कविता दिनभरि सुकेको बाँसझै आफ्नो खोक्रोपनमाथि उँघेर, पछुताएर, दिनभरि रोगी मलेवाझै आफ्नो छाती आफ्नो चुच्चोले ठुँगेर, घाउहरु कोटयाएर; दिनभरि सल्लाघारीझै एकलासमा अव्यक्त वेदनाले सुँक्क–सुँक्क रोएर; दिनभरि पाते च्याउझैं धरती र आकाशको विशालतादेखि टाढा एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर, एउटा सानो छाताले आफुलाई ढाकेर साँझमा जब नेपाल खुम्चिएर काठमाडौं काठमाडौं डल्लिएर नयाँ सडक र नयाँ सडक – असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर, टुक्रिएर, अखबार, चिया र पानको पसल बन्छ, किसिम–किसिमका पोशाकमा ओहोर–दोहोर गर्छन् थरीथरीका हल्लाहरु फुल पारेको कुखुराझै कराउँदै हिंड्छन् अखबारहरु र ठाउँ–ठाउँमा अन्धाकार पेटीमा उक्लिन्छ मोटरहरुको प्रकाशदेखि तर्सेर अनि असंख्य मौरीको भुन्भुन् र डसाइदेखि आत्तिएर म उठ्छु न्यायको दिनमा प्रेतात्माहरु उठेझैं र नपाएर बिस्मृतिको ’लेथे’ नदी रक्सीको गिलासमा हाम्फाल्छु र बिर्सन्छु आफ्नो पूर्व कथालाई पूर्वजुनी र मृत्युलाई यसरी नै सधै चियाको किटलीबाट एउटा सूर्य उदाउँछ, सधै रक्सीको रित्तो गिलासमा एउटा सूर्य अस्ताउँछ घुमिरहेकै छ म बसेको पृथ्वी – पूर्ववत् फगत म अपरिचित छु वरिपरिका परिवर्तनहरुदेखि, दृश्यहरुदेखि, रमाइलोदेखि, प्रर्दशनीको घुम्ने मेचमाथि करले बसेको अन्धो जस्तै
