केही मानिसहरू सोच्छन– राजा आउने भनेको नागार्जुनबाट मुर्गा प्रसाइँको हात समातेर लुखुर लुखुर नारायण हिटी आएर एउटा मानिस विशेष कुर्सीमा बस्ने हो उसले एउटा विशेष टोपी लगाउने हो बस यत्ति त हुने हो ! किन यत्रो आतङ्क किन यत्रो वाधा–विरोध र किन यत्रो रोनाधोना ? केही मानिसहरू राजा आउने भनेको फगत यत्ति मात्रै बुझ्छन् । मानिसहरूलाई थाहा छैन राजा आउनु भनेको एक थान मानिस मात्र आउनु होइन कोही गएपछि मात्रै राजा आउन मिल्छ केही गएपछि मात्रै राजा हुने शासन आउन मिल्छ अहिले भएको सबै यथावत रहने अनि राजा आएर टुसुक्क एक छेउमा बस्ने हा हा त्यस्तो केटाकेटी कुरा हुनै सक्दैन । राजा आउने भनेको तीन करोड ताल्चा लिएर आउने हो र पहिले तीन करोड ताल्चा महाराजकी जय भन्ने बेलामा मात्र खुल्ने गरी हाम्रा मुखमा लगाइ दिने भनेको हो । राजा आउने भनेको तीन करोड हतकडी लिएर आउने पनि भनेको हो र ती हतकडी पहिला हाम्रा हातमा लगाइदिने अनि मात्र नारायणहिटी छिर्ने भनेको हो । राजा आउने भनेको झोक चल्नासाथ टेलीफोनका लाइन काटिदिने इन्टर्नेट उडाइदिने टेलिभिजनलाई भिजनलेस बनाइदिने समाचारपत्रहरूबाट समाचार मेटाइदिने हाम्रा आँखाहरूमा पट्टी बाँधी दिने र राता दिन छुट्ट्याउन नसक्ने बनाइदिने भनेको हो । राजा आउने भनेको आइस्योस खाइस्योस मात्र आउने कहाँ हो र पञ्चायती भूत प्रेत मात्रै आउने कहाँ हो र हिन्दू राष्ट्र पनि बोकेर आउने हो एक भाषा एक भेष पनि बोकेर आउने हो पुराना सिडियोहरू र अञ्चलाधीश पनि बोकेर ल्याउने हो एक्काइसौं सताव्दिको स्वतन्त्रता अपुग भएका हामीलाई सोह्रौं सताव्दिमा चौखुर्याएर राख्ने पनि हो । राजा आउने भनेको न भोक घट्ने हो न बेरोजगारी घट्ने हो न जातपातको घात घट्ने हो न पहाड मधेशको दुःख घट्ने हो न जनजातिका घाऊ घट्ने हुन न महिलाहरूका महाकष्ट घट्ने हुन न विदेश पलायनको पीडा घट्ने हो बरु ती थप दोब्बर तेब्बर बन्ने पो हुन । आज बरु मन नपरेको शासकलाई फलानो चोर देश छोड भन्न सम्म पाइएको छ कठै गरी आयो भने राजा मूर्ती चोरलाई महाराज भन्नु पर्छ लागु औषधीले गलेको स्त्रीलम्पट सुड्डोलाई युवराज धिराज भन्नु पर्छ उनीहरूलाई देश छोड भन्न त परै जावस मनमनै सोच्दा पनि दश पटक घाँटी छाम्नु पर्छ सपनामा उनीहरूको बिरोध गरेको देखिएछ भने पनि भोलिपल्ट डरले दिनभर दौलो ठोकेर घरमै लुक्नु पर्ने हुन सक्छ । राजा आउने भनेको एउटा दाइमारा हत्यारा लुखुर लुखुर आउने अनि हामीतिर हेरेर “ठिक छ ठिक छ“ भन्ने मात्र होइन नि राजा आउने भनेको त हाम्रा बचेखुचेका खुसीहरू पनि अपहरित हुने र हामीहरू रैती जुनीको रौरवमा पर्ने भनेको हो ।
