IMG-LOGO

अङ्ग्रेजी नयाँ वर्ष र सनातन धर्मसँगको सम्बन्ध

 मंगल, पौष २२, २०८२  – आचार्यश्री माधवशरण

       आधुनिक विश्वमा समय मापनका लागि प्रयोग हुने दुई प्रमुख प्रणालीहरू अङ्ग्रेजी (ग्रेगोरियन) क्यालेन्डर र हिन्दू पात्रो (पञ्चाङ्ग) हुन् । ग्रेगोरियन क्यालेन्डर विश्वव्यापी रूपमा प्रयोग हुने सौर्य आधारित प्रणाली हो भने हिन्दू पात्रो चन्द्र–सौर्य (लुनिसोलर) प्रणालीमा आधारित छ, जसले हिन्दू धर्मका चाडपर्वहरू निर्धारण गर्दछ । यी दुवै प्रणालीहरूले समयको चक्रलाई मापन गर्छन्, तर तिनीहरूमा उल्लेखनीय समानता र फरक छन् । आजको अङ्कमा यी दुवैको तुलनात्मक विश्लेषण गरौं । के ग्रेगोरियन क्यालेन्डर वैज्ञानिक छ ? यसको हिन्दू सनातन धर्मसँगको सम्बन्धबारे पनि सानो चर्चा गरौं । मानव सभ्यतासँग सँगै उदाएका यी क्यालेण्डरहरूले देखाउँछन् कि समय मापन प्रणालीहरू सांस्कृतिक, धार्मिक र वैज्ञानिक विकासका उत्पादन हुन् । ग्रेगोरियन क्यालेन्डर र हिन्दू पात्रो दुवैले खगोलीय घटनाहरूमा आधारित समय मापन गर्छन् । दुवैमा वर्ष, महिना र दिनको विभाजन छ । ग्रेगोरियनमा १२ महिना र ३६५.२५ दिनको वर्ष हुन्छ, जसले पृथ्वीको सूर्य परिक्रमालाई आधार मान्छ । त्यसैगरी सनातन हिन्दू पात्रोमा पनि १२ महिना (चैत्रदेखि फाल्गुनसम्म) र लगभग ३५४ दिनको चन्द्र वर्ष हुन्छ, तर अधिमास (अतिरिक्त महिना) थपेर सूर्य वर्षसँग समायोजन गरिन्छ । दुवै प्रणालीहरूले ऋतुहरू (मौसम) लाई ध्यानमा राख्छन्; ग्रेगोरियनले उष्णकटिबन्धीय वर्ष (ट्रोपिकल इयर) लाई आधार बनाउँछ भने हिन्दू पात्रोले भने चन्द्र चक्र र सूर्यको स्थिति दुवैलाई ध्यान दिएको छ । यसबाहेक, दुवैमा सप्ताहका ७ दिन छन्, जसको नामहरू (रविबार, सोमबार, मङ्गलबार आदि) ग्रहहरूबाट आएका छन् । यो समानता प्राचीन खगोलशास्त्रबाट प्रभावित छ, जसले देखाउँछ कि समय मापनको आधारभूत संरचना विश्वव्यापी छ । तर यी दुवै प्रणालीहरूमा केही फरक पनि छ, ग्रेगोरियन पूर्ण रूपमा सौर्य प्रणालीमा आधारित छ भने भने सनातन हिन्दू लुनिसोलर अर्थात् चन्द्र र सूर्य प्रणालीमा आधारित छ । ग्रेगोरियन महिनाहरू २८–३१ दिनका हुन्छन्, वर्ष ३६५ दिनको, र हरेक चार वर्षमा फेब्रुअरीलाई २९ दिनको बनाएर लीप वर्ष थपेर समायोजन गरिन्छ । सनातन हिन्दू पात्रोमा भने महिनाहरू चन्द्र तिथिबाट निर्धारित हुन्छन्, जसमा अमावस्या र पूर्णिमा आधारित ३० तिथि हुन्छन्, र वर्ष ३५४ दिनको हुन्छ । यसले गर्दा हिन्दू चाडहरू ग्रेगोरियन क्यालेन्डरमा हरेक वर्ष १०–११ दिन पछि सर्छन् । दुवै क्यालेण्डरमा नयाँ वर्ष पनि फरक छ । ग्रेगोरियन जनवरी १ बाट सुरु हुन्छ भने हिन्दू विक्रम सम्वत् चैत्र (मार्च–अप्रिल) बाट । क्षेत्रीय रूपमा वर्षको प्रारम्भ हुने दिन फरक पनि छ । जस्तो कि नेपालमा विक्रम सम्वत नै मानिन्छ तर यसलाई सौर्य मासको रुपमा गणना गरिन्छ र मेष संक्रान्ति अर्थात् वैशाख १ गतेलाई वर्षको प्रारम्भ दिन मानिन्छ ।        