IMG-LOGO

मरुभूमिको कुवा

 मंगल, चैत ११, २०८१  – शम्भु गजुरेल

तिम्रो लागि बालेको प्रेमदीप अँध्यारोले निलिदियो । त्यो निशामा तिम्रो स्पर्श खोजेँ, अनायास गन्धविहीन बतासले लर्छायो मेरो कपोल । चसक्क भयो दिल, नेत्रले खोलिदियो जलाशय । नुनिलो तरलले भिजायो ओठ, पहिरो झरिरह्यो स्मृतिको पुष्प उद्यानमा ।   तिमीले बिछ्याएको सपनाको गलैँचा— नाङ्गो छ ऊन बिनाको, केवल धागोको तान मात्रै मासुबिनाको कंकालजस्तै।   त्यही अस्तिपञ्जरमा खोज्दै छु तिम्रो आभास, तिम्रो विश्वास— मरुस्थलमा कुवा खोजेजस्तै ।   तिम्रो तिरस्कारको खडेरीले सुकाएको मेरो मन उजाड बगर बनेको छ । हृदयभित्र सजिएका सम्झनाका क्यानभासका बिम्बहरू मेटिँदै छन् , दिशाहीन विस्मृतिका झोकाले ।   तिमीले हाँसेका हाँसोहरू सुसाउँदै छन् हावामा मिसिएर । म उभिएको छु पातबिनाको एक्लो वृक्षजस्तै, विगतलाई पत्कर पारेर ।   तिम्रो अनुहार देखिने जून बादलले ढाकेझैँ लाग्छ हिजोआज । प्रेम थियो कि भ्रम— ज्ञात भएन । सोच्दैछ यो मस्तिष्क के ती प्रेमगीत बालुवाका अक्षर थिए त ?   अचेल कुनै अर्थ खोज्दैनन्, आँसुका धाराले बाटो माग्दैनन्, थकित पैतालाले हाल्दैन सुस्केरा स्वरयन्त्रले ।   बाँकी छु म— अनुत्तरित प्रश्नझैँ, अधुरो कविता झैँ, निराकार छायाँ झैँ, बिर्सिन नसक्ने विगतको यादझैँ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्