महाभारतमा युद्ध मात्र छैन, त्यहाँ सम्पूर्ण चरित्र छ । महाभारतको माया प्रेमले इतिहासलाई प्रभाव पारेको देखिन्छ । जति पढ्यो उति चाख लाग्दो महाभारत विचित्र छ । विशेष गरी यसका पात्रहरूको जटिलता गजब छ । यहाँ छ बहुपत्नी प्रथाका साथै बहुपति प्रथा पनि । कतै कसैको हरण भइरहेको पाइन्छ भने कतै कसैमाथि जबर्जस्ती वा जबर्जस्तीको प्रयास भइरहेको पनि छ । यति हुँदाहुँदै पनि महाभारतमा प्रेमका अचम्मलाग्दा थुप्रै प्रसंग छन् जसमध्ये केहीको चर्चा यहाँ गरिएको छ । ती प्रसंग त्यस्ता छन् जसका कारण महाभारतको कथानकमा महत्वपूर्ण मोड आएको छ, तात्कालिक सामाजिक मूल्यमान्यतामा नसोचेको परिवर्तन भएको छ अनि विस्तारै काव्यलाई चरमोत्कर्षमा लैजान भूमिका खेलेको छ । १. सत्यवती र पराशर हुन त यो सम्बन्ध प्रेम हो कि वासना हो त्यो यसै भन्न सकिन्न । सत्यवती माझीपुत्री थिइन् । उनी डुंगा चलाएर यात्रुहरूलाई नदी वारपार गराउँथिन् । शरीरबाट माछाको गन्ध आउने भएकाले उनलाई मत्स्यगन्धा भनेर पनि चिनिन्थ्यो । एक दिन ऋषि पराशर यात्राका क्रममा त्यहाँ आइपुगे । उनी सत्यवतीलाई देखेर मुग्ध भए । कामातुर भएपछि ऋषिले सत्यवती समक्ष यौनप्रस्ताव राखे । सत्यवतीले पनि विना संकोच ऋषिको चाहना पूरा गर्न आफू तयार रहेको भन्दै तीनवटा शर्त राखिन्– यौनसम्बन्ध राखेको कसैले देख्नुहुँदैन, यसबाट कौमार्य प्रभावित हुनुहुँदैन अनि शरीरबाट निस्कने माछाको गन्धको साटो सदा सुगन्ध फैलनुपर्छ । कामान्ध भएका पराशरले तपोबलको प्रयोग गरी सत्यवतीको तीनवटै शर्त पूरा गरेर आतृप्ति सम्भोग गरे । मत्स्यगन्धाको शरीर अब बास्नादार भयो र उनको सुवास एक योजनसम्म फैलन थाल्यो तसर्थ उनी योजनगन्धाका नामले परिचित भइन् । नदीको टापुमा भएको यस घटनाको फलस्वरूप कृष्ण द्वैपायनको जन्म भयो जो पछि वेदव्यासका नामले प्रसिद्ध भए । महाभारतका रचयिता पनि वेदव्यासलाई नै मानिन्छ । २. शान्तनु, गंगा अनि सत्यवती शान्तनुले गंगासँग प्रेमविवाह गरेर आठजना सन्तान जन्माएका थिए । तीमध्ये एकजना देवव्रत मात्र जीवित रहे भने गंगाले पनि शान्तनुलाई छाडेर गइन् । देवव्रत हस्तिनापुरका युवराज बनाइए । पछि तिनै देवव्रतले भीष्म प्रतीज्ञा गरी सत्यवती र शान्तनुको मिलन गराइदिए । एकल जीवन बिताइरहेका शान्तनु सत्यवतीलाई देखेपछि प्रेमले विह्वल बने । उनले सत्यवतीसँग परिचय अघि बढाई आप्mनो मनोभाव दर्शाए । सत्यवती पनि राजालाई प्रेम गर्न थालिन् । एक दिन शान्तनुले