IMG-LOGO

के म नेपाली होईन र ?

 मंगल, मंसिर २४, २०८२  – राजेन्द्रप्रसाद अर्याल

पूर्खाको रगत, पसिनाले रेखाङ्कन गरेको पहिलो बोली फुटेको जीवन हुर्केको भूगोल र हावा–पानी अमिट छाप बनेर रहेको बालापन सदा दिलमा नाचिरहन्छ यो जीवनमा प्यारो नेपाल कहिले पराई हुन्छ र ? फूलवारीको विरूवा उखेलेझैँ प्रिय माटोको माया र सुगन्ध हृदयबाट कसरी उखेलिन सक्छ र ? हो, म भएँ परदेशी तर, त्यो जन्मेको माटो मेरो हुँदैन र ? तिमी नै भन के म नेपाली होइन र ?   आमाको फाटेको गुन्यु फेर्न बाबाको शिरको टोपी सिँगार्न दसैँमा समेत लालाबालालाई नाना हाल्न सकिएन सत्ताको कुकर्मले टाउको उठाउन र छाक टार्न समेत नदिएपछि अन्धो हरिण वैरीबाट बच्न भिरबाट हामफाले झैँ जीवन खोज्न निधारमा नेपाली माटो लेपन गरी आँखाबाट वर्षे भेल बहाउँदै हामफालेको हुँ परदेश मात्र म हैन जन्मभूमि छाडन बाध्य असङ्ख्य जनहरू एयरपोर्टमा दैनिक देख्दा देश नै विदेसिने त हैन भन्न सकिन्न र ? अर्को तर्फ प्यारीको न्यानो अँगालोबाट हठात छुटाएर अपमानयुक्त पेसा र पैसाको लागि शासकहरूले विदेशी बनाई लखटेका देखेनौँ र ? अपितु मलाई सन्देह नगर जन्मस्थलप्रेम घाममा बिलाई जाने फगत बरफजस्तो पनि त होइन सर्पले काँचुली फेरेझैँ नेपाल प्रेम र अनुराग पनि फेरिदैँन म संसारको जुन कुनै भागमा रहे पनि मेरो अस्तित्वको मुल जरा नेपालमा नै छैन र ? छातीमा हात राखेर भन त– के म नेपाली होईन र ?   यो पराई भूमिमा आस्थाको मन्दिर बनेर रहेको छ देश परदेशीको मुटुमा नेपाली झङ्कार छ चह¥याएको दिलमा दल्ने शीतल मलम भएर बसेको छ पितृभूमि फाटेको हृदय सिलाउने सियो बनेर रहेको छ जन्मस्थल एकातिर स्वदेश उन्नति उन्मुख देखिदंैन अर्कोतिर सुरताल बेगरको गीतजस्तो अड्मिल्दो जिन्दगी छ परदेशमा मचक्क उभिन र समस्याको थुप्रोबाट राहत पाउन बाध्य भएर लिएको हुँ नागरिकताको चिर्कटो तर त्यो नागरिकताको खोस्टोले भावनामा रहेको नेपाली प्रेम खोस्न सक्दैन पकेटमारले चोरेको थैलीजस्तो चोरीने वस्तु पनि त होईन नेपाली आस्था नशामा बगेको नेपाली रगत परिवर्तन हुन्छ र ? मैले टाउकोमा बोकेर हिँडेको नेपाली संस्कार, संस्कृति र पहिचान कसरी मेटिन्छ र ? नियमको दफाले मेरो जिब्रोमा गडेको नेपाली स्वाद कसरी खोस्न सक्छ र ? अन्तरहृदयबाट उब्जेको नेपाली मातृ भाषा हरण गर्न सक्छ र ? जीवनपर्यन्त मन र मस्तिष्कमा फनफनि घुमिरहँदैन जन्मस्थल ? जन्मदिने आमासँगको नाता कानुनको हरफले पारपाचुके गर्न सक्छ र ? यसरी– एक पटकको नेपाली सँधैको नेपाली हुन्न र ? तिमी नै भन त के म नेपाली होईन र ?   गोरखा बजार हाल– म्याडिसन अमेरिका

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्