ग्रेगोरियन बढी व्यावसायिक छ भने हिन्दू धार्मिक र कृषि चक्रसँग जोडिएको छ । यी फरकहरू किन भए ? यी फरकहरू सांस्कृतिक र ऐतिहासिक विकासबाट आएका हुन् । ग्रेगोरियन क्यालेन्डर जुलियन क्यालेन्डरको सुधार हो, जसलाई पोप ग्रेगोरी ह्क्ष्क्ष्क्ष् ले १५८२ मा लागू गरे । जुलियनमा वसन्त विषुव (इक्विनक्स) को विचलन थियो, जसले ईस्टर जस्ता चाडहरू प्रभावित गर्थे । यसलाई सुधारेर सौर्य वर्षलाई ३६५.२४२५ दिन बनाइयो र समायोजन गरियो ।        हिन्दू पात्रो वेद र पुराणहरूबाट विकसित भएको छ, जसले चन्द्र चक्रलाई धार्मिक महत्व दिन्छ । यसले कृषि र चाडहरू जस्तै मेष कर्कट, मकर जस्ता सङ्क्रान्तिहरु सूर्यको राशि परिवर्तन अर्थात् सूर्यको अवस्थिति अनुसार महिनाहरू परिवर्तन हुने अवस्था त्यसैगरी दशैं, दीपावली, शिवरात्री, होली पूर्णिमा जस्ता चाडबाडहरू चन्द्रमाको अवस्थिति अर्थात् तिथिको आधारमा निर्धारण गर्छ । अधिमास थपेर यो वैज्ञानिक रूपमा समायोजित हुन्छ । सनातन हिन्दू क्यालेण्डर वैज्ञानिक छ र यसले खगोलीय पिण्डहरूको अवस्थितिलाई सटिक रुपमा व्याख्या गर्दछ ।        त्यसो भए यो संसारमा किन दुईथरिका क्यालेन्डरहरू प्रयोगमा आए त ? ग्रेगोरियन ईसाई र रोमन प्रभावबाट हो भने सनातन हिन्दू क्यालेण्डर सनातन परम्पराबाट । ग्रेगोरियन नयाँ वर्ष जनवरी १ मा पर्नुको वैज्ञानिक कारण कम छ, यो बढी ऐतिहासिक र सांस्कृतिक हो । रोमन राजा नुमा पोम्पिलियसले जनवरी र फेब्रुअरी थपेर १२ महिनाको क्यालेन्डर बनाए, जनवरीलाई जनुस देवताको नामबाट राखियो, जसले नयाँ सुरुवातको प्रतिनिधित्व गर्छ । यो हिउँद सोलस्टिस (डिसेम्बर २१) पछि पर्छ, जसले उत्तरी गोलार्धमा दिन लामो हुन थाल्छ, तर यो मनमानी छ । यसमा कुनै वैज्ञानिक आधारहरू देखिँदैन । कुनै खगोलीय ’जीरो प्वाइन्ट’ छैन; यसको विपरीत, सनातन हिन्दू नयाँ वर्ष भने वसन्त विषुव नजिक पर्छ, जसलाई बढी वैज्ञानिक मानिन्छ । ग्रेगोरियनको मुख्य विशेषता वर्षको लम्बाइमा छ, न कि जनवरी १ मा ।        ग्रेगोरियन क्यालेन्डर ईसाई र रोमन मूलको भए पनि यसको खगोलशास्त्रीय आधार सनातन धर्मको प्राचीन ज्ञानसँग जोडिन्छ । सप्ताहका ७ दिन र ग्रह नामहरू वेदहरूबाट प्रभावित छन् । सूर्य सिद्धान्त जस्ता ग्रन्थहरूले सौर्य वर्षको गणना गरेका छन्, जसलाई पछि पश्चिमाहरूले पनि आफ्नो क्यालेण्डर बनाउँदा अनुसरण गर्न थाले । सनातन धर्ममा समय अनन्त चक्र हो, जसलाई वेदहरूले वर्णन गरेका छन् । उदाहरणका लागि, ऋग्वेद १.१६४.