IMG-LOGO

बुबा, म ठूलो हुन चाहन्न !

 मंगल, भदौ ३०, २०८३  डा. निरञ्जन सापकोटा

घरको सबैभन्दा अग्लो मान्छे हुनुहुन्थ्यो, बुबा तर आफ्ना रहरहरू भने सधैंभरि घरको सबैभन्दा सानो कुनामा थन्क्याएर राख्नुहुन्थ्यो । उहाँले लगाउने जुत्ताको तलुवा बिस्तारै पातलिँदै गयो, तर हाम्रो भविष्यको बाटो भने अलि–अलि फराकिलो हुँदै गयो, उहाँको कमिजको कलर वर्षैपिच्छे पुरानो हुन्थ्यो, हाम्रा किताबका गाता भने हरेक वर्ष नयाँ–नयाँ । सायद, बुबा भनेको—आफ्नो शरीरबाट सन्तानकालागि बाटो खोपिरहने र बाटो बनेपछि त्यही बाटोको किनारमा चुपचाप हराउने एउटा मान्छे रहेछ । मलाई अझै सम्झना छ–बुबा साँझ ढल्दैगर्दा ढोकातिर फर्किएका तपाईंका आँखाहरू, त्यो आँखामा कहिल्यै ठूलो प्रश्न थिएन, एउटै सानो प्रश्न हुन्थ्यो–”आइस् ?“ आज बुझ्दैछु, बुबा, त्यो ’आइस् ?’ भित्र कतिलामो प्रतीक्षा लुकेको रहेछ । त्यसमा चिन्ता थियो कि प्रार्थना थियो, र सायद थियो होला हामीले नदेखेको एउटा डर पनि । हामी जवान हुँदै गयौँ, घर सानो हुँदै गयो, सहर ठूलो हुँदै गयो, रहर चुलिँदै गयो र बुबाको आवाज फोनको एउटा कुनामा थन्किँदै गयो, हामीले भन्यौँ –”अहिले व्यस्त छु बुबा, पछि कुरा गर्छु ।“ ’पछि’शब्द कति निर्दयी रहेछ त अहिले बुझ्दैछु म । हामीले सोचेका थियौँ— समय अझै बाँकी छ, तर समयले कहिल्यै कसैलाई पर्खिँदैन रहेछ । सायद, मान्छे उमेरले बुबा हुँदैन, हुन्छ त कसैकालागि आफ्नो उमेर बिर्सिन थालेपछि बुबा हुन्छ । म आज आफ्नो उमेर गन्दैछु र बुबाले हाम्रो लागि बिर्सिएका आफ्ना वर्षहरू सम्झिँदैछु । बुबा, यदि दूरीको कुनै आकार हुन्थ्यो भने सायदत्यो आज मेरो कोठाभरि फैलिएको हुन्थ्यो । यदि पछुतोको कुनै आवाज हुन्थ्यो भने सायद  यो रातभरि तपाईंको नाम बोलिरहेको हुन्थ्यो । र यदि समयलाई एकपटक पछाडि फर्काउन मिल्थ्यो भने– म ठूलो हुन चाहन्नथेँ बुबा । म फेरि त्यही सानो बच्चा हुन चाहन्थेँ, जो साँझ ढोकामा आइपुगेर तपाईंको हात समात्थ्यो । हाल, पोर्चुगल

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्