सत्यवतीका पितासमक्ष विवाहको प्रस्ताव राखे । उनले आप्mनी छोरीबाट जन्मने पुत्र नै हस्तिनापुरको उत्तराधिकारी हुने भए मात्र राजालाई छोरी दिने शर्त राखे । शान्तनु असमञ्जसमा परेर फर्किए । यो कुरा थाहा पाएपछि देवव्रतले पिताको खुसीका निम्ति सत्यवतीका पितासमक्ष गएर आफूले हस्तिनापुरको युवराज पद त्याग्ने तथा आफ्ना सन्तानले भविष्यमा दाबी नगरून् भन्नका लागि आजीवन विवाह नगरी ब्रह्मचारी नै बस्ने प्रण गरे । उनले सत्यवतीलाई लिएर आई पितासँग विवाह गराए । यो घटनाले महाभारतको कथालाई युद्धतर्फ मोड्न सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गरेको मानिन्छ । ३ साम्ब र लक्ष्मणा साम्ब कृष्णका आठ पटरानीमध्ये एक जाम्बवतीका छोरा हुन् । दुर्योधन तथा भानुमतीकी पुत्री लक्ष्मणासँग साम्बको प्रेम बसेको थियो । दुर्योधन आफ्नी छोरी कृष्णको छोरालाई दिन चाहँदैनथे त्यसैले उनले स्वयम्बरको आयोजना गरेका थिए । त्यतिबेला साम्ब पुगेर लक्ष्मणलाई लिएर द्वारकातर्फ लागे । यो कुरा थाहा हुनेबित्तिकै कौरवहरूले साम्बसँग युद्ध गरेर उनलाई बन्दी बनाए । साम्ब बन्दी बनेको थाहा पाएपछि बलराम हस्तिनापुर गए । उनले साम्बसँग लक्ष्मणाको विवाह गराउन आग्रह गरे । कौरवहरूले टेरेनन् । यसबाट रिसाएका बलरामले आप्mनो रौद्र रूप धारण गरी हस्तिानापुरलाई गंगामा धँसाइदिन खोजे । यसबाट हस्तिनापुरमा हाहाकार मच्चियो । तत्पश्चात् कौरबहरूले बलरामसँग माफी मागी साम्बलाई लक्ष्मणासँगै विदा दिए । द्वारकामा पुगेपछि उनीहरूको धूमधामले विवाह भयो ४ हिडिम्बा र भीम लाक्षागृहबाट बचेर भागेका पाण्डव जंगल–जंगल हिँडिरहेका थिए । एक रात अरू सबै सुतिरहेका थिए भने भीमसेन पहरा दिइरहेका थिए । उक्त जंगल नरभक्षी राक्षस हिडिम्बको राज्य थियो । उसको बहिनीको नाम हिडिम्बा थियो । हिडिम्बाले भीमसेनलाई देखेपछि उसमा कामभावना जागृत भयो, उनलाई भीमसनप्रति प्रेम पलायो । उनले भेष बदलेर भीमसेनका अगाडि गई विवाहको प्रस्ताव राखिन् । यो थाहा कुरा पाई रिसाएर आएको दाजु हिडिम्बलाई भीमसेनले मारेपछि उनीहरूका बीच विवाह भयो । केही समय भीमसेन त्यहीँ बसे । घटोत्कच नामको छोरो जन्मिएपछि भीमसेन त्यहाँबाट हिँडे । हिडिम्बा एक्लैले घटोत्कचलाई पालनपोषण गरेर राज्य गर्न सक्षम बनाइन् । ५ उलुपी र अर्जुन यो प्रेमप्रसंग निकै रमाइलो छ । उलुपीले प्रेमका निम्ति थुप्रै त्याग गरेकी छिन् । उलुपीले नै अर्जुनलाई पानीमा पनि सहजै बस्नसक्ने बनाएकी