IMG-LOGO

उर्वशी अर्थात स्वर्गकी अप्सरा

 मंगल, बैशाख २८, २०७८  आर एल श्रमजीवी

    अचेल पनि कुनै स्त्री अत्यन्तै राम्री देखिएमा आहा ! उर्वशी जस्तै कति सुन्दरी भनेर भन्ने गरिन्छ  ।  उर्वशी अर्थात स्वर्गकी अप्सरा  ।  उर्वशी साहित्य र पौराणिक कथाको सौन्दर्यको प्रतिमूर्ति हुन्   । स्वर्गको यो अप्सराको उत्पत्ति नारायणको जांघबाट भएको मानिन्छ । पद्मपुराणका अनुसार उनी कामदेवको उरुबाट जन्मेका थिइन  । श्रीमद् भागवतका अनुसार  स्वर्गकी  सुन्दर अप्सरा  हुन्  । अप्सरा भनेको स्वर्गका नायिकालाई भनिन्छ  ।  खासगरी  देवकालमा गंधर्व, अप्सरा र नायक-नायिकहरूले देवताहरूको सहायता तथा मनोरंजनको काम गर्थे  । अप्सराहरुलाई देवताहरूले ऋषि मुनिहरूको कठिन तपस्या भंग गर्ने उद्देश्यले प्रयोग गर्थे  ।  अप्सराहरु मुख्य गरी ८ छन्, जया, विजया, रतिप्रिया, कन्चन कुण्डली, स्वणर् माला,  जयवती, सुरंगिनी र विद्यावती  । ति मध्यमा पनि उर्वशी अत्यन्तै सुन्दरी हुन्  भन्ने कथन छ  ।       एक पटक इन्द्रको दरबारमा नाच गर्दै गर्दा उर्वशी मर्त्यलोकका राजा पुरउवप्रति आकर्षित भइन्  । बुध र इलाको सन्तानको नाम हो  - पुरुरवा ।पुरुरवाको वीरता र सौर्य चारैतिर फैलिएको थियो । पुरुरवा बेलाबेला स्वर्गका राजा इन्द्रलाई असुर विरुद्धको लडाइँमा साथ दिन स्वर्ग पनि पुग्थे । यस्तै एउटा युद्धमा पुरुरवाले इन्द्रलाई विजय दिलाए । इन्द्रले पनि पुरुरवाको सम्मानमा स्वर्गमा नाचगानको आयोजना गरे । नाचगानकी प्रमुख नायिका उर्वशी थिइन् । उर्वशी अप्सराहरूमध्येकै सर्व श्रेष्ठ थिइन् । कसोकसो उर्वशी र पुरुरवाको आँखा जुध्यो । दुवै कामपीडित भए । नाचपछि पुरुरवा मत्र्यलोक फर्के भने उर्वशी स्वर्गमै रहिन् । पुरुरवालाई भेट हुन्छ कि भनी उर्वशी मत्र्यलोकको भ्रमणमा निस्कन्थिन् । त्यस्तै एउटा भ्रमणको मौकामा उर्वशी केशी नामको असुरबाट अपहरणमा परिन् । उर्वशीको आर्तनाद पुरुरवाले सुने र केशीसँग युद्ध गरी उर्वशीलाई मुक्त गरे । केशीबाट फुत्केकी उर्वशी स्वर्ग त फर्किन् तर तिनको मन मत्र्यलोकमै छुट्यो । यता पुरुरवा पनि उर्वशीलाई मनबाट हटाउन सकिरहेका थिएनन् ।     स्वर्गमा आमोद प्रमोदको लागि नियमित नाचगान र नाटक खेलाइन्थ्यो । उर्वशी ती सबै कार्यक्रममा नायिकाको भूमिकामा हुन्थिन् । एक दिन नाट्यऋषि भरतले लक्ष्मीनारायणको नाटक खेलाउँदै थिए । लक्ष्मीको भूमिकामा उर्वशी नै थिइन् । एउटा संवाद थियो— नारायणलाई ‘पुरुषोत्तम’ भनेर सम्बोधन गर्नुपर्ने । उर्वशीले पुरुषोत्तम शब्द बोल्दा मुखबाट ‘पुरुरवा’ फुत्कियो । नारायणको नाम लिने ठाउँमा मरणशील मनुष्यको नाम लिएकोमा भरत रिसले आगो भए । ऋषिले तत्काल