हेर्दा हेर्दै के के भए भए... हेर्दा हेर्दै, निरंकुशताका जञ्जिरहरु चुँडिए निस्पट्ट अँध्यारो चिर्दै विहानीको लाली झुल्कियो निराशालाई बिसाउँदै आशाका भङ्गालाहरु छुट्टिँदै थिए । बाँझा भूमि सिंचिएर कलिला मुनाहरु पलाउँदै थिए झारहरु मिल्काउँदै बगैंचाहरु फुलाम्मे हुँदै थिए । हेर्दा हेर्दै, गहिरो निँदबाट बिउँझिँदै गौरवमय विरासतहरु बौरिँदै थिए आफ्नै रुपलाई धिक्कार्दै विसंगतिहरु लजाउँदै थिए । परन्तु, हेर्दा हेर्दै समय र मौकाहरु बटुल्दै केही दुष्टहरु दुलाबाट निस्किए आफ्नो दुष्टता फैलाउँदै सर्वत्र विकृतिका जालहरु फैलाए । काला जादु देखाउँदै दुनियाँलाई मन्त्रमुग्ध बनाए मिथ्या आशाका लड्डु देखाउँदै सारा जगतमा प्रभुत्व जमाए । अहंकारको धुँवा उडाउँदै जगतलाई सास लिनै गाह्रो बनाए फोस्रा रवाफ देखाउँदै गरिव निम्छराहरुको हुर्मत उडाए । तर, हेर्दा हेर्दै, नयाँ जोगीहरु उदाए सयथरी बाजा बजाउँदै तिनले बेताल र बेसुरका गीत गाउन थाले देशी भावभंगी देखाउँदै आकर्षक नृत्यकला देखाए । चह¥याएको घाउलाई बिर्सिँदै लोकले शीतलता महसुस गरे यस्तो हुँदाहुँदै लोक नयाँ जोगीतिर एकोहोरो ढल्दै गए । फेरि, हेर्दा हेर्दै, नयाँ जोगीहरुमा उन्माद आयो थाहा छैन, उनीहरुमा के भूत चढ्यो ? उनीहरु एक्कासी काम्न थाले उफ्रन थाले चारैतिर भूत, प्रेत, मसान, काँचो वायु, के के जम्मा भए । जताततै अशुभ र अमंगलको राग र अलाप सुनियो सबै तिर तोडफोड र धुँवै धुँवा उडेको मात्र देखिए मानव रुपी छायाँहरु यताउता दौडिएको देखिए सर्वत्र एकाएक विनासको तान्डव देखिए घर जले, पैसा जले, कतिको ज्यानै जले गोली बारुद चले, गौरवका सबै धरोहर जले नयाँ जोगीहरु नाचिरहे, पुराना जोगीहरु भागाभाग भए को जोगिए, को सिध्दिए, हिसाव किताव भएन पहरेदारहरु हेरिरहे, जगत बेपर्वाह जलिरहे खरानीको आडैमा केही जोगीहरुले भान्सा चलाए भान्सामा कसले खाए कसले खाएन थाहा छैन फेरि नयाँ घर बनाउने कुरा आयो भान्सेहरु ईँट्टा, ढुंगा र दाउरा बटुल्न लागे नयाँ पुराना सबै जोगीहरु खूब खूव दौडे नयाँको पीठो बिक्यो, पुरानो जिल खाए । अव यहाँ, ईँट्टा, ढुंगा र दाउराको रास छ घरको नक्शा छैन, सिकर्मी डकर्मी र ज्यामी छैन कस्तो घर बन्छ, केही अत्तोपत्तो छैन छिमेकीहरु दंग छन्, पुरानाहरु घायल अनि हायल कायल छन् । हेर्दा हेर्दै, के के भए भए.......... (कवि अधिवक्ता पनि हुन्)