थिइन् । उलुपीले नै चित्रांगदाका पुत्र ब्रभ्रुवाहनलाई युद्धशिक्षा दिएकी थिइन् । महाभारत युद्धपछि अश्वमेध यज्ञको समयमा उलुपीकै प्रेरणाद्वारा ब्रभ्रुवाहनको हातबाट अर्जुनको बध भएको थियो भने उलुपीकै प्रयासबाट अर्जुन पुनर्जीवित पनि भएका थिए । नागराज कौरव्यकी पुत्री उलुपीले अर्जुनलाई देखेपछि आफैंले हरण गरेर लगी विवाह गरेकी थिइन् । उनी अर्नुनलाई औधी माया गर्थिन् । उनले नै अर्जुनलाई जलमा हुने युद्धमा सर्वत्र विजयी हुने तथा सम्पूर्ण जलचर वशमा रहने वरदान दिएकी थिइन् । ६ . कर्ण र द्रौपदी यो प्रेम प्रसंग मान्यतामा आधारित छ । भनिन्छ, कर्णलाई द्रौपदीप्रति प्रेम थियो भने द्रौपदी पनि कर्णलाई उत्तिकै मन पराउँथिन् । द्रौपदी स्वयंवरमा कर्ण पनि गएका थिए । राजा द्रुपद कौरव पक्षका भीष्म, द्रोण आदिलाई रुचाउँदैनथे तसर्थ उनले नै कर्ण सूतपुत्र भएकाले ऊसँग विवाह गरे जीवनभर दासपत्नीका रूपमा चिनिनुपर्ने तथा यसबाट आफूलाई समेत घातक प्रभाव पर्ने कुरा बताएका थिए । बाबुको यस्तो कुराबाट निराश द्रौपदीले मुटुमाथि ढुंगा राखेर सूतपुत्र भन्दै कर्णको अपमान गरेर स्वयंवरमा भाग लिन वञ्चित गराएकी थिइन् । चीरहरणका समयमा द्रौपदीलाई कर्णले सहयोग गर्लान् कि भन्ने थियो तर कर्णले आफूमाथि पहिले भएको अपमान सम्झेर कुनै सहायता गरेनन् । पछि जब भीष्म पितामह शरशैयामा सुतेका थिए त्यतिबेला कर्णले उनीसँग आफूले द्रौपददीलाई चाहेको कुरा भनेका थिए । यो कुरा द्रौपदीले पनि सुनेकी थिइन् र उनले त्यतिबेला कर्णले आफूलाई मन पराउँछन् भन्ने कुराको पुष्टि पाएकी थिइन् । ७ . दुष्यन्त र शकुन्तला पुरुवंशी राजा दुष्यन्त र शकुन्तलाका पुत्र भरतको गणना महाभारतमा वणिर्त १६ सर्वश्रेष्ठ राजाहरूमध्येमा हुन्छ । महाकवि कालिदासको ग्रन्थ ‘अभिज्ञान शाकुन्तलम’ का अनुसार दुष्यन्त र शकुन्तलाका पुत्र चक्रवर्ती सम्राट् भरतकै नामका अजनाभ वर्षलाई भारतवर्ष भन्न थालिएको हो । महाभारतको कथा पनि यिनै भरतको कथाबाट अघि बढ्छ । महाभारतको युद्ध लड्ने कौरव तथा पाण्डव भरतवंशी हुन् । दुष्यन्त र शकुन्तलाको प्रेम जीवनलाई अनेकौं साहित्यकारहरूले काव्यिक विषय बनाएका छन् । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि ‘शाकुन्तल’ नामक महाकाव्य लेखेका छन् । दुष्यन्त र शकुन्तलाको प्रेम भारत वर्षकै चर्चित प्रेम प्रसंगका रूपमा गणना हुने गर्छ । यी बाहेक महाभारतमा नल–दमयन्ती आदिका अन्य प्रेम प्रसंग पनि छन् ।