उर्वशीलाई मनुष्य भएर मत्र्यलोकमा विचरण गर्ने श्राप दिए । पुरुरवासँग प्रेममा पागल भए पनि उर्वशी स्वर्गबाट सदाका लागि बिदा हुन चाहन्नथिन् । इन्द्र पनि उर्वशीलाई गुमाउन चाहँदैनथे । त्यसैले, इन्द्रले उर्वशीको श्राप घटाइदिए । मत्र्यलोकमा आएकी उर्वशीको पुरुरवासँग भेट भयो । विवाह गरेर उनीहरू गन्धमादन पर्वतमा गए र भोगविलासमा रम्न थाले ।     उर्वशी नरनारायणको उरु अर्थात् तिघ्राबाट पैदा भएकी अप्सरा थिइन् । नरनारायण बद्रकीा श्रममा गहिरो तपस्यामा लीन थिए । इन्द्रलाई नरनारायणको तपस्या भंग गर्ने मनसुवा भयो । इन्द्रले स्वर्गकी सबैभन्दा सुन्दरी अप्सराहरूलाई नरनारायणको सामुन्ने गई तपस्या भंग गर्न प्रेरित गरे । अप्सराहरू तपस्यारत नरनारायणका सम्मुख रहेर विभिन्न हावभावसहित कामुक अभिनय गर्न थाले । त्यस्ता भावभंगिमाले नरनारायणलाई प्रभाव पारेन । नरनारायणलाई इन्द्रको नियत थाहा भयो । त्यसैले उनले आफ्नै तिघ्राबाट एउटी सुन्दरीको उत्पत्ति गरे । तिघ्राबाट पैदा भएकी त्यस सुन्दरीको अगाडि स्वर्गका अप्सराहरूको रूपराशि फिक्का भयो । लज्जा र संकोचले अप्सराहरू इन्द्रको शरणमा पुगे । इन्द्रलाई पनि नरनारायणको शरणमा जानु नै उत्तम उपाय हो भन्ने ज्ञान भयो । शरणागत भएका इन्द्रलाई नरनारायणले माफी मात्र दिएनन्, आफ्नो उरुबाट उत्पन्न भएकी सर्वसुन्दरी उर्वशी पनि दिए । इन्द्रले पनि उर्वशीलाई अप्सराहरूमाझ उच्च स्थान दिएर सम्मान गरे ।     उर्वशी पुरुरवाको प्रेममा चुर्लुम्म त डुबेकी थिइन् । तर, विवाह गर्नुअगाडि भने उनका केही सर्त थिए । उर्वशीले ती सर्त पूरा गर्ने भए मात्र आफू पुरुरवासँग विवाह गर्न राजी भएको खुलस्त पारिन् । पुरुरवा चक्रवर्ती राजा थिए, उर्वशीका जुनसुकै सर्त पूरा गर्न तत्पर भइहाले । उर्वशी पुरुरवाकहाँ आउँदा साथमा भेडाका दुइटा पाठा पनि ल्याएकी थिइन् । उनको पहिलो सर्त तिनै पाठासँग सम्बन्धित थियो । भनिन्, ‘मलाई भेडाका यी पाठा औधी प्रिय छन् । यिनको संरक्षण गर्ने जिम्मा लिनुहुन्छ भने म विवाह गर्न राजी छु । जुन दिन यी पाठा मबाट फुत्किन्छन्, त्यो दिन हाम्रो सम्बन्ध समाप्त हुन्छ ।’ पुरुरवाजस्तो शक्तिशाली राजालाई भेडाका पाठाको संरक्षण गर्नु कुनै ठूलो कुरा थिएन । तुरुन्तै सहमति जनाइहाले । उर्वशीले दोस्रो सर्त भनिन्, ‘हजुरलाई सहबास अवस्थामा बाहेक अरू समय निर्वस्त्र देख्न नपरोस् । जुन दिन मैले हजुरलाई असमयमा नांगो देख्छु, त्यो दिन हाम्रो सम्बन्ध टुंगिन्छ ।’ यो सर्त पनि पुरुरवालाई मञ्जुर भयो ।     