IMG-LOGO

ममताको सपना : मानवताको ऐना र न्यायको प्रश्न

 मंगल, मंसिर २, २०८३  डा. टीका भण्डारी

अमेरिका ! कसैका लागि अवसरको देश, कसैका लागि समृद्धिको सपना, भविष्य सुरक्षित गर्ने गन्तव्य, जीवन अध्याय सुरु गर्ने आशाको आकाश अनेक । ममताले पनि त्यस्तै एउटा सपना देखिन् । आफ्नो जन्मघर, बाबुआमाको न्यानो काख, बाल्यकालका ती प्रिय आँगन र सम्झनाका चौतारीहरू छोडेर उनी अमेरिका तिर लागिन् । सायद उनले सोचेकी थिइन् – जीवनका बाँकी यात्रा श्रीमानसँग सुन्दर बन्नेछन् । दुई जनाको सपना मिलेर एउटा संसार बन्नेछ । परदेशको माटोमा पनि आफ्नोपनको फूल फुल्नेछ । तर जीवनले दुखद मोड लियो ।  आज ममता र नरेशसँग जोडिएको घटना  एउटा गम्भीर प्रश्न बनेर हाम्रो सामू उभियो । सम्बन्धमा असहमति हुन सक्छ, मनमुटाव हुन सक्छ, सपना र अपेक्षाहरूमा भिन्नता आउन सक्छ । तर कुनै पनि असहमति हिंसाको औचित्य बन्न सक्दैन । प्रेमको नाममा अपमान, अधिकारको नाममा नियन्त्रण र सम्बन्धको नाममा अमानवीय व्यवहार स्वीकार्य हुन सक्दैन । एउटा कुरा कसैले कहिल्यै बिर्सनु हुँदैन– नारी कसैको घर सजाउने वस्तु होइनन्, उनी आफ्नै सपना, इच्छा, विचार  र स्वाभिमान बोकेकी पूर्ण मानव हुन् । उनले जन्मघर छोडिन् भन्दैमा आफ्नो पहिचान छोडेकी हुँदिनन् । उनले जीवनसाथी रोजिन् भन्दैमा आफ्नो स्वतन्त्रता सुम्पेकी हुँदिनन् । उनले विश्वास गरिन् भन्दैमा अन्याय सहनुपर्ने बाध्यता स्वीकारेकी हुँदिनन् । ममताको घटनाले यही मानवीय सत्य सम्झाएको छ । यो केवल एउटी ममताको कथा होइन, यो आफ्ना छोरीहरूलाई विश्वासका साथ बिदाइ गर्ने हरेक बाबुआमाको मनसँग जोडिएको प्रश्न हो । यो दिदीबहिनीको माया, दाजुभाइको संरक्षण भाव, साथीभाइको आत्मीयता र समाजको नैतिक चेतनासँग जोडिएको विषय हो । किनकि न्याय भावनाको आवेगबाट होइन, सत्य र प्रमाणको जगमा स्थापित हुनुपर्छ । अन्ततः, एउटी छोरीको सपना भत्किँदा त्यहाँ एउटा व्यक्तिको मन मात्र दुख्दैन, एउटा परिवारको विश्वास पनि कम्पित हुन्छ । कमसेकम,  ममताको आत्माले शान्ति मात्र हैन  न्याय पाओस् । उनको परिवारले न्याय पाओस् ।  र समाजले यति कुरा अवश्य बुझोस् प्रेम अधिकार जमाउने नाम होइन, एकअर्काको अस्तित्व स्वीकार गर्ने संस्कार हो । विवाह बन्धनमा बाँधिने सम्बन्ध मात्र होइन, एकअर्काको जीवन सुरक्षित बनाउने प्रतिबद्धता हो । विश्वास जीवनको सबैभन्दा सुन्दर पूँजी हो, त्यसलाई तोड्ने होइन, जोगाउने संस्कार बसालौँ । सपनाहरूको कुनै देश हुँदैन, तर हरेक सपनालाई सुरक्षित बाँच्ने अधिकार अवश्य हुन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्