अलिकति माटो र अलिकति आकाश नहुने मान्छे दास हो ! अलिकति चिन्तन र अलिकति विद्रोह नहुने मान्छे दास हो ! जसको आफ्नो निजी घृणा हुँदैन जसको आफ्नो निजी प्रेम हुँदैन त्यो दास हो ! जो अँध्यारोसँग तर्सन्छ र उज्यालो मागेर यात्रा गर्छ त्यो दास हो ! जो भोकको लागि आफूलाई बेच्छ त्यो दास हो ! जसले हाँस्न अनुमति माग्छ जसले रुन अनुमति माग्छ त्यो दास हो ! जो हरदम भइरहन्छ आफ्नै छायाँसँग भयभीत त्यो दास हो ! जसले आफ्नो टाउकोमा बोक्दैन आफ्नै विचार र जो आफैसँग लड्दैन त्यो दास हो ! जो इशारामा बाँच्छ त्यो दास हो ! जो तयार छैन मान्छे हुन त्यो दास हो ! जसले निर्माण गर्दैन प्रतिरोधको हतियार र गर्दैन आफ्नै कायरतामाथि प्रहार त्यो दास हो ! जो मौन छ र जसले चुपचाप स्वीकार गर्छ प्रतिबन्धित जीवन त्यो दास हो ! जसले आफ्नै सपनाको रक्षा गर्न सक्दैन त्यो दास हो ! जसको स्वतन्त्र पीडा हुँदैन त्यो दास हो ! दासहरुको कुनै भूगोल र संस्कृति र सभ्यता हुँदैन । किनकि – दासहरूको कुनै देश हुँदैन ।
