मैले आफूलाई भेटेकै प्रेमको अलमलमा हो मैले आफूलाई पाएकै पहाडको फेदीमा चरा खेदिरहेको बेला हो सिमसार नजिकै माटो खेलाइरहेको बेला हो हिँड्दा पनि एकदम ढिलो पाइला चालिरहने म कति धेरै अलमल गरिरहन रूचाउँदो रहेछु छिटो छिटो हिड्नेहरू भेटिए दौडनेहरू भेटिए आफूसँगै निस्केका साथीहरू उनीहरूतिर यस्सो हेरेर मुस्काउँन नपाउँदै कहाँ कहाँ पुगिसके आफूभन्दा पछि निस्केका भाइ बैनीहरू आँखाका परेली झिमिक्क पारिसक्दा क्षितिजको पल्लो किनारा पुगिसके म त अलमलको पछ्यौरी समाएरै अडिरहेँ मैले त बिहान पूर्वी क्षितिजबाट धर्तीमा चुहिएको सूर्यको प्रकाश हेरेरै घण्टौँ बिताइदिएँ मैले त मेरी आमाले बिहान बिहान पूजा गर्दा छेउमा हात जोडेर बसेरै कैयौँ दिनहरू बिताइदिएँ हजुरआमाको लागि सगुने मन्साउँदा चाहिने टाँकिको फूल खोजेरै महिनाहरू बिताइदिएँ बाहरू, छिमेकी र गाउँलेहरू बेलुका जम्मा भएर गाउँने भजनमा ताली पिटेरै वर्षहरू बिताइदिएँ दौडेको दौडै गरेको भए यो अलमलको अमृत कतै चुहिएर बिलाउँथ्यो दौडेको दौडै गरेको भए पोखरीमा तैरिरहेका हाँसहरूलाई चारो फ्याँकेर उनीहरूसँग खेली बस्ने स्टेसन छुट्ने थियो दौडेको दौडै गरेको भए यसरी सँगै बसेर तीघ्रा ठटाई ठटाई हाँस्ने साथीहरू कतै छुट्ने थिए दौडेको दौडै गरेको भए तिमी एउटीको प्रेममा मग्न भएर कहाँ बस्थेँ हुँला ? बीसौँ चोकहरूमा बीसौँ प्रेमहरू हुन्थे होलान प्रेम भनेकै एउटा अलमल त रहेछ । अलमलिँदा अलमलिँदै मेरा आँखाहरू तिम्रो अनुहारमा फुलेका सिँदुरे गालाहरूमा पुगे फिरफिर गरी नाच्ने ओठहरूमा पुगे अलमलिँदा अलमलिँदै मेरो मन तिम्रो मनको चुकुल खोल्न पुग्यो अलमलिँदा अलमलिँदै मेरा ओठहरू तिम्रा गालासम्म पुगे दौडनेहरू दौडिरहून मलाई यही अलमलको लत बसेको छ दौडनेहरू दौडिरहून् म यही अलमलको रस सुरुप्प सुरुप्प पारिरहन्छु । (कवि स्कल्टल्याण्ड बेलायत निवासी हुन्)
