IMG-LOGO

पुरुष पिडा

 मंगल, भदौ २४, २०८२  – देवीलाल पाण्डे

’पुरुषको पीडा – न आमाले बुझ्छिन्, न श्रीमतीले’ पुरुष — घरको मूल स्तम्भ, सम्पूर्ण परिवारको आत्मा । ऊ बुबाको रूपमा छायाँजस्तो हुन्छ, छोराको रूपमा दायित्वको भारी बोकेको हुन्छ । तर न ऊ केवल बुबा बन्न पाउँछ, न केवल छोरो — किनभने ऊ सधैँ दूई पुस्ताबीच पुल भएर उभिन बाध्य हुन्छ । एकतर्फ आमाको आँखाको आशा, अर्कोतर्फ श्रीमतीको मनको अपेक्षा । तर त्यो पुरुषको आफ्नै मन ? उसका आफ्नै चोटहरू ? उनीहरूलाई बुझ्ने कोही हुँदैन । जब आमा र श्रीमतीबीच भनाभन हुन्छ, त्यो भनाभन केवल शब्दको द्वन्द्व होइन — त्यो त उसको आत्मा चिरिने युद्ध हो । आमाको पक्ष लियो भने, श्रीमती भन्छे — ’तपाईं कहिल्यै मेरो साथ दिन सक्नुहुन्न । ’ श्रीमतीको पक्ष लियो भने, आमा भन्छिन् — ’छोरो त बिहे भएपछि पराइ भइस् ! ’ अनि त्यो पुरुष ? उ लाज, पीडा, र विवशता बोकेर मौन हुन्छ । कसैको आँखामा आँसु नहोस् भनेर, आफ्नै आँखाभरि आँसु लुकाएर हाँस्छ । ऊ न त पुरै आमाको हुन्छ, न पुरै श्रीमतीको । ऊ केवल परिस्थितिको बिचमा अड्किएको एउटा ’मध्यवर्ती ’ पात्र बन्छ — जो दिनरात आफन्तहरूबीच सन्तुलन मिलाउने प्रयास गर्छ । तर त्यो प्रयास कहिल्यै सराहना पाइँदैन, त्यसको माया कहिल्यै देखिँदैन, र त्यसको पीडा कहिल्यै सुनिँदैन । मानिसहरू भन्छन् — पुरुष त बलियो हुन्छ । तर त्यो बलियो भनिएको पुरुष, प्रत्येक रात चुपचाप रुन्छ । सुत्ने बेलामा सिरानीमा मुख गाडेर, ’म के गरुँ?’ भन्ने प्रश्नहरूसँग युद्ध गर्छ । ऊ चाहन्छ — उसको आमा पनि खुशी होउन्, उसको श्रीमती पनि सम्मानित होउन । तर उसलाई थाहा छ — यो युद्ध जित्ने होइन, सिर्फ सहनुपर्ने हो । पुरुष रोइदिन्छ भने समाज भन्छ — ’कमजोर’ तर पुरुष मौन रहन्छ भने समाज भन्छ — ’पत्थरदिल’ ! अनि यसरी नै, एउटा पुरुष दिन प्रतिदिन भित्रभित्रै टुक्रिँदै जान्छ, अनि कुनै दिन ’पूर्ण रूपमा मौन हुन्छ — जहाँ उसलाई न कसैले सम्झन्छ, न कसैले सोध्छ — ’तिमी ठीक छौ ?’ साँच्चै भन्नुपर्दा — पुरुषको पीडा, न आमाले बुझ्छिन्, न श्रीमतीले । न समाजले स्वीकार्छ, न उसले आफैँ खुल्न पाउँछ । त्यसैले कहिल्यै कसैलाई हेरेर नबुझिने यो पुरुषको मौनता — शब्दहरूमा नभए पनि, समझदारी र माया मार्फत महसुस गरिदिनुहोस् । किनभने ऊ हरेक दिन आफूलाई भुलेर तपाईंलाई सम्झिरहेको हुन्छ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्