रातो रगतले कोरिएको साँध छ खेतमा डिल लाएझैँ हेर, हरेक राष्ट्रका फाँटमा ! यो हो भारत, यो हो पाकिस्तान हिन्दू–मुसलमानको रगतले मुछिएको यही हो रेखा महान् यो जर्मनी, यो इङ्गल्यान्ड यो रुस, यो जापान । अणुबमले खाएको, हेर नागासाकी, हिरोसिमा ! हिटलरको भूतले सताएको यही हो युरोप कङ्काल, यही हो अमेरिका, डलरको देश– ’अणुबम’ को निर्माता शान्तिको सन्देश । जता हेर रातो रगतले लाएको छ घेरा परेवालाई गन्जकमा बन्द गरेझैँ मानिस छन् बन्दी यस खोरमा । मेरी छोरी, (कुनै दिन त्यस्तो आउला) जब सबले मिलेर, हातमा हात गाँसेर, अङ्कमालमा बाँधिएर– हब्सी, आर्य, मङ्गोल पलिनिसियन, द्रविड, काले सबले पुछ्नेछन् आँखाको प्याला घोप्ट्याएर आसुँले त्यो रक्तरेखा । अनि, धेरै कालपछि– मेरी छोरी, कुनै दिन त्यस्तो आउला त्यो रातो रेखा खोजे पनि तिमी पाउनेछैनौ त्यहाँ ।
