हिजो कुनै चिज जस्तो थियो त्यो आज त्यस्तो छैन । न ताल त्यस्तो थियो न ऐना न छायाँ न वर्षा न बोट विरुवाहरू न चुम्बन न स्पर्श न उदाशी न पर्खाइ न पश्चातापको आँसु न आत्मालोचनाको शब्द । टेगोर पनि त्यस्ता थिएनन् न जीवनानन्द दास थिए न मुक्तिबोध न उनको समयको अँधेरो त्यस्तो थियो न हुसेनको घोडा न किशोरी अमोनकरद्वारा गरिएको राग बिलावलको गायनमा शास्त्रीय तथा रोमान्टिक अन्तध्र्वनीहरूको त्यो बुनावट त्यस्तो थियो । अनि बुर्जुआ जनवाद त एकदम थिएन पहिले जस्तो त्यसै गरी फासीवाद पनि १९२० र १९३० को दशकको जस्तो थिएन । पहिलेको जस्तै लाग्ने गरेका कुराहरू पहिले जस्ता ठ्याक्कै कहिलै हुदैनन् । यो कुरा प्रेम र कविताको वारेमा त्यस्तै विद्रोहको वारेमा सोच्ने तरिकामा पनि लागू हुन्छ । हरेक पुराना कुराहरूसँग नयाँ चिनजान गर्नु पर्ने हुन्छ ।। हरेक नाता सम्बन्हरूलाई पटक पटक परिभाषित गर्नु पर्छ । मानिसहरूको वारेमा बुझ्नु सामाजिक सम्बन्धको समुच्चयमा आएको हेरफेरलाई बुझ्नु हो । चिजहरूलाई बुझ्नु भनेको तिनीहरूमा आएको परिवर्तनलाई बुझ्नु हो र त्यसै गरी त्यो चिज जुन पर्यावरणमा रहेको छ या हाम्रा अगाडि फेरि देखा परेको छ त्यो कुरालाई पनि बुझ्नु हो । यसरी हामी जीवन–द्रव्यको नयाँ खानीको खोजी गर्छौ अनि आशाको दीयोलाई लगातार जलाइराख्न नयाँ नयाँ इन्धनहरूको आविष्कार गर्ने गर्दछौं । कहिलै पनि कुनै थालनी पहिले त्यो जहाँबाट भएको थियो त्यहीबाट हुदैन । अनुवादः बलराम तिमल्सिना
