तिम्रो लागि बालेको प्रेमदीप अँध्यारोले निलिदियो । त्यो निशामा तिम्रो स्पर्श खोजेँ, अनायास गन्धविहीन बतासले लर्छायो मेरो कपोल । चसक्क भयो दिल, नेत्रले खोलिदियो जलाशय । नुनिलो तरलले भिजायो ओठ, पहिरो झरिरह्यो स्मृतिको पुष्प उद्यानमा । तिमीले बिछ्याएको सपनाको गलैँचा— नाङ्गो छ ऊन बिनाको, केवल धागोको तान मात्रै मासुबिनाको कंकालजस्तै। त्यही अस्तिपञ्जरमा खोज्दै छु तिम्रो आभास, तिम्रो विश्वास— मरुस्थलमा कुवा खोजेजस्तै । तिम्रो तिरस्कारको खडेरीले सुकाएको मेरो मन उजाड बगर बनेको छ । हृदयभित्र सजिएका सम्झनाका क्यानभासका बिम्बहरू मेटिँदै छन् , दिशाहीन विस्मृतिका झोकाले । तिमीले हाँसेका हाँसोहरू सुसाउँदै छन् हावामा मिसिएर । म उभिएको छु पातबिनाको एक्लो वृक्षजस्तै, विगतलाई पत्कर पारेर । तिम्रो अनुहार देखिने जून बादलले ढाकेझैँ लाग्छ हिजोआज । प्रेम थियो कि भ्रम— ज्ञात भएन । सोच्दैछ यो मस्तिष्क के ती प्रेमगीत बालुवाका अक्षर थिए त ? अचेल कुनै अर्थ खोज्दैनन्, आँसुका धाराले बाटो माग्दैनन्, थकित पैतालाले हाल्दैन सुस्केरा स्वरयन्त्रले । बाँकी छु म— अनुत्तरित प्रश्नझैँ, अधुरो कविता झैँ, निराकार छायाँ झैँ, बिर्सिन नसक्ने विगतको यादझैँ ।
