IMG-LOGO

नेपालको पछिल्लो राजनीतिक अवस्था

 मंगल, पौष १५, २०८२  – जेपी गुप्ता

     नेपालको पछिल्लो राजनीतिक इतिहास केवल दलहरूको असफलताले होइन, तिनलाई वैचारिक आवरण दिँदै आएका एक वर्गका बुद्धिजीवीहरूको दोहोरो चरित्रले पनि विकृत बनेको छ । जेन्जी बिद्रोह अघिको कालखण्ड यसैको ज्वलन्त उदाहरण हो ।      जेन्जी विद्रोहभन्दा पहिले यही बौद्धिक वर्गले काँग्रेस–एमाले सत्ता गठबन्धनलाई खुलेर मन पराएन । केपी ओली नेतृत्वको सरकारलाई निरन्तर आलोचना गर्‍यो, नेपाली काँग्रेसलाई “गठबन्धन तोड” भन्ने उपदेश दियो । उनीहरूको भाष्यमा सत्ता अस्थिर थियो, गठबन्धन अप्राकृतिक थियो, र ‘सुधार’ अनिवार्य थियो। तर जब त्यो असन्तोष भयावह जेन्जी बिद्रोहका रूपमा विस्फोट भयो, तब यिनै बुद्धिजीवीहरूको स्वर अचानक बदलियो ।      बिद्रोहलाई ‘स्वाभाविक’ भन्दै परिणामलाई ‘विध्वंशक’ करार गरियो । तर यहाँ एउटा खतरनाक मौनता देखियो— जेन्जीका राजनीतिक, सामाजिक र पुस्तागत मागहरूबारे बोल्ने साहस कसैले गरेन । सम्पूर्ण जिम्मेवारी ‘विदेशी षडयन्त्र’ को थुप्रोमा हालियो । यो इमान्दार विश्लेषण होइन, बौद्धिक पलायन थियो ।      यथार्थ के हो भने, यी बुद्धिजीवीहरू अदृश्य रूपमा पुरानै अवस्थाको पुनरावृत्ति चाहन्थे । काँग्रेस, एमाले र माओवादीकै सीमित घेराभित्र ‘चुनाव’ पछिको राजनीतिक ध्रुवीकरण होस्, सत्ता फेरि उही हातमा घुमिरहोस्‌— यही उनीहरूको अघोषित चाहना थियो । परिवर्तनको कुरा गर्ने, तर परिवर्तन आएपछि तर्सिने— यही हो यिनको वास्तविक अनुहार ।      आज अवस्था फेरि निर्णायक मोडमा छ । जब पुराना दलहरूलाई सीधै चुनौती दिने गरी बालेन शाह र रवि लामिछाने बीच चुनावी समझदारीको संकेत देखियो, जब बालेन शाहलाई सम्भावित भावी प्रधानमन्त्रीका रूपमा चर्चा गर्न थालियो— तब यही बौद्धिक वर्ग फेरि तरंगित भयो । अचानक विश्लेषण हरायो, तर्क कमजोर भयो, र फेरि पुरानै ‘विदेशी षडयन्त्र’ को भाष्य निकालियो । प्रश्न सरल छ : यदि जन–आधारित नयाँ राजनीतिक विकल्प देशी हुँदैन भने देशी के हो ? यदि युवाको असन्तोष षडयन्त्र हो भने पुराना दलहरूको असफलता के हो ?      यी बुद्धिजीवीहरू वास्तवमा लोकतन्त्रको रक्षा गर्न डराइरहेका छैन उनीहरू आफ्नै वैचारिक प्रभुत्व गुम्ने डरले पनि त्रसित छन् । किनकि नयाँ नेतृत्वले न उनीहरूको पुराना सिद्धान्तलाई बोक्छ, न उनीहरूको अनुमतिमा राजनीति गर्छ । त्यसैले बालेन ‘अराजक’ देखिन्छन्, रवि ‘खतरनाक’ ठहरिन्छन्, र जनता ‘भुलाइएका’ करार गरिन्छन् ।      यो प्रवृत्ति केवल कायरता होइन, बौद्धिक बेइमानी हो । जेन्जी बिद्रोहका बेला प्रश्न नगर्ने, तर नयाँ राजनीतिक विकल्‌प देख्दा देश अस्थिर हुने डर देखाउने— यो दोहोरो चरित्र अब नांगो भइसकेको छ । नेपाललाई आज विदेशी षडयन्त्रभन्दा ठूलो खतरा यिनै स्वघोषित बुद्धिजीवीहरूको चयनात्मक चेतनाबाट छ । जबसम्म यो वर्ग आत्मआलोचनाको कठघरामा उभिँदैन, तबसम्म न बिद्रोह बुझिन्छ, न परिवर्तन स्वीकारिन्छ, न लोकतन्त्र बलियो हुन्छ । अब प्रश्न बुद्धिजीवीहरूलाई होइन, जनतालाई हो —      पुरानै गल्तीलाई वैचारिक भाष्य बनाएर दोर्होयाउने कि, नयाँ जोखिमसहित नयाँ सम्भावनालाई अवसर दिने ? इतिहासले उत्तर खोजिरहेको छ ।      

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्