४८ मा भनिएको छ ः “द्वादश प्रधयश्चक्रमेकं त्रीणि नभ्यानि क उ तच्चिकेत । तस्मिन् साकं त्रिशता न शङ्कवोऽर्पिताः षष्टिर्न च चालयते चासकाव्या ।। अर्थात, समयको चक्रमा १२ प्रधि (महिना), एक चक्र, तीन नाभि छन् । यसमा ३६० स्पोक (दिन) र ६० अचल छन् । यो वर्षको १२ महिना, ३६० दिन (लगभग) को वर्णन हो, जसले सूर्य र चन्द्र चक्रलाई जोड्छ । यसैगरी, सूर्य सिद्धान्तमा सौर्य वर्ष ३६५ दिन ६ घण्टा १२ मिनेट ३६.५६ सेकेन्ड भनिएको छ, यो गणनालाई ग्रेगोरियन क्यालेण्डरले पनि अनुसरण गरेको छ ।        त्यसैगरी ऋग्वेदको १०.१९०.१ मा भनिएको छ “ऋतं च सत्यं चाभीद्धात् तपसोऽध्यजायत । “यो समय र सृष्टिको वर्णन हो । समयको न आदि छ न अन्त्य छ । यो त निरन्तर सृष्टिको चक्र हो । यसले देखाउँछ कि सनातन धर्मको खगोलशास्त्रले पश्चिमी क्यालेन्डरलाई राम्रैसँग प्रभाव पारेको रहेछ, तर यति हुँदाहुँदै पनि ग्रेगोरियनले धार्मिक तत्वहरूलाई भने कम महत्व दिएको छ । किनभने हिन्दु सनातन धर्मद्वारा निर्देशित चन्द्र र सूर्यको गतिमा आधारित क्यालेन्डरलाई अवलम्बन गर्ने हो भने उनीहरुले आफ्नो प्रभुत्व कम भएको महसुस गर्नेछन् ।        निष्कर्षमा के भन्न सकियो भने ग्रेगोरियन क्यालेन्डर कम वैज्ञानिक तर बढी प्रभुत्ववादी र सनातन हिन्दू पात्रो बढी वैज्ञानिक, प्रकृति परक र सांस्कृतिक रहेछ । ग्रेगोरियनको जनवरी १ पश्चिमाहरूको राजा महाराजाहरूले निर्धारण गरेको ऐतिहासिक दिन हो, जबकि हिन्दू पात्रो सनातन धर्मको जरा हो । माथि दिएका वेद र सौर्यशास्त्रहरूले पनि प्रमाणित गर्छन् कि प्राचीन हिन्दू ज्ञान वैश्विक समय मापनको आधार हो । यो विविधताले विश्वलाई समृद्ध बनाउँछ, तर वैश्वीकरणले ग्रेगोरियनलाई प्रमुख बनाएको छ किनभने अहिलेको विश्व नै पश्चिमाहरूको प्रभुत्ववादमा हुर्किरहेको छ र हामी पनि उनीहरूका दास बन्न तछाडमछाड गरिराखेका छौं । त्यसैले त अंग्रेजी नयाँ वर्ष र क्रिसमसलाई हामी धुमधामका साथ मनाइराखेका छौं । तर दशैं, तिहार, फागु पूर्णिमा, धान्य पूर्णिमा, माघे संक्रान्ति, उधौली, उभौली, घाँटु, कौरा, जस्ता हाम्रा सांस्कृतिक धरोहरूलाई बिस्तारै छाड्दै गएका छौं । हराउँदै गएको छ । पश्चिमाहरूले हाम्रा धरोहर र संस्कृतिमाथि, हामीमाथि यसरी प्रभुत्व जमाएका छन् कि हामीलाई हाम्रा धरोहर र संस्कृतिहरूभन्दा गोरेका चाडपर्व र ऐतिहासिक दिनहरू प्यारो लाग्न थालेको छ । त्यसैले त उनीहरू हाम्रो राष्ट्र र राष्ट्रियतामाथि सजिलैसँग धावा बोल्न सकेका छन् । संस्कार हराए संस्कृति हराउँछ । संस्कृति हराए हाम्रो पहिचान हराउँछ, पहिचान हराए हामी हराउँछौं, हाम्रो राष्ट्र हराउँछ, राष्ट्र हराउनु भनेको राष्ट्र हार्नु हो । सबैलाई चेतना भया । सबैको जयहोस् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्