पुरुरवा र उर्वशी संसारका सारा सुख भोग गरेर मस्तीमा थिए । तर, उता स्वर्गमा इन्द्रलाई उर्वशीको अनुपस्थिति खड्किरहेको थियो । स्वर्गमा हुने नाचगान र नाटक आदि उत्सवमा उर्वशीको अभाव महसुस हुने गथ्र्यो । इन्द्रले गन्धर्वहरूसँग उर्वशीलाई स्वर्ग फर्काउनेबारे सल्लाह गर्न थाले । उर्वशीले पुरुरवासँग गरेको सम्झौता उनीहरूलाई थाहा थियो । गन्धर्वहरूले रातको समयमा उर्वशीका भेडाका पाठा चोरेर भाग्ने सल्लाह गरे । भेडाका पाठा खोज्दै पुरुरवा वस्त्रविहीन नै पछिपछि आउनेछन् भन्ने उनीहरूको अनुमान थियो । त्यही समयमा इन्द्रले बिजुली चम्काइदिएर उज्यालो पारिदिने योजना पनि बन्यो । बिजुलीको उज्यालोमा उर्वशीले पुरुरवालाई निर्वस्त्र देखेमा उर्वशीको पुरुरवासँगको करार समाप्त हुनेछ भन्ने उनीहरूको सोचाइ थियो ।     भयो पनि त्यस्तै । भेडाका पाठा चोरेर लैजाने क्रममा गन्धर्वहरूको आवाजबाट उर्वशी ब्यूँझिइन् । आफ्ना प्रिय भेडाको चोरी हुँदै गरेको बुझेर उर्वशीले पुरुरवालाई ब्यूँझाइन् र भनिन्, ‘महाराज ! मेरा प्रिय वस्तुको अपहरण भइसक्यो । हजुरचाहिँ अझै निद्रामै हुनुहुन्छ ? मेरा भेडाको संरक्षण गर्छु भन्नुभएको होइन ? ती भेडा फेला परेनन् भने हाम्रो सम्बन्ध अहिल्यै समाप्त हुन्छ ।’ पुरुरवा उर्वशीलाई गुमाउन चाहँदैनथे । कडा सुरक्षामा राखिएको भेडा कसले चोर्‍यो होला भनेर पुरुरवालाई रिस पनि उठ्यो । (भेडाहरू उनीहरू सुतेकै पलङको खुट्टामा बाँधिएको थियो पनि भनिन्छ ।) हतारमा बिनावस्त्र नै चोरको पछिपछि दौडिन थाले पुरुरवा । उर्वशी पनि विलाप गर्दै पुरुरवाको पछि लागिन् । पुरुरवाले केही पर गन्धर्वहरूलाई भेडासहित पक्राउ पनि गरे । तर त्यही बेला इन्द्रले आकाशमा बिजुली चम्काइदिए । बिजुलीको उज्यालोमा अलि पछाडि रहेकी उर्वशीले पुरुरवालाई नग्न देखिन् । करार समाप्त भयो । उर्वशी अन्तध्र्यान भएर स्वर्ग फर्किन् ।     उर्वशीको वियोगमा पुरुरवा विक्षिप्तजस्तै बने । पागलजसरी भौतारिँदै गरेको देखेर उर्वशीलाई आफ्नो प्रियतमको माया पनि लाग्यो । उर्वशी त्यो बेला गर्भवती थिइन् । बौलाहा जसरी हिँडिरहेका पुरुरवालाई भेट्न उर्वशी फेरि आइन् । त्यो भेटमा पुरुरवाले उर्वशीसँग आफूलाई सन्तान पनि नदिईकन फर्केकोमा गुनासो गरे । उर्वशीले उक्त सन्तान यथासमय पुरुरवालाई दिने वाचा गरिन् । तर, पुरुरवाको चित्त बुझ्दै बुझेन । उर्वशी आफू अप्सरा भएकाले मत्र्यलोकमा निरन्तर बसिरहन नसक्ने जिकिर गर्दै थिइन् । पुरुरवा मरणशील जीव भएकाले अप्सरासँग स्थायी सम्बन्ध कायम हुन नसक्ने कुरा पनि उर्वशीले सम्झाइन् । तर, पुरुरवालाई त्यसको मतलब थिएन । पुरुरवा उर्वशीको वियोगमा प्राणै त्याग्ने स्थितिमा पुगे । अनि उर्वशीले वर्षको अन्तमा एक दिन आफू स्वर्गबाट पुरुरवाको लागि मत्र्यलोकमा झर्ने वचन दिइन् । पुरुरवा त्यो एक दिनको भेटको