यो जीवनको खेल, सास र लास बीचको समय हो । त्यस बीचमा पनि आस र त्रासले घर बनाउँछ । त्यसै लहरोमा झुण्डिएरै हामीहरुको ईह लिला समाप्त हुन्छ । डेढ वर्ष अघि म गम्भीर बिरामी नपरेको भए महाभारतका चरित्रहरूको चित्रण यसरी नियमित रुपमा काभ्रे टाइम्समा आउने थिएन । विदेशी भूमिमा लामो अस्पताल बसाई, आफ्नो भन्नु कोही नहुँदाका ति पल मलाई सम्झन मन छैन तर मैले आफ्नो माटो,आफ्नो गाउँका एक एक घरधुरी र तिनका सदस्यहरु गनेको मात्र होईन । बाल्यकालमा टेकेको माटो, पार गरेका बाटोहरु, तरेका खोला, त्यति मात्र पनि होइन, मामा घरका तत्कालिन घरधुरी र सम्झिए जतिका आफन्तका अनुहारहरु, आँखा चिम्लिएर हेरेको छु । अस्पताल बसाईकै क्रममा त्यो उमेरसम्म आफूले कृति जन्य काम गर्न नसकेकोमा भने पश्चाताप थियो मलाई । यस अघि लेखिएका, छापिएका अनेक विषय छरपष्ट भएको ठाँने । अहिलेसम्म मेरो कृति पुस्तककार रुपमा बाहिर आएको छैन । जव हस्पिटलबाट डिस्चार्ज भएपछि केही महत्वपूर्ण कुरा छोडौं भन्ने अठोट मनले त ग¥यो तर के गर्ने ? एक रात दुई दिन मेसो नै पाइन, र आएन । एक्कासी महाभारतका पात्रहरु र तिनका भूमिकाको अध्ययन गर्ने र त्यसलाई क्रमाकं रुपमा श्रोत खुलाएर लेख्ने अठोटले लेख्दै जाँदा झन्डै १९ महिना बितेछ । करिव करिव मुख्य पात्रहरुको चित्रण भईसकेको छ अब मात्र भाषा र शैली मिलाएर पुस्तकका रुपमा आउँन बाँकी छ । हजारौ वर्ष अघि लेखिएको महाभारत हिन्दुहरुको धरोहर त हँुदै हो । “महाभारत” विश्वभरका हिन्दुको लागि अद्वितीय यो एक धार्मिक, पौराणिक, ऐतिहासिक र दार्शनिक पाठ हुनुपर्छ । हिन्दु धर्मको मुख्य शास्त्रहरु मध्ये एक हुनु पर्छ । यो प्रत्येक भारतीय र नेपालीको लागि एक अनुकरणीय स्रोत पनि हो । मैले लेख्दै र भन्दै आएको छु कि यो मेरो मौलिक रचना होइन । आज त्यही लेखन श्रोत बारेमा केही कुरा खोल्दैछु । बि.आर चोपडाले निर्माण गरेको महाभारत कथाको भिडियो मैले ३० वर्ष अघि नै फाटफुट मात्र हेरेको थिएँ । त्यतिबेला हिन्दी भाषा आउँदैन थियो । बनेपा, दक्षुटोल स्थित लालकाजी बादे श्रेष्ठको घरमा मेरो डेरा थियो । घरभेटीका सबै सदस्यले टिभिमा धारावाहिक आउने महाभारत हेरेपछि महाभारतमा खेल्ने पात्रहरुलाई भने मैले चिन्न सकेको थिएँ । पछि युरोपको पोर्चुगल स्थित बाग्रा शहरमा एक्लो बसाईका क्रममा सबै भाग हेर्न भ्याएं रमाईलो मात्र होइन महाभारत ज्ञानवद्र्धक लाग्यो तर जति कुरा भिडियोका श्रृखलाहरुमा बाहिर आयो त्यो लेखिएका महाभारतका विभिन्न पुस्तकमा आएका भन्दा मलाई सारांश लाग्यो । तर पनि बि.आर चोपडाले निर्माण गरेको महाभारत उत्कृष्ट छ र हामी सबैले एकपल्ट सबै भागहरु हेर्नु पर्छ । अहिले सम्म काभ्रे टाइम्समा आएका महाभारत कथालाई मैले विभिन्न कोणबाट लेखिएका महाभारत कथाहरुका पात्रका चरित्रलाई आफ्नै दृष्टिले चिन्दै, बुझ्दै आफ्नै भाषा र विचारमा प्रस्तुत गरेको मात्र हुँ । श्रोत र सामाग्री भने विभिन्न भाषामा लेखिएका पुस्तक र भारतीय र नेपाली लेखकले लेखिएका पुस्तकबाट लिएको हुँ । नेपाली र भारतीय पत्रपत्रिकामा विभिन्न विद्वान लेखकले लेखेका लेखका केही हरफहरु पनि मैले पुस्तकमा साभार गरेको छु । सबै श्रोत सामाग्री पुस्तकमा खुलाउने नै छु । मैले पुस्तकका रुपमा यो नै मेरो पहिलो पुस्तक हुनेछ । यस अघि आफ्नै काभ्रे टाइम्स, नेपालका विभिन्न पत्रिकाहरु, युरोप र अमेरिकाबाट प्रकाशन हुने पत्रिका र अनलाइनमा लेखिएका लेख रचनामा अनेक होलान तर यस पुस्तक प्रति मेरो मोह, खोज र लगानी धेरै भएकोले तपाईहरुबाट यसबारे टिप्पणी चर्चा र परिचर्चा होस् जसले गर्दा नयाँ पुस्तालाई महाभारतमा कस्ता चरित्रहरू थिए ? तिनीहरुको भूमिका कस्तो थियो त्यो सबै कुरा जान्ने बुझ्ने प्रेरणा सबैलाई जागोस् भन्ने मेरो चाहना हो ।
