IMG-LOGO

पश्चिमीकरणले नेपालमा पैदा गरेको अस्थिरता

 मंगल, पौष १५, २०८२  – आचार्यश्री माधवशरण

     नेपाल, विश्वको एकमात्र हिन्दू राष्ट्रबाट २००७ मा धर्मनिरपेक्ष राज्य बनेपछि, धार्मिक परिदृश्य मात्र नभएर सामाजिक राजनैतिक परिदृश्यमा समेत ठूलो परिवर्तन आएको छ । यस परिवर्तनको प्रमुख कारक पश्चिमीकरण हो भन्दा फरक पर्दैन, जसलाई अमेरिका र युरोपियन युनियन जस्ता मुलुकहरुले मलजल गरेका छन् । यही मलजलका कारण मुलुकमा सामाजिक, सांकृतिक जनसांख्यिकि सन्तुलन बिगार्दै सामाजिक अस्थिरता निम्त्याइरहेको छ । १९६१ सम्म पश्चिमाहरूको प्रभुत्व कम थियो। त्यतिबेलाको जनगणनालाई मान्ने हो भने ४५८ जना मात्र ईसाई बनाएका पश्चिमाहरुले २०११ सम्म आइपुग्दा यो संख्या १.४ प्रतिशत पुगेको थियो, र हाल फेडेरेशन अफ नेशनल चर्चेस अफ नेपालको तथ्याङ्कलाई विश्वास गर्ने हो भने यो करिब १० प्रतिशत पुगेको छ, यसका प्रत्यक्ष प्रमाणहरू अंग्रेजी नयाँ वर्ष र क्रिसमसका अवसरमा जनजाति एबम् कम आय भएको नेपाली समाजले पश्चिमी संस्कृतिहरु अवलम्बन गरेर देखाएका छन् । यो वृद्धि मुख्यतया विदेशी कोष र प्रलोभनबाट प्रेरित छ, उनीहरुले दिएको आर्थिक प्रलोभन, यो वा त्यो नाममा गरिने सहयोग जसले हिन्दू, बौद्ध र किरात समुदायहरूमा सांस्कृतिक तथा सामाजिक विचलन ल्याइदिएको छ । यसले धार्मिक सद्भाव भंग गर्दै राजनीतिक र सामाजिक अस्थिरता बढाएको छ ।      पश्चिमीकरणबाट भएका घटनाहरू, विदेशी शक्तिहरूको खर्चका उदाहरणहरू र यसको प्रभावको एउटा छोटो चर्चा गरौं । पश्चिमीकरण भन्नुस् या ईसाइकरण, प्रक्रिया एउटै हो जसले नेपालका परम्परागत समुदायहरूमा विभाजनको रेखा खिचिदिएको छ, जसमा प्रलोभन, सांस्कृतिक विनाश र सामाजिक विभाजन प्रमुख छन् । उदाहरणका लागि, चेपाङ समुदायमा पश्चिमी ईसाई मिशनरीहरूले पैसाको प्रयोग गरेर रूपान्तरण गर्दा आन्तरिक द्वन्द्व बढेको छ । मिशनरीहरूले परम्परागत संस्कृति र अनुष्ठानहरूलाई पछौटे पन भनेर बदनाम गर्दै ईसाई धर्मलाई उत्कृष्ट उपचारको रूपमा प्रस्तुत गरेका छन् । यसले समुदायमा द्वन्द्व निम्त्याएको छ, जसमा रूपान्तरितहरूले गैर–रूपान्तरितहरूलाई सामाजिक रूपमा बहिष्कार गर्ने र परम्परागत रीतिरिवाजहरू त्याग्ने स्थिति सिर्जना भएको छ । जनजाति भन्ने नाम दिएर उदाएका एकजना शेर्पा थरका नेताले त दशैंको बेला कालो टिका लगाएर बहिष्कारको आन्दोलन चलाएका थिए । बेलायती पत्रिका न्गबचमष्बल ले विगतका वर्षका केही अंकमा हिन्दू, बौद्ध, किरात एबम् गैह्र समुदायका अभियन्ताहरुसँग गरेको एउटा अनुसन्धान रिपोर्टमा लेखेको छ, विदेशी कोषले ईसाईधर्मलाई बढावा दिँदा सामाजिक सांस्कृतिक संरचनामा ठूलो खाडल पार्न थालेको