाई सधैं हेरिरहेका छन्, यो हाम्रो गर्व हो, हाम्रो पहिचान हो, हाम्रो जीवन हो ! आजको नेपालको आवश्यकता स्थिरता, समृद्धि र स्वाभिमान हो । आउने वर्षमा नेपाल कम विकशित मुलुकबाट विकाशशील राष्ट्रमा फड्को मार्दैछ जसले चुनौतीहरू पनि ल्याउँछ । आर्थिक वृद्धि घट्ने अनुमान छ, जसको मुख्य कारक राजनीतिक अस्थिरता हो । अब आवश्यकता छः आर्थिक सुधार, रोजगारी श्रृजना, रेमिट्यान्समा निर्भरता घटाउने । राजनीतिक रूपमा, लोकतन्त्रको रक्षा र संविधानको संरक्षण । विदेश नीतिमा सन्तुलन । तर चुनौतीहरू ठूला छन् – युवा पलायन, भ्रष्टाचार, विदेशी प्रभाव । पृथ्वीनारायणको सन्देशले हामीलाई भन्छ ः “सबै मिलेर मुलुकको रक्षा गर्नु !” हालै राजा ज्ञानेन्द्रले पनि यस्तै अभिव्यक्ति पृथ्वी जयन्तीको अवसरमा दिएका छन् । आखिर पुर्खाले आर्जेको भुमिका माया नलाग्ने कुरा भएन । यो आवाजले हामीलाई अझ ऊर्जा थपेको छ, राष्ट्रप्रेम प्रति । रोक्दैन हामीलाई स्वाधीनताको लडाई लड्न, बरु अझ सशक्त बनाएर हामीलाई उभ्याउँछ ! दिव्योपदेश पृथ्वीनारायणको अमर दर्शन हो – वि.सं. १८३१ मा नुवाकोटमा व्यक्त गरिएका विचारहरूको संकलन । यो कृति नेपाली साहित्यको पहिलो आख्यानात्मक गद्य हो, जसमा ६७ शीर्षकहरूमा अर्थनीति, कूटनीति, युद्धनीति, शासन र राष्ट्रप्रेम समेटिएका छन् । “प्रजा मोटो भए दरबार पनि मोटो हुन्छ” – यो वाक्यले जनसमृद्धिको महत्व उजागर गर्दछ । अर्थनीतिमा स्वदेशी निर्यात, परराष्ट्रनीतिमा सन्तुलन, युद्धनीतिमा समावेशी सेना (मगर, गुरुङ, खस र ठकुरीहरुको गुल्म) शासनमा भ्रष्टाचार उन्मूलन । “दुई ढुङ्गाको तरुल” ले भूराजनीतिक सतर्कता सिकाउँछ । आज यो कृति प्रकाशस्तम्भ हो – भ्रष्टाचार, पलायन र चुनौतीहरूको समाधान । यो उपदेश हाम्रो लागि मात्र सल्लाह होइन – यो हाम्रो जीवनको मन्त्र हो ! गोरखाली योद्धाहरूको इतिहास हाम्रो साहस र बलिदानको इतिहास हो ः अन्तमा यति भन्न हिचकिचाउनु पर्दैन की पृथ्वी जयन्तीले नेपालको इतिहासलाई जीवन्त राख्दै भविष्य निर्देश गर्दछ । पृथ्वीनारायणको योगदान, पृथ्वीपथ, भौगोलिक अवस्थिति, दुई ढुङ्गाको तरुल, आजको आवश्यकता र दिव्योपदेशले हामीलाई राष्ट्रप्रेमको आगो बाल्छ । राष्ट्रप्रेम भनेको आँसु होइन – यो कर्म हो, प्रतिज्ञा हो ! आज हामी सबैले मनमनै भनौं ः म स्वदेशी प्रयोग गर्नेछु, म भ्रष्टाचारसँग लड्नेछु, म मेरो देशलाई माया गर्नेछु, म नेपाललाई विश्वको शिखरमा पुर्याउने छु, यति भन्नलाई कुनै राजनीतिक दलको सदस्य भइरहन पर्दैन । एउटा शुद्ध राष्ट्रप्रेमी नेपाली बन्दा हुन्छ ! “सत्यमेव जयते” – सत्यको विजय हुन्छ ! आउनुहोस्, आजको यो पवित्र दिवसमा एकजुट भएर यो अमर मातृभूमिलाई विश्वगुरु बनाउने प्रण गरौं ! जय नेपाल ! सबैको जयहोस् ।
