म खरानी हुँ साँच्चै खरानी हुँ तर खरानीको आकृतिमा म जो छु म खरानी मात्रै होइन ! म सुदूरका कार्यकर्ताले तिरेको रसिद हुँ पार्टीको झण्डा र चुनाव चिन्ह सिलाउँदाको आर्थिक अंश हुँ केन्द्रीय कार्यालयको भित्ताको रङ हुँ फर्निचर हुँ शहीदको फोटो र शहीद दिवसमा किनेको मालाको अंश हुँ परिवर्तनको आन्दोलनमा कार्यकर्ताको मुखबाट खोसिएको गाँस हुँ तमाम जनताको विश्वास र बलिदानीको सपना हुँ भन कसरी म खरानी मात्रै हुँ ? जसलाई तिमी केवल खरानी भनिरहेछौ, त्यो थुप्रोमा अलिकति नीति छ अलिकति नियुक्ति छ अलिकति व्यापारको बदलाव छ अलिकति कडा कमिसन छ अलिकति हाक्काहाक्कीको लेनदेन छ सुत्केरी श्रीमती स्याहार्न घरपायक सरुवा माग्ने कार्यालय सहयोगीको आँसु छ कार्यालय कार्यालयको गाडी,पेट्रोल र पैसा छ कार्यालय प्रमुखको छाया छ सरुवाको सुविधा छ सञ्चयको शुभलाभ छ भन कसरी म खरानी मात्रै हुँ ! यो चाङमा के छैन ? सांसद हुनेको सपना छ राजदूतको कोसेली छ मन्त्रीको भरपाइ छ योजनाहरूकै आयोजना छ निकासाको नियमन छ बीचकाहरूको व्यस्तता छ बिचौलियाहरूको बेचबिखन छ सबै सबैको सन्तुलन, संयम र लुकामारी छ भन कसरी म खरानी मात्र हुँ । आफ्नै पुजारी पठाएर मन्दिरबाट आएको दक्षिणा छ जङ्गल सफा गरेर आएको अक्सिजन छ खोला थुनेर आएको पानी छ अलिकति ढुङ्गा छ अलिकति बगर छ केही एयरपोर्ट छ, केही आकाश छ यसरी संसार अटेको यो थुप्रो भन कसरी खरानी मात्रै हुनसक्छ ! रुँदै देश छोडेका डाक्टरहरूको सेतो कोट छ इन्जिनियरहरूको स्केल, पेन्सिल र कटर छ कलाकारहरूको कला छ लेखकहरूको कलम छ देशको आत्मसम्मान, स्वाभिमान छ म आफैले कब्जा गरेको मेरो पार्टी, मेरा कार्यकर्ता पुराना नेताहरूको इतिहास छ युवाहरूको सम्पूर्ण सपना र भविष्य छ सबैलाई जिउँदै जलाएर जम्मा गरेको यो विरासत भन कसरी खरानी मात्रै हुनसक्छ ? आज म खरानी हुँ तर खरानी मात्रै होइन अब मलाई छुट्याइदेऊ – देश बेचेको खरानी र सपना बेचेको खरानी ! आज मलाई पनि यही थुप्रो छेउमा उभिएर हेर्न मन छ ः देश बेच्नेहरूको अवसानको खरानी ! !