जसले नेपाली सामाजमा तनाव बढाएको छ । यस्तै, गरिब र विपन्न समुदायहरूमा ईसाईहरूले चमत्कार र विश्वास उपचारको नाममा परम्परागत विश्वासहरूलाई कमजोर बनाउने काम गरेका छन्, जसलाई किरात र बौद्ध समुदायहरूले सांस्कृतिक दमनको रूपमा हेर्छन् । त्यो पत्रिकाले सामाजिक दृश्यलाई पुष्टि गर्न अर्को घटना २०१५ को भूकम्पपछिको लागि पनि देखाएको छ, जसमा ईसाई मिशनरीहरूले राहत सामग्रीसँगै बाइबल वितरण गरेर रूपान्तरणलाई बढावा दिए । यसले हिन्दू र बौद्ध समुदायहरूमा आक्रोश पैदा गर्यो ।      यसले सामाजिक विभाजन बढायो, जसमा रूपान्तरित परिवारहरूले आफ्ना परम्परागत समुदायबाट अलग हुने स्थिति सिर्जना भयो । किरात समुदायमा पनि यस्ता घटनाहरू देखिएका छन्, जहाँ ईसाईहरूले आर्थिक प्रलोभन दिएर युवाहरूलाई रूपान्तरण गर्दा पारिवारिक र सामुदायिक द्वन्द्व बढेको छ । यसलाई नेपाली समाज विखण्डन गराउने र पश्चिमा प्रभुत्व जमाउने अभियानको रूपमा हेर्न सकिन्छ, किनकि यो प्रक्रियाले परम्परागत रुपमा मिलेर बसेको समाज र धर्महरूको अस्तित्वलाई चुनौती दिन्छ र सामाजिक सद्भाव भंग गर्छ । यसबाहेक, पश्चिमा ईसाई निर्देशित सहयोगहरूबाट भएका क्रियाकलापहरूले नेपाली समाजमा राष्ट्रवादीहरूबाट प्रतिक्रिया निम्त्याउने प्रक्रियाको रुपमा पनि अभियान संचालित छ । यसैको परिणाम हो राष्ट्र राष्ट्रियता एबम् नागरिक बचाउ अभियान । पश्चिमा एनजीओ आइएनजिओहरूले नेपालमा ईसाई धर्म फैलाउन गरेको खर्च यस अस्थिरताको प्रमुख कारक हो । यस्ता प्रशस्त उदाहरण छन्, जस्तै युनाइटेड मिशन टु नेपाल (यूएमएन), जस्ले विगत ६५ वर्षदेखि सामाजिक सेवाको नाममा नेपाली समाजलाई बिखण्डित गराउने र ईसाईधर्मलाई लाभ पुर्याउने कार्यक्रम सञ्चालन गर्दै आएका छन्, जसले रूपान्तरितहरूलाई रोजगारी र जीवनस्तर सुधार्ने अवसर दिन्छ तर गैर–रूपान्तरितहरूलाई वञ्चित गर्छ ।      दक्षिण एबम् उत्तर कोरियाली मिशनरीहरूले पनि ठूलो कोष लगानी गरेका छन्, जसमा चर्च निर्माण र पास्टरहरूलाई मोटरबाइक दिने कार्यक्रम समेत पर्दछ । नेपालका कम्युनिष्ट नेताहरुको होली वाइन काण्डका बारेमा यो लेखमा सायद भनिरहनु नपर्ला । यी माथिका उदाहरणहरू बेलायत बाट प्रकाशन हुने तजभ नगबचमष्बल पत्रिकाले प्रकाशन गरेको थियो । २०१९ मा नेपालबाट प्रकाशित हुने काठमाडौं पोस्टले पनि, हिमालयन बाइबल स्टडी एकेडेमी, विटनेस सोसाइटी र नेपाल क्रिश्चियन बाल शिक्षा संघ जस्ता एनजीओहरूले ईसाईहरूलाई मात्र लक्षित गरेर करोडौं रूपैयाँ खर्च गरेका छन् भनेर एउटा रिपोर्ट प्रकाशन गरेको थियो। काठमाण्डौ पोष्टका अनुसार विटनेस सोसाइटीले २६४ मिलियन रूपैयाँ खर्च गरेर ११ जिल्लामा धार्मिक क्रियाकलाप सञ्चालन गरेको थियो, भने नेपाल क्रिश्चियन बाल शिक्षा संघले ५.