लागि वर्षभरि कुर्न तयार भए । ऋग्वेदको कथा     ऋग्वेदको दसौं मण्डल, पन्चान्नब्बेऔं सुक्तको अठार ऋचामा पुरुरवा र उर्वशी बीचको संवाद छ । त्यागेर जान लागेकी पत्नी उर्वशीलाई सम्झाउन खोज्ने पुरुरवा र कुनै पनि सर्तमा पुरुरवासँग बस्न नसक्ने उर्वशीको सवालजवाफ छन् यी ऋचामा । पुरुरवा उर्वशीलाई फकाउने, सम्झाउने, भावनाको दोहन गर्ने धेरै उपाय गर्छन् तर उर्वशी एकपटक भाँचिएको स्त्री मन पुनः नजोडिने बरु जतिसुकै कठोर पनि हुनसक्ने हठ गर्छिन् । पुरुरवा संवादबाट समस्या हल गर्ने चाहना देखाउँछन् । तर उर्वशीका अनुसार त्यो अवसर फुत्किसक्यो । पुरुरवा सन्तानको लागि भए पनि नछुट्टिने तर्क गर्छन्, तर उर्वशी सन्तान पनि आफूले नराख्ने र साथमा कुनै हालतमा नबस्ने तर्क गर्छिन् । उनका नौ छोराहरू आयु, अमावसु, श्रुतायु, परशु, विश्वायु, शतायु, इत्यादि जन्मिएका थिए ।     चार वर्षसम्म तिमीसँग रात बिताएको छु । कम्तीमा दिनको एकपटक सम्भोगको आनन्द पनि लिएको छु । यी सबैबाट तृप्त भएरै तिमीबाट पर हुन खोज्दैछु । पुरुरवा सम्भावित एक्लो जीवनको भयले ग्रस्त छ, उर्वशी पुत्रको रूपमा पुरुरवाकै अर्को अवतार आफूले जन्माइदिएकाले चिन्ता नगर्न ढाडस दिन्छे । पुरुरवा उर्वशीको यौन आवश्यकताका लागि पनि पतिको साथ नछोड्न सल्लाह दिन्छ, उर्वशी आफूले पर्याप्त भोग गरिसकेकाले थप भोग गर्ने लालसा नभएको तर्क गर्छे । पुरुरवा अरू स्त्रीहरूको प्रसंग देखाएर उर्वशीमा ईष्या जगाउन खोज्छ, उर्वशीलाई त्यो मिथ्या ईष्र्याले पनि छुँदैन । लाग्छ, पुरुरवाले ठूलै चोट पुर्‍याएको छ उर्वशीलाई, जुन घाउ कसै गरे पनि पुरिनेवाला छैन । पुरुरवालाई उर्वशीको कुनै सल्लाह, चेतावनीले छुँदैन । जब उर्वशीले उसलाई त्याग्ने निश्चित भयो, अनि मात्र उसको आँखा खुल्छ । तर, धेरै ढिलो भइसकेको थियो ।     पुरुरवा उर्वशीको यो वियोगान्त कथाको पूर्पक्ष अर्थात् विवादको कारण ऋग्वेदमा छैन । पछिका ग्रन्थहरू शतपथ ब्राह्मण र विभिन्न पुराणहरूले अगाडिका कथाहरू कल्पना गरेका हुन् । कालीदासले विक्रमोर्वशीय नाटक नै लेखे । प्रस्तुत कथालाई आधार मानेर पछि पनि प्रशस्त साहित्य रचिएका छन् । ऋग्वेदमा भएको संवाद विशुद्ध सामाजिक समस्याको रूपमा देखिन्छ । तर पुराणहरूमा थपिएका तत्वहरूको सोझो व्याख्या गाह्रो छ । उदाहरणका लागि उर्वशी भेडा लिएर आएकी छ र उसलाई भेडा सबैभन्दा प्रिय छ । त्यस्तै उर्वशी पतिलाई समागम अवस्थाभन्दा बाहेक अरू समय निर्वस्त्र देख्न चाहन्न । इन्द्रले आकाशमा मेघ गर्जनसहित बिजुली चम्काइदिन्छन्, आदि त्यादि । यी प्रसंगको प्रतीकात्मक अर्थहरू खोजिनुपर्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्