मैले डेढ वर्ष देखि काभ्रे टाइम्समा प्रस्तुत गरिरहेको महाभारत कथा मेरो आफ्नै मौलिक रचना होइन । यो त सदियांै देखि हामीले पढ्दै,सुन्दै टेलिभिजनमा आएको कथालाई मैले नयाँ पुस्ताले पढ्न जरुरी ठानेर नियमित प्रस्तुत गरेको मात्र हुँ । महाभारतका चरित्रहरूको चित्रण गर्ने क्रममा बिभिन्न समयमा लेखिएका भारतीय र नेपाली महाभारतका पुस्तक, विभिन्न लेखकले महाभारतका पत्रहरु बारे लेखिएका कथालाई अध्ययन पछि मैले त्यसलाई रोचक बनाएर प्रस्तुत गरेको हुँ । यो कथालाई विशेष महत्व दिनुमा मेरो एउटा महत्वपूर्ण कारण छ जो आउँदा दिनमा खुलासा पक्कै गर्ने छु । महाभारत कथा त्यो समयको कथा मात्र होइन यो त युग युगको कथा हो । संसारमा जे छ, त्यो महाभारत कथामा छ । संसारमा जे छैन त्यो महाभारतमा पनि छैन । महाभारत कथाका पात्रहरुको चरित्र हिजो थियो, आज पनि ति चरित्रहरू हाम्रा सामु छन्, भोली पनि हुने छन् । महाभारत कथा हिन्दु धर्म परम्परा अन्र्तगत कुनै एउटा मिथक कथा हो । यसको प्रामणिकता केही पनि गरिएको छैन । त्यसलाई एउटा परम्परागत कथाको रुपमा लिन सकिन्छ । महाभारत कुनै एउटा व्यक्ति विशेषले लेखेको रचना होइन । महाभारत, पुराण र अन्य अनेकानेक धार्मिक ग्रन्थहरूको लेखकका रूपमा व्यासको नाम लिइन्छ । व्यास कुनै एउटा व्यक्तिको नाम मात्र होइन । व्यासको शब्दार्थले यो कुरा जनाउँछ । कुनै कथा–सुत्रलाई स–प्रसँग व्याख्या गरेर सुनाउने÷बुझाउने मानिसलाई व्यास भनिन्छ । एक लाख श्लोक भएको महाभारतको मूल स्रोतबाट थुप्रै विधाका कृतिहरु प्रकाशित भएका छन् । महाभारतको विपठन, पुनर्पठन र उत्तरपठन समेत हुन थालेका छन् । महाभारत त यस्तो मिथक हो, यसमा नलेखिएको विधा नै सायद छैन । धार्मिक परम्पराको विभिन्न मिथक,कथा र आदर्श पात्रहरु इत्यादि हुने नै गर्छ । परम्पराले महाभारतलाई इतिहास भनेको छ । प्रचलित भाषामा इतिहासको भिन्न अर्थ लाग्छ । आधुनिक इतिहासमा तिथि मितिको बडो महत्व हुन्छन् । महाभारतलाई त्यस दृष्टिले इतिहास भनिएको होइन । सनातन परम्परामा इतिहास भन्नाले इतिं+ह+आसका रूपमा अथ्र्याउने गरिएको छ । यस्तो इतिहासको सोझो तात्पर्य छ– यो सधैं भइरहने कुरा हो । महाभारतमा यस्तै नै सधैं भइरहने घटनाहरूको साहित्यिक दृश्यावली छ । महाभारत मुख्यतः राजा–महाराजाको लोकगाथा हो । त्यस युगमा राजतन्त्र अपरिहार्य थियो । आजको जस्तो प्रजातन्त्र र गणतन्त्र थिएन । योग्य राजा पाएको खण्डमा प्रजा सुख–शान्तिले बस्दथे । काम–धन्दामा लाग्न सक्थे । कमाउथे, खान्थे । राज्यलाई कर दिन्थे । यसैले महाभारतले राज–धर्मका कुरा बारम्बार गर्छ । ‘दण्ड’ को महत्व बताउँछ । दण्ड र सुशासन एकअर्काका पूरक हुन् । राजाले चोर, डाँका, फटाहा र भ्रष्टाचारीलाई अपराधबमोजिम दण्ड दिनुपर्छ । फेरि राजा छान्ने कुरो सजिलो छैन । महाभारतले मूल रूपमा युधिष्ठिर र दुर्योधनमध्ये राजा हुने पात्रता र योग्यता कोसँग छ भन्ने प्रश्न विवाद–संवादमा ल्याएको छ । महाभारतले आफूलाई पुराण भन्न चाहेको छैन । लोकगाथाले भरिएको महाभारतले पुराणभन्दा ज्यादा सघन रूपमा मानवीय स्वभाव चित्रण गरेको छ । परमेश्वर भनिएका कृष्ण पनि मुख्यतः मानिसका रूपमा महाभारतमा प्रकट हुन्छन् । तर, कृष्ण अलौकिक त छँदै छन् । कृष्ण एक मात्र अलौकिक छैनन् । महाभारतका अधिकांश प्रमुख पात्रहरूको जन्म र मृत्युको कथा अलौकिक छ । द्रोणाचार्यदेखि द्रौपदीसम्मको जन्मको कथा सामान्य र मानवीय छैनन । जमाना बदलिएको छ । विज्ञानले सूचना प्रविधिमा क्रान्ति ल्याएको छ । हाम्रो पुस्ता र हामी भन्दा अगाडिका सबैपुस्ता बाल्यकालमा महाभारत–रामायण कथा मनोरञ्जनको रुपमा पढेर हुर्किएको पुस्ता हो । महाभारत कथाका पात्रहरुलाई हाम्रा बाजे बराजुले चिन्दै ति पात्रलाई मन पराएर आफ्ना सन्तानका नाम पनि कथा कै पात्रसँग जोडिएका धेरै नाम हाम्रा सामु छन् । अहिले त सामाजिक संजाल र युट्युबको जमाना छ । यो कथा प्रस्तुत गर्ने कारमा मैले मुख्य पात्रहरुको चरित्र लाई चित्रण गरिसकेको छु अब पात्रहरु बारे अन्तिम अन्तिमको अवस्थामा लेखेर पुगेको सम्पूर्ण पाठकलाई जानकारी गराउछु ।
