IMG-LOGO

नेपालभाषा आजको अवस्थामा आइपुग्नुमा पूर्वजहरूको महत्वपूर्ण योगदान छ

 मंगल, पौष २२, २०८२  – ओमप्रसाद मानन्धर सचिव, नेपालभाषा साहित्य तःमुंज्या, काभ्रे

       तेस्रो नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन)यहि पौष २६ गते शनिबार बनेपामा हुन गईरहेको छ । बनेपा–७ परिवार नियोजन कार्यालय सगैको परिसरमा हुने सम्मेलनको बारेमा काभ्रे टाईम्सका प्रतिनीधि हरिनाथ न्यौपानेले नेपालभाषा साहित्य तःमुंज्या काभ्रेका सचिव ओम प्रसाद मानन्धर सगँ विशेष कुराकानी गर्नुभएको छ ः–        तेस्रो नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) को बारेमा अलि प्रष्ट पारिदिनु हुन्छ कि ?        हरेक जातजातिको भाषा हजारौँ वर्षको उपज हो । नेपालभाषा पनि आजको अवस्थामा आइपुग्नुमा पूर्वजहरूको महत्वपूर्ण योगदान छ । यसको उत्थान र संरक्षण गर्नु साथै भाषा र साहित्यको माध्यमले देशलाई समृद्ध तुल्याउने तःमुंज्याको उद्देश्य हो ।        नेपालभाषा भाषिक र ऐतिहासिक रूपमा समृद्ध हुँदाहुँदै दुई वर्ष अधिमात्र सरकारी तवरले कामकाजी रूपमा मान्यता दिइयो । यो राम्रो पक्ष हो ।        भाषा, साहित्य र कलाको उत्थान तथा जीवन्त राख्न ठाउँ ठाउँमा यसरी बृहत सम्मेलन हुन पर्छ भन्ने तःमुंज्याको मान्यता हो ।        तेस्रो नेपालभाषा साहित्य तःमुंज्याको तयारी के कस्तो छ ?        तेस्रो नेपालभाषा साहित्य तःमुंज्या विगतको अनुभवबाट सुधार गर्नुपर्ने ठाउँमा सुधार गर्दै अघि बढाइरहेका छौं । अतिथि एवं सहभागीहरूले दिएका सुझावलाई मनन गर्दै व्यवस्थापन गरिरहेका छौं ।        काभ्रे बनेपामा कति प्रतिशत नेवारहरूले नेपालभाषा बोल्ने गरेका होलान् ?        ठ्याक्कै यति नै प्रतिशत भन्ने तथ्याङ्क मसँग छैन । पुरानो नगर क्षेत्रका जेष्ठ नेवारहरूले नेपालभाषा बोल्ने गर्छन् भने नयाँ पुस्तामा नेपालभाषामा बोलीचाली कम भएको देखिन्छ । त्यसकारण पनि नेवारहरूको मातृभाषा जगेर्ना गर्न तःमुंज्याले अर्थपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरेको छु ।        वर्षको एक पटक नेपालभाषा साहित्य तःमुंज्या आयोजना गर्दैमा के नेपालभाषा बाँचिरहन्छ ?        हो, वर्ष दिनमा एक पटक नेपालभाषा साहित्य तःमुंज्या गर्दैमा नेपालभाषाको संरक्षण र विकास हुने होइन । नयाँ पुस्ताले उपयोगमा ल्याउने हरेक क्षेत्रमा नेपालभाषाको प्रयोग हुनु आवश्यक छ । अध्ययनको लागि तःमुंज्याले स्मारिका प्रकाशित गरेको छ । साथै उपत्यकाबाट प्रकाशित हुने नेपालभाषाका पत्रपत्रिकाहरू तःमुंज्यासँग सम्बन्धित साथिहरूले वितरण पनि गरिरहनु भएको छ ।        आजको दिनसम्ममा तेस्रो नेपालभाषा साहित्य तःमुंज्यामा साहित्य र सांस्कृतिक विधामा कतिको सहभागिता भएको छ ?        एक दिनको सम्मेलन भएकोले सोही अनुसारको सहभागित भइरहेको छ ।        तःमुंज्यामा नेपालभाषाको साहित्य मात्र वाचन हुन्छ होला हैन र ?        प्रतिस्पर्धामा नेपालभाषाका साहित्य मात्रै हुने भएता पनि देशका सबै भाषा र जातिको उत्थान हुनुपर्ने तःमुंज्याको मान्यता हो । सोही अनुरूप तःमुंज्याको दबलीमा अन्य जातजातिका भाषालाई पनि विगतदेखि नै स्थान दिँदै आएको छ । यसपालि पनि त्यसमा निरन्तरता दिइनेछ ।        प्रतिस्पर्धाको कुरा गर्नु भयो, के पुरस्कारको पनि व्यवस्था छ ?        