६ मिलियन रूपैयाँ बाइबल शिक्षामा लगानी गरेको थियो ।      यी क्रियाकलापहरूले धार्मिक सद्भाव भंग गर्ने जोखिम बढाएको भन्दै नेपाल सरकारले २०१९ मा नयाँ विकास सहयोग नीति ल्याएर विदेशी एनजीओहरूलाई धार्मिक गतिविधि गर्ने संस्थाहरूलाई आर्थिक सहयोग दिन निषेध गर्ने नीति ल्याएको थियो तर तेस्तो निषेध नीतिको प्रभाव भने खासै परेको देखिंदैन । जसको पछिल्लो उदाहरण हो, नेपाली समाजमा अस्थिरता पैदा गर्ने उद्धेश्य अनुसार, २०२१ मा यूएस डिपार्टमेन्ट अफ स्टेटले ’धार्मिक स्वतन्त्रता प्रवद्र्धन तथा रक्षा’ को नाममा ५ लाख डलरको अनुदान घोषणा गरेको थियो, जसमा नास्तिक, मानववादी र गैर–धार्मिक संस्था एबम् व्यक्तिहरूलाई यो सहयोग रकम दिइएको थियो ताकि नेपाली समाज जो सनातनी परम्परामा आफ्ना दिनचर्या बिताउँछन् उनीहरूमा अस्थिरता पैदा गर्न सकियोस् । यो अनुदान ह्युमनिस्ट इन्टरनेसनल भन्ने संस्थालाई दिइएको थियो, जसले नेपाल र श्रीलंकामा कार्यक्रम सञ्चालन गर्छ । यो अमेरिकी सहयोग र रिपोर्ट जसले संसद् र मिडियामा समेत बहस निम्त्याएको थियो ।      स्मरण रहोस् यही सेरोफेरोमा ब्रिटिस राजदूतले २०१४ मा धर्म परिवर्तनको अधिकार संरक्षण गर्नुपर्ने वकालत समेत गरेका थिए, यो पश्चिमाहरु विशेष गरेर ईशाइ मिसनारीहरुको गतिविधिलाई निर्वाध सन्चालन हुन दिनु पर्छ भन्ने विदेशी हस्तक्षेपको ज्वलन्त उदाहरण हो । यस्ता कोषहरूले विशेष गरी भूकम्प र कोभिड जस्ता विपत्तिमा सहयोग गर्ने बहानामा धार्मिक रूपान्तरण एबम् सामाजिक अस्थिरता बढाएको छ जसले गरिब समुदायहरूलाई निशाना बनाउँछ । यसरी नेपाली समाजमा जरा गाडेर बसेको पश्चिमिकरणको अभियानलाई विश्लेषण गर्दा, यसले ईसाइकरणको अभियानलाई बढावा दिएको छ र नेपालमा अस्थिरता पैदा गर्नुका साथै जनसांख्यिक परिवर्तन, सामाजिक विभाजन र बाह्य हस्तक्षेप निम्त्याएको छ । यसले हिन्दू, बौद्ध र किरात समुदायहरूको सांस्कृतिक पहिचानलाई कमजोर बनाएको छ । पश्चिमी आइएनजिओका गतिविधिले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप बढाएको छ ।      सरकारले रूपान्तरणविरुद्ध कानुन बनाए पनि, कार्यान्वयन कमजोर छ, जसले अस्थिरता बढाइरहेको छ । पश्चिमिकरणको आवरणमा भइरहेको ईसाइकरण नेपालको लागि चुनौतीपूर्ण बनेको छ, जसले अस्थिरता निम्त्याइरहेको छ । यसलाई रोक्न प्रभावकारी रूपान्तरणविरोधी कानुन, विदेशी एनजीओहरूको अनुगमन र हिन्दू बौद्ध किराँत राष्ट्रको रुपमा मुलुकलाई विश्वसामु फेरि चिनाउनु आजको आवश्यक हो । यसले मात्र धार्मिक सद्भाव कायम राख्न सक्छ । सबैको जयाहोस्‌

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्