साहित्य तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेहरूलाई पुस्तक पुरस्कार र प्रमाणपत्र प्रदान गरिन्छ । सांस्कृतिक प्रस्तुति गर्नेहरूलाई प्रशंसापत्र प्रदान गर्ने गरेका छौं ।        साहित्य दर्ताको लागि शुल्क लाग्छ कि ?        नेपालभाषा साहित्य तःमुंज्याले साहित्य र सांस्कृतिक प्रस्तुतिमा कुनै शुल्क लिने गरेको छैन । साहित्यकार र कलाकारहरूले देश र जनताको हितमा प्रस्तुति देओस् भन्ने हाम्रो अपेक्षा रहेको छ । तःमुंज्या काभ्रे मात्र तेस्रो वर्षको कार्यक्रमसम्म आइपुगेको छ; तसर्थ चाहेजस्तो साहित्य र सांस्कृतिक विधाहरू उपलब्ध हुने अवस्था हुन्न । अहिले भाषा, साहित्य र कलामा जागरूकता ल्याउनु नै प्रमुख उद्देश्य हुन आउँछ ।        साहित्यमा युवाहरूको सहभागिता कतिको छ ?        नयाँ पुस्ताको सहभागिता बढ्दै गएको छ । अग्रज साहित्यकारहरूको सहभागिता पनि प्रशंसायोग्य नै मान्नुपर्छ । अनुजहरूलाई मार्गनिर्देशन गर्नका लागि पनि अग्रजहरूको सहभागिता आवश्यक छ ।        कस्तो खालको साहित्य र सांस्कृतिक विधाहरू तःमुंज्याको दबलीमा प्रस्तुत गरिन्छ ?        नेपालभाषा साहित्य तःमुंज्याको उद्देश्य भनेको साहित्य र कलाको माध्यमले देश र जनताको सेवा गर्नु हो । साहित्य र कला मनोरञ्जनको लागि मात्र हुनुहुन्न भन्ने तःमुंज्याको मान्यता हो । नेपालभाषा साहित्य तःमुंज्या काभ्रेमा भर्खर बामेसर्न लागेको अवस्था भएकोले सहभागीहरूलाई सकभर सहज होस् भन्ने हेतुले सहभागीका सिर्जनाहरूलाई प्राथमिकता दिएका छौँ ।        साहित्यको मूल्याङ्कन व्यवस्था कसरी गर्नुभएको छ ?        विविध विधामा समावेश भएका रचनाहरू संकलन गरेर अग्रज साहित्यकारहरूबाट मूल्याङ्कन गराइ आएका छौँ । नेपालभाषा बाहेक अन्य जातजाती भाषाभाषीहरूका प्रस्तुतीलाई मूल्याङ्कनमा नराखिए पनि प्रोत्साहन स्वरूप प्रशंसा–पत्र प्रदान गरिएको छ । त्यस्तै अतिथिहरूलाई सम्मान गर्ने र सांस्कृतिक गुरूलाई प्रशंसा–पत्र सहित सम्मान गर्ने गरिएको छ; यो पनि एक प्रकारको मूल्याङ्कन नै हो । समाजका विविध क्षेत्रमा रहेर आपूmसक्दो सेवा गरिआएकाहरूको मूल्याङ्कन गर्ने यो अवसर पनि हो । प्रतिस्पर्धा बिना पनि समाजको हित र सेवामा संलग्न व्यक्तित्वहरूको मूल्याङ्कन पैसा र उपहारमा मापन गर्ने होइन; सानो सम्मानले पनि विशेष अर्थ राख्दछ ।        आर्थिक स्रोत कसरी जुटाउनु भयो ?        नेपालभाषा साहित्य तःमुंज्याको सुरूवात नै जनसहभागिताबाट भएको हो । जनतासँग तःमुंज्याले सक्दो सहयोगको लागि अपिल गरेको छ । साथै स्थानीय निकायलाई पनि सहयोगको निम्ति अपिल गरेका छौँ । विगतमा पनि यसै गरि जनस्तरबाट नै आर्थिक सङ्कलन गरेर पहिलो र दोस्रो तःमुंज्या सम्पन्न गरेका थियौँ ।        अन्तमा तःमुंज्या सम्बन्धि पत्रिकामार्फत् केही भन्नु छ ?        तेस्रो नेपालभाषा साहित्य तःमुंज्याको सिलसिलामा मलाई आफ्नो विचार राख्ने अवसर दिनुभएकोमा लोकप्रिय पत्रिका काभ्रे टाइम्सको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । साथै तपाइँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु । यही आउदो पुस २६ गते बिहान ११ः०० बजेबाट बनेपा नगरपालिका वडा नं. ७ स्थिति गाःबहःननी चोक (नेपाल परिवार नियोजन कार्यालयसँगै) हुने तेस्रो नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) भव्य एवं सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण महानुभावहरूलाई हार्दिक आमन्त्रण गर